वाह परदेश ! कठै म परदेशी !!

                     युवराज थापा

वाह प्रदेश ! कठै म प्रदेशी !!
वाह परदेश !
न रात न दिन, झलमल्ल बत्ती
एसीको चिसो हावा, मोज त कती हो कती
वाह प्रदेश ! कठै म प्रदेशी !!

 

न भोक न प्यास !
तातो हावा पसिना खलखली
अनगिन्ती सपना,
घर–परिवार आँखामा झलझली
आज एक छिन बसौं भन्यो,
भोली पनी बाँच्नु छ
मन रुन्छ, घाँटी सुक्छ
तर पनि जिवन साँच्नु छ
यहाँका निर्दयी दुई खुट्टे प्राणीहरुको सोसण, दमन
भोली आउँछ आउँदैन सिरमा बाँधिएको छ कफन
जति जे गरे पनि सोचेका सबै सपना जस्तै हुन्छन्
आखिर भोगाईहरु जति त आँखा सँगसँगै रुन्छन्

 

वाह प्रदेश ! कठै म प्रदेशी !!
यति कमाउँ उति कमाउँ, भन्दाभन्दै बर्षौ बित्छ
ज्यान भरिको तौल दुईचार सिक्काले जित्छ
कुरा गर्यो कुरैको दुख भनेझैँ छ प्रदेशी यात्रा
केवल दुखमा घरको याद, सुखमा जात्रैजात्रा
देख्ने लाई मोज मस्ती अनेक गफगाफ हुन्छ
भोग्नेहरु को यहाँ हरपल,हरक्षण मन रुन्छ
वाह प्रदेश ! कठै म प्रदेशी !!

 

फेरी घुमेर आउने त घडीको सुई मात्र रहेछ, जिवन त जाने मात्र कठैबरा ! साँच्चै गरिब देशका गरिब नागरिक हामी जब मिठो लाउँला मिठो खाउँला भनेर परदेश को भूमिमा अवतरण हुन्छौं तब देखि नै जति ठुलो दुखकष्ट परे पनि दुईचार हजार पैसा कमाउने आशाले मनभरि हजारौं सपनाहरु सजाउँछौं, खासमा दुःख परेर परदेश पस्छौं तर स्वदेशको भन्दा पनि दुई गुणा दुख भोग्नेहरु पनि छन् । महिनामा ३० दिन रगत पसिना बगाएर एक दिनको खुशि पर्खेर बस्छौ अथवा भनौं कुनै पनि दुख पिडा लाई मनमा नराखी केवल पारिश्रमिक कुरेर बसेका हुन्छौं र त्यो दिन पनि आउँछ, धेरथोर भए पनि गोजी भरिन्छ र महिना भरिको दुख भुलिदिन्छौ तर अर्को दिन पैसा घरमा पठाउनु पर्ने हुन्छ र फेरि तेस्रो दिनबाट अर्को तलब पाउने दिन कुर्न सुरु हुन्छ । यसरी नै बर्षौ बित्छ । अँझै त्यसैमा कति ठाँउमा त मालिकले काम गरे बापतको पैसा नदिदा मुटु भक्कानिएर आउँछ, साहूलाई काटेर चल्दिउँकी जस्तो पनि लाग्छ तर के गर्नु आफ्नो देशमा सानो गल्तिलाई माफ गर्न नसक्ने हामी परदेशमा हदैसम्मको गल्ती गरेको देख्दा पनि सहेरै बस्न बाध्य हुन्छौं । आखिर यस्तो पिडा कस्ले बुझ्ने ?

 

भोग्नेलाई मात्र थाहा होला कि रगत बग्ने चोट भन्दा बढि दुख महसूस हुन्छ । सायद दुख नै पैसा का लागी गर्छौ, घर–परिवार सबथोक भुलेर हाम्रो ध्यान पुरै रुपमा कर्ममा दिन्छौ तर अन्तिममा पैसा नै नपाउँदाको पिडा स्वयंम व्यक्तिलाई थाहा हुन्छ । यस्तै भिन्न–भिन्न समस्याका बावजूद पनि १० बर्ष बिताउन बाध्य कठै हामी सार्वभौमिक देशका गरिब जनता ! भनिन्छ सोच्नु र लेख्नुको सीमा हुँदैन । त्यस्तै हामी परदेशीको दुखको पनि सीमा नै छैन । त्यसैले म कसरी लेखेर सकुला र परदेशी को कथा व्यथा ! जुन पिडा लाखौंलाख परदेशीको मनले हजारौं गुणा भोगेको हुन्छ ।

 

 

अचम्मैको दुख मात्र कहाँ हुन्छ र यहाँ ! कतिपय ले दुख गर्दा गर्दै अमूल्य ज्यान गुमाएका हुन्छन । धन कमाउने आशै आशमा बर्षौ बित्छ र अन्तिममा घर फर्कने समय आउँदै हुन्छ त्यस्तो समयमा पनि आश र साससँगै मेटेर संसार छोड्नु पर्ने ठाँउ हो परदेश । जतिसुकै नयाँ प्रविधि र सेवा सुविधाले सम्पन्न किन नहोस परदेश, हामी प्रदेशी कामदारका लागि अँधेरोमा ओरालो झरे जस्तै हो । लडेर पनि तलै झर्ने, हिडेर पनी तलै झर्ने । देखाई र भोगाईको जिवन कति फरक छ त्यो त हामी प्रदेशी लाई मात्र थाहा होला ।

 

(प्रसंगवश)
यता देशको खस्किदो अवस्था पनी हामी गरीब प्रदेशीको भन्दा कम्ता कहाँ छ र । समस्या नै समस्याको हाम्रो देश र हामी जनता । परदेश नेपालको तुलनात्मक अध्ययनले के भन्छ भने यहाँका मान्छेहरु विज्ञ छन् र हरेक प्रकारले सुविधा सम्पन्न छन। त्यसैले पनी अधिकांश मान्छे सजिलो र छरितो पैसा कमाउन सकिने भएकोले नेपालमै केही गरेर बस्न सक्ने भए पनि प्रदेश नै रोज्छन् । त्यति मात्र कहाँ हो र । भएको सरकारी जाघिर समेत छोडेर प्रदेश भासिन्छन् । यो विडंबना को कारण सायद नेपालको महंगो जाघिर, महंगो सुविधा तर सस्तो आम्दानी नै होला जस्तो लाग्छ । त्यसैले पनी नेपालमा रोजगारी छैन त्यसैले प्रदेशी हुन्छौ भन्न छोडौ होला अब त पैसा छैन भन्नुस सुहाउँछ। कहिले काँही त यस्तो सोच्न पुग्छु की यदी अमेरीका यूरोप नजिकै भैदिएको भए कसम नेपाल मा कर्मचारी नै हराउँथे होला । नेपालका सरकारी कर्मचारीको तलव मासिक १२ देखी बढीमा २५ हजार होला । यो परदेशमा सामान्य व्यक्तिले कमाउने तलव भन्दा कम हुन आउँछ । अब भन्नुस् कसरी नेपालमा काम गरेर बसुन । रोजगारी पाएका व्यक्तिहरु त विदेशीन्छन् भने हामी गरीब जो सँग रोजगारी नै छैन त्यस्ता मान्छे ले कसरी देश बनाउने सपना देख्ने र कसरी देशमा केही गर्ने सोच राख्नेरु नेताहरु ले देश फर्क देश बनाउने युवाहरुले नै हो भनेर भाषण गरे जस्तो सजिलो छ र । देशमा फर्कने ईच्छा कुन परदेशी को नहोला र विदेशमा दुख छ थाहा हुँदा हुँदै को मुर्ख प्रदेश पस्ला । यदि नेताहरुले बोल्ने हो भने पहिला नेपालमा रोजगारी को अवस्था सृजना गरुन अनि मात्र लाखौँ युवाहरु स्वदेश फर्कने छन् । नत्र भने ॠणकारी कारी बल्ल तल्ल जसो तसो परिवार पालीरहेका गरीब लाई नेपाल फर्काउने सपना नदेख फेरी अर्को ॠण थपिने डर हामी प्रदेशी लाई छ ।

 

र फेरी पनि साँच्चै यदी नेपाली नेताहरु ले बोल्ने भाषणलाई व्यवहारमा उतार्न चाहन्छन् भने रोजगारी सँगै उचित तलव र सेवा सुविधा दिलाईयोस् । काम अनुसारको मुल्यांकन होस्, माथिल्लो स्तरको कर्मचारीले बसि बसि पैसा बटुलोस तर तल्लो स्तर को कामदारले रगत पसिना बगाएर पनी बाल बच्चा अर्थात परिवार पाल्न मुस्किल नहोस् । जस्तो सुकै होस् तर परिवारसँग बसेर खान लाउन पाईयोस् ।

 

गर्छौं भनेर अगुवाई गर्नेहरु तिमी नेताहरु नै त हौ । गरे के पो नहुने छ र, हिजो नेपाल टुक्की को सहारामा उज्यालो हुन्थ्यो अहिले केही प्रतिशत भए पनी विधुतिय उज्यालो त छ । हजारौं बर्षसम्म प्रयोग मात्र गरिरहे पनी पुग्ने स्रोतसाधन प्रशस्त छ। खासमा नेपाल का नेता भनाउदाहरु ले बाटो औँल्याईदिए मात्र पुग्छ, वातावरण श्रृजना गर्दिनु पर्यो ।

 

आज भोली भन्दै ८ र १० बर्ष बस्ने बाध्यताबाट छुट्कारा मिल्थ्यो की । परदेशी हुन रहर होईन कहरको भुमरी हो । यो भुमरीबाट छुट्कारा पाउने बाटो र अवस्था श्रृजना होस।
र फेरी पनी मेरो प्रश्न । हामी गरीबका अनगिन्ती सोच र सपनाहरु प्रदेश मै निर्भर कहिले सम्म ?