दुई वर्षमा १५ हजारले आत्महत्या गरे

काठमाडौं । नेपालमा आत्महत्याको अवस्था डरलाग्दो हुँदै गएको छ । झुन्डिएर, विष सेवन गरेर, हाम फालेर तथा आफ्नो शरीरमा आगो लगाएर गत वर्षको साउन यता ५ हजार ७ सय ९ जनाले ज्यान गुमाएका छन् ।

 

त्यसमा आफ्नो शरीर दाह गरेर २२ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको तथ्यांक अनुसार एक वर्षमा देशभर गरी २२ जनाले आफ्नो शरीरमा आगो लगाएका छन् र देह विसर्जन गरेका छन् ।

 

त्यसैगरी अघिल्लो वर्ष ०७२–०७३ मा ९ हजार ४ सय ९१ जनाले आत्महत्या गरी ज्यान गुमाएका थिए । त्यसमा आफ्नो शरीरमा आगो लगाएर मात्र ३० जनाले आत्महत्या गरेका थिए । १७ महिला र १३ जना पुरुषले आफ्नो शरीरमा आफैँ आगो ठोसेको विभागको तथ्यांक छ ।

 

प्रत्येक वर्षको तथ्यांक हेर्दा आफ्नो शरीरमा आगो सल्काएर आत्महत्या गर्नेमा पुरुषभन्दा महिला धेरै छन् । गएको साउनयता १९ जना महिलाले आफ्नो शरीरमा आगो सल्काएर आत्महत्या गरे भने ३ जना पुरुषले आत्महत्या गरे । त्यसमा पनि पहाड भन्दा तराईका जिल्लाहरूमा यो समस्या विकराल देखिएको छ ।

 

प्रहरीको तथ्यांकअनुसार ०७३ जेठ ५ गते राति महोत्तरीको बनौटा–४ की २३ की ज्योती झाले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरिन् । घरायसी विवादमा झाले आफ्नै शरीरमा मट्टितेल खन्याएको र आगो लगाएको प्रहरी रेकर्डमा उल्लेख छ ।

 

ज्योतीका श्रीमान राजिव झा वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए । सासूसँग भएको झैझगडाको कारण ज्योतीले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैगरी ०७३ जेठ ७ रुपन्देहीको तम्हरिया ७ की २२ वर्षीया गिता लोधले शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्महत्या गरिन् । घरका परिवार सुतेका बेला राति सुत्ने कोठामा आगो लगाएर उनले जिन्दगीको दौडधूप टुंग्याएकी हुन् ।

 

०७३ असार २८ गते सर्लाही लालबन्दीकी २६ वर्षीया बबिता बिकले काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरिन् । मदिरा सेवन गरेर राति घरमा आएर श्रीमानले सधैँ अन्य पुरुषसँग लागेको आरोप लगाउने गरेका कारण विकले मट्टितेल खन्याएर शरीरमा आगो लगाएको प्रहरी बताउँछ ।

 

त्यसैगरी ०७४ वैशाख २८ गते बर्दियाको गुलरिया नगरपालिका ११ स्थित रत्नापुर गाउँमा आगो लगाएर २२ वर्षीया पुनम मल्लाहले आत्महत्या गरिन् । घरयासी विवादकै कारण उनले आत्महत्यासँगै घर पनि जलाएर नष्ट पारिन् । घरका परिवारले सधैं दुःख दिने गरेका कारण मल्लाहले आत्महत्या गरेको हुन सक्ने छिमेकीले प्रहरीलाई बयान दिएका थिए ।

 

त्यस्तै ०७४ जेष्ठ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाएर ३५ वर्षीया रामादेवी यादवले आत्महत्या गरिन् । श्रीमानसँग विवाद हुँदा रामादेवीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन् । लामो समयदेखि पति–पत्नीबीच झगडा हुने गरेको छिमेकीले प्रहरीमा बयान दिएका थिए ।

 

“सामान्य अवस्थामा महिलाले आफ्नो शरीरमा आगो लगाउने स्थिति पैदा हुँदैन,” प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख डीआईजी विजय कुमार भट्ट भन्छन्, “परिवारबाट तिरस्कृत भएर विक्षिप्त भएकी महिलाले यस्तो गर्ने गरेको देखियो, यो समस्या यसरी नै बढ्दै जाने हो भने भयानक अवस्था निम्तन सक्छ ।”

 

भट्टले थपे, “यो समस्या पहाड भन्दा तराईमा छ । विवाह गर्दा दाइजोदेखि पारिवारिक कलकका कारण यस्ता घटना हुने गरेको अनुन्सन्धानबाट खुल्ने गरेको छ । महिला हिंसा कम गर्न भनेर देशमा अनगिन्ती संस्थाहरु खुलेका छन्, उनीहरूले यसमा ध्यान पुर्याउन जरुरी छ ।”

 

डीआईजी भट्टका अनुसार यस्तो समस्या २२ देखि ३० वर्षका विवाहिता महिलामा धेरै छ । “श्रीमानका कारण, घरमा सासूका कारण शरीरमा आगो लगाउने, आत्महत्या गर्ने गरेको अनुसन्धानबाट देखियो । सहनै नसक्ने कुराको आरोप लगाएपछि महिलाले आवेशमा आएर आफ्नो शरीरमा आगो लगाउने गरेको अनुसन्धानबाट खुलेको छ,” भट्टले भने ।