जलमग्न तराई, क्षतविक्षत पहाड

 काठमाडौं – बाढीका कारण तराईको अधिकांस क्षेत्र जलमग्न भएको छ भने, पहिरोका कारण धेरै पहाडी भूभाग क्षतविक्षत भएको छ । शुक्रबार देखि आएको बाढि र पहिरोका कारण अहिलेसम्म ३७ जनाको ज्यान गएको छ । सुनसरीमा ८, मोरङमा ५, सिन्धुली र झापामा ४ र ४, सर्लाही, पाँचथर र बाँकेमा ३ र ३, बारा र दाङमा २ र २, पाल्पा, बर्दिया र मकवानपुरमा १ र १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी सयौँ विस्थापित भएका छन् । सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्धार गर्न निर्देशन दिए पनि लगातारको झरीका कारण कठिनाई भएको छ । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् । यस्तै बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेका स्थानिय प्रशाशनले बताएका छन् । मोरङ, सुनसरी लगायत पूर्वी क्षेत्रमा अहिलेसम्म राहत पुर्‍याउन नसकेको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क, बिजुली बत्ति र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको हो ।

 

पानी परिरहेकाले उद्धार टोली पनि प्रभावित भएका छन् । यस्तै बर्दियाका ८० प्रतिशत भन्दा बढी भूभाग डुबानमा परेका छन् । बाढीमा पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ । धुनषामा पनि चार सय घर डुबानमा परेका छन् भने एक सय घरमा क्षति भएको छ । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् ।

 

मध्य र पश्चिमी क्षेत्रमा आज ठूलो पानी पर्ने
देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आइतबार ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ । पूर्वी नेपालमा ठूलो पानी पारेको मनसुनी न्यूनचापीय रेखा अहिले पूर्वबाट दक्षिणतिर सरिरेहकाले आइतबार मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असरले सोमबार बिहानसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । अहिले देशभरि नै पानी पारिरहेको यो प्रणाली सोमबारसम्ममा नेपालबाट बाहिरिने भएकाले सोमबार दिउँसोदेखि भने कम पानी पर्नेछ । तर झरी भने नरोकिने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो ।

 

देशका धेरै मुख्य सडकमा पहिरो
झरी तथा बाढीपहिरोका कारण धेरै ठाउँमा गाडी चल्न सकेका छैनन् । मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिउँसोदेखि खुलेको छैन भने पूर्वी जिल्ला जोड्ने विपी राजमार्ग पनि अबरुद्ध छ । यस्तै हेटौंडा निस्कने वैकल्पिक बाटो सिस्नेरी–फाखेल सडकखण्ड पनि अबरुद्ध छ ।

 

पहिरोले काठमाडौंको साँखु हुँदै सिन्धुपाल्चोक जोड्ने बाटो पनि अबरुद्ध भएको छ । नुवाकोट ओहोरदोहोेर गर्ने गाडी पनि पहिरोका कारण रोकिएका छन् । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो पन्छाएर बाटो खुलाउन समय लाग्ने भएको छ । पानी परिरहेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ ।

 

यस्तै मुग्लिनबाट पोखरा जाने बाटो खुलाउन भने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट मौवाखोला सडकखण्डमा सात ठाउँमा पहिरो खसेकाले तत्काल गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ । झरीका कारण पहाडी जिल्लाका ग्रामीण भेगका बाटो पनि अबरुद्ध भएको छ । पहिरो र बाढीले देशका धेरैजसो ठाउँको सडक अस्तव्यस्त भएको छ ।