कर्मचारी समायोजनलाई उच्च प्राथमिकता दिइनेछ ः मन्त्री बस्नेत

सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत

काठमाडौं । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । नेपालको संघीय संरचना अनुसार तीनै तहमा कर्मचारी समायोजन गर्नु तत्कालीन आवश्यकता भएको भन्दै मन्त्री बस्नेतले कर्मचारी समायोजनको काम छिटो भन्दा छिटो सम्पन्न गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले अझै पनि सिंहदरबारमा काम नगरी चौरमा बसेर थर्काएर तलबभत्ता खाने कर्मचारीहरु रहेको भन्दै त्यस्ता कर्मचारीलाई पत्तालगाई तह लगाउने बताउँनु भएको थियो । उहाँले अगाडी भन्नुभयो, ‘सिंहदरबारमै बसी काम नगरी थर्काएर तलबभत्ता खानेहरुको समेत उचित व्यवस्थापन हुन्छ ।’ आफूले मन्त्री पदलाई अवसर र अग्नि परीक्षाका रुपमा लिएको भन्दै मन्त्री बस्नेतले समग्र देशबासीको शीर उच्च पार्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । सल्यानी युवा सञ्जालले आयोजना गरेको उक्त बधाई तथा सम्मान कार्यक्रममा मन्त्री बस्नेतले विज्ञहरुसँग मिलेर काम गर्ने बताउनुभयो । सल्यानका धार्मिक,साँस्कृतिक,तथा पर्यटन प्रर्बदनमा आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउँनुभएको थियो ।

 

सोही कार्यक्रममा सल्यान क्षेत्र नं. २ का निर्वाचित सांसद तथा अर्थ समितिका सभापति प्रकाश ज्वालाले एउटै जिल्लाबासी भएको नाताले मन्त्री बस्नेतलाई अब हिरो भएर मात्रै मन्त्रालयबाट बाहिर निस्कन विशेष सुझाव दिनुभएको थियो । उहाँले भन्नुभयो ‘एउटै जिल्ला र सहकर्मी साथीका नाताले म उहाँलाई सहयोग गर्छु’ उहाँले भन्नुभयो, ‘सामान्य प्रशासन मन्त्रालय सम्हालेका लालबाबु पण्डित र रेखा शर्मा राम्रो काम गरी चर्चित भएर निस्किए, तपाई पनि पृथक काम गरी त्यसरी नै हिरो भएर निस्कनु पर्छ ।’ उक्त कार्यक्रममा राजधानीमा उपलब्ध सल्यानबासीहरुले पूर्व प्रधानमन्त्री स्वं. मरिचमानसिंह श्रेष्ठ पछि झण्डै २८ वर्षमा सल्यानले पहिलो पटक मन्त्री पाएको भन्दै मन्त्री बस्नेतलाई देश र सम्पूर्ण सल्यानीहरुको शीर उच्च हुने गरी काम गर्न सुझाव दिनुभएको थियो ।

सोही अबसरमा स्थानिय तहको दोस्रो चरणको निर्वाचनका समयमा दाङको एक मतदानस्थलमा अज्ञात समुहले फालेको बमलाई हातले सुरक्षीत स्थलमा फ्याँक्न सफल नेपाल प्रहरीमा कार्यरत सल्यान निवासी असई डिबी राणालाई समेत सम्मान गरिएको थियो । साथै सोही अबसरमा सुजन कंवर (योगी) बचाउँ अभियानका लागि संकलित सहयोग रकम उनका मामा खुमराज घर्तीलाई चेक तथा नगद हस्तान्तरण गरिएको थियो ।