भ्रष्टाचारी ठहर भए पछि शरीफ पदबाट बर्खास्त

इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले पनामा पेपर काण्डमा प्रधानमन्त्री नवाज शरीफलाई दोषी ठहर गर्दै उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएको ठहर गरेको छ ।

 

आज मध्यान्ह भएको सुनुवाईमा सर्वोच्च अदालतका न्यायाधिश ऐजाज अफजल खानले पनामा पेपरसम्बन्धी मुद्दामा फैसला सुनाउँदै शरीफलाई दोषी ठहर गरेका हुन । अदालतले प्रधानमन्त्री संसद र अदालतप्रति इमान्दार नभएको भन्दै उनी पदमा बस्न नसक्ने समेत आदेशमा उल्लेख गरेको छ ।

 

पाकिस्तानी समाचारपत्र डनका अनुसार, शुक्रबारदेखि नै अदालतको फैसलाको प्रतिक्षामा पाकिस्तानी जनता ब्यग्र भएका बसेका थिए । इस्लामावादमा रहेको सर्वोच्च अदालतको कोठा नंं १ मा आज बिहान ११ बजेर ४५ मिनेटमा सुनुवाई सुरु भएको थियो ।

 

सन् १९९० को दशकमा धनशोधनका माध्यमबाट लण्डनमा सम्पत्ति किनेको विषयमा पनामा पेपरमा शरीफको नाम जोडिएको थियो । शरीफ दुईपटक प्रधानमन्त्री भएको बेला यी सम्पत्ति जोडिएको खुलासा गर्न वर्ष पनामा पेपर लिक भएपछि थाहा भएको थियो ।

 

यी सम्पत्तिका पछाडि विदेशमा स्थापित कम्पनीहरुको धन लागेको छ । तर यी कम्पनीको स्वामित्व शरीफका छोराछोरीसँग रहेको छ । यसमा लण्डनका चारवटा महंगा घर समेत रहेका छन् ।

 

सर्वोच्च अदालतले पनामा पेपर्समा अवैध सम्पत्तिसम्बन्धि आरोपको जाँचका लागि गत मे महिनामा संयुक्त जाँच दलको गठन गरेको थियो । उक्त कमिटिले गत जुलाई १० का दिन आफ्नो प्रतिवेदन अदालतमा बुझाएको थियो ।

 

ऐतिहासिक फैसलाका लागि आसिफ सईद खोसाको अध्यक्षतामा ५ जना न्यायाधिशहरुको बेञ्च गठन गरिएको थियो ।