नेता ज्यू, यसरी रोक्नुहोस् युवा पलायन

प्रकाश कुमार सिहँ, जाजरकोट, हाल ः मलेसिया

नेपाल प्राकृतिक श्रोतका हिसाबले संसारकै उत्कृष्ट देशहरूको सूचिमा रहेको कुरा विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । र हो पनि नेपाल आफैंमा प्राकृतिक सम्पदाहरुले भरिपूर्ण छ । श्रोत र सम्पदाका हिसाबले हाम्रो देश बिश्वका कुनै पनि देशहरूसँग तुलना गर्न सकिदैन र हुँदैन पनि । किनकि हामी बिश्वको छाना हौं, अझै भनौं शिर हौं अर्थात टाउकोको तुलना खुट्टासँग हुँदैन । गर्न पनि सकिदैन ।
अझ भनौ, बिश्वमा शान्तिको सन्देश दिन सक्ने, वीर गोर्खालीहरुको इतिहास बोकेको, स्वतन्त्रता र सार्बभौमसत्ता सम्पन्न देशका नागरिक हौं । हाम्रा दुई ठूला छिमेकी देशहरु, एकातिर चिन र अर्कातिर भारत छन् । यसबाट हामीले विशेषगरी पर्यटन र पूर्वाधार बिकासमा फाइदा लिन सक्नुपर्छ ।
नेपाल आफैंमा पर्यटनको भरपुर सम्भावना बोकेको देश हो ।
हामीले यातायातको क्षेत्रमा बिकास गरेर साँच्चिकै पर्यटनको बिकास र प्रचारप्रसार गरेर राष्ट्रिय अभियानकै रुपमा लाने हो भने दुनियाँ भरिका मानिसहरु नेपाल घुम्न आतुर छन् । किनकि अहिले मानिसहरू राम्रो खाने, राम्रो ठाउँमा घुमफिर गरेर बिलासि जिबन बिताउन चाहन्छ र त्यसका लागि लागि नेपाल सबैभन्दा राम्रो छ । यहाँको हावापानी उपर्युक्त छ । सहयोगी भावना भएका मानिसहरु छन् । इमानदार छन् भन्नेमा एक खालको बिश्वास विश्वभर छ । प्राय मानिसहरूको दिल दिमागमा परेको छ । जसको सबैभन्दा बढि फाइदा हामीले पर्यटनको क्षेत्रमा बिकास गरेर लिन सक्छौ । जसको जिम्मेवारी राज्यले पूरा गर्नुपर्छ ।

 

दोस्रो कुरा हामीले जलस्रोतको क्षेत्रमा अर्थात् उर्जाको बढि भन्दा बढि उत्पादन गरेर नेपालाई बिकासको नयाँ गतिमा लैजान सक्छौं । आज नेपाली युवाहरु बिश्वका विभिन्न कम्पनी र कारखाना काम गरिएका छन्र ती कम्पनीहरु यदि राज्यले उर्जामा बिकास गरेर उनिहरुलाइ चाहिने विद्युत लगायतका सम्पूर्ण सुबिधाजन्य बस्तुहरुको पुर्ति गर्ने क्षमता बनाउने हो भने ठुल्ठुला कम्पनी र कारखानाहरु नेपालमा नै खुल्न सम्भब छन् र खुल्छन् पनि । किनकि आज नेपालबाट कामदार लगेर मलेसियामा साउदी, दुबै, कतार लगायतका विभिन्न काममा लगाउने जापानी अमेरिकी, कोरियन कम्पनीहरु नेपालमा आउन सक्छन् । त्यसका लागि राज्यले बिद्युत उत्पादनमा जोड दिनु पर्छ । त्यसको भरपुर सदुपयोग गर्नुपर्छ । जसले गर्दा रोजगारिमा नयाँ आयाम पैदा हुन्छ ।

 

यी माथिका कुरा पूरा गर्न यातायात सबैभन्दा महत्वपूर्ण हो ।
यातायातको क्षेत्रमा बिकास नगरी हामीले रोजगारि सृजना गर्न सक्दैनौं । यसका लागि यातायातको पहुँच राज्यको सबै क्षेत्र र ठाउँमा हुन आवश्यक छ । जसको ब्यवस्थापन र बिकास राज्यले गर्न सक्नुपर्छ ।

 

अर्को महत्त्वपूर्ण कुरा हाम्रो देश बहुमूल्य अौषधि जन्य जडिबुटीको ठूलो श्रोत हो । हामीसँग भएका बिभिन्न जडिबुटीहरु हामीले प्रशोधन नगरी नेपालमा नै खपत नगरी घुयाँको मुल्यमा बिक्री गर्छौं तर हामी आफै हिराको मुल्यमा खरिद गर्छौं । यसको व्यवस्थापन राज्यले सहि तरिकाले गर्न सक्नुपर्छ तर हामी कहाँ भाषण मात्र हुन्छ । अझै भनौ हामीसँग भएका महत्वपूर्ण चिजहरु दलाल र तस्करहरु मिलेर कसरी रुपैडिया र तातोपानी कटाउने भन्नेमा मात्र छलफल हुन्छ । देशभित्र केही गरौं भन्ने भावना जबसम्म हुँदैन तबसम्म न हाम्रा महत्वपूर्ण चिजहरु रहन्छन् न राष्ट्रको बिकास न रोजागारि सृजना । त्यसैले यसमा राज्यले विशेष रुपले ध्यान दिनुपर्छ । रुपैडिया र तातोपानी कटाउने भन्दा देशमा नै अटाउने ब्यवस्था राज्यले गर्नुपर्छ । अनि मात्र देश सम्पन्न र हामी नेपाली आत्मनिर्भर बन्न सम्भब छ ।

 

हामी कृषि प्रधान देश भनेर रात दुई गुणा र दिन चार गुणा भाषण गरेर समय खेर फालिरहेका हुन्छौं । एक किसानले बालि लगाउन, सिचाइँ नभएर आकासे पानी छिटो पार्न, महिलाले खेत जोत्दा पानी आउने बिश्वाशले खेत जोत्न लगाएर भगवान भरोषामा खेतीपाती गर्दैछ । हाम्रो ध्यान कहिलै जाँदैन । आफ्ना बाबु आमाको त्यो अवस्था देखेर नै होला बिदेशमा भबिस्य देख्छ । एक युवा आफ्नो बाबुले प्रयोग गरेको बांगो हलो अनि सिचाइँ नभएर आकासे पानीको भरमा गर्ने खेतीपाती बिश्वास जाग्दैन । जागोस् पनि कसरी, बाह्र महिना काम गरेर छ महिना खान नपुग्ने भएपछि । बाङ्गो हलो र काले माले भन्दै गोरु चुटेर बस्न सक्दैन । त्यसैले कृषिको आधुनिकिरण गर्न अब ढिला गर्नु हुँदैन त्यसका लागि आधुनिक बिउ र सिचाइ, बजार ब्यवस्थापन राज्यले गर्नुपर्छ । आज हाम्रो कर्णालीमा स्याउ गाई र भैंसिलाई खुवाउनु पर्ने अवस्था छ । सबै किसानलाई बजारमा पहुँच र यातायातका कारण यो अवस्था सृजना भएको हो । यसको अन्त्य किन नगर्ने राज्यले । अनिमात्र भबिस्य देख्छन् युवाले देशमा र देश निर्माणका लागि केही गर्ने अठोट लिन्छन् ।

 

अर्को मुख्य कुरा भनेको राजनीतिक अस्थिरताको अन्त्य सबैभन्दा ठूलो कुरा हो जुन हाम्रो देशमा एकादेशको कथा जस्तो छ । हामी पहिले सरकार कसरी बनाउने र कसरी सत्तामा पुग्ने भनेर मात्र चिन्ता गर्छौ । सत्तामा पुगिसकेपछि कसरी सत्ता बचाउने भन्ने चिन्तामा हुन्छौं । यहि अवस्थाले नै सबैभन्दा धेरै निराशा, कुन्ठाबाहेक अरु केही दिदैन । यही अवस्थाले नै देशमा भ्रष्टाचार मौलाइरहेको छ यसको अन्त्य गर्न स्थिर सरकार चाहिन्छ । हामी स्थिर सरकार बनाउन तयार छैनौं । किनकि सबैलाई सत्तामा पुग्नु छ देश बिकास होस् पनि कसरी । सबैलाई पालो पुर्‍याउने तरिकाले सरकार चलाउछौं अनि कसरी हुन्छ बिकाश । त्यसैले राजनैतिक अस्थिरताको अन्त्य नभएसम्मा देश बिकाशको कल्पना गर्न पनि सकिदैन र हुदैन पनि । हामी जबसम्म अस्थिरताको अन्त्य गर्ने कुरामा आफुलाइ समर्पित गर्न सक्दैनौं तबसम्म निराशा पलायन र देश छाड्ने कुरा कसैले रोकेर रोकिदैन यसका लागि मुख्य कुरा स्थायित्व देश बिकासको सकरात्मक सुरुवात नै हो । अस्थिरताको अन्त्य नै मुख्य काम हो जुन हामीले गरेका छैनौं । मलाई त कहिलेकाही यस्तो लाग्छ हाम्रा राजनैतिक दलहरू आफु चुनाव जित्नका लागि मात्र युवालाई देशमा नै रोजगारि हुनुपर्छ भन्छन् । आफ्ना भोटरहरु नेपालमा नै रहोस् भोकै भएपनि । चुनाव जिताउन लागोस् भन्ने चाहना राख्छन् । यहि अवस्थामा यो सम्भब हुँदैन ।

 

आफुले भोट दिदा चप्पल लगाउने मान्छे चुनाव जितिसकेपछि आकास र जमिनको फरक हुन्छ । यही अवस्थामा युवाहरू कसरी टुलुटुलु हेरेर बसुन् पनि कसरी ? यो अवस्थाको अन्त्य गर्न स्वदेशमा नै रोजगारि सृजना गर्ने वातावरण बनाउन लागौ । भाषणले मात्र देश बन्दैन । काम गर्नुपर्छ, नयाँ सम्भावना खोज्नुपर्छ । हामी युवाहरु आफ्नो जिवनको महत्वपूर्ण समय बिदेसमा होइन । देशकै लागि खर्च गर्न तयार छौं । यसमा नै देशको हित छ, प्रगति छ । सकरात्मक सोचौं उन्नति गरौं ।