म यस्तो कथा लेख्छु

लवेन्द्र जंग हमाल, जुम्ला

जिन्दगीको यात्रामा सँगै हिँड्छु भन्ने साथीका पाइला म सँगै चलेनन् । उसको साथ रहेन, नरम हात रहेन न ऊ नै रहि । आखिर रह्यो त के, उहि जटिल यादहरु अजर अनि अमर बनेका छन् ।

 

साउनको महिना, बर्षा ऋतुको महिना भारी बर्षा हुँदै थियो । छाता थिएन, पुरै शरिर पानीले भिजेर सिथिल भएको थियो । बेलुकी ६ः४० मा कोठामा आइपुग्दासम्म कलेजका पोशाक सुकेका थिएनन्, अलि जाडो महसुस भएको थियो । झोलाबाट कापी निकालेर गृहकार्य गर्दै थिएँ, कसैले भन्छ, “ऊ आज गईसकी, फर्केर आउनेछैन ।” यी वाक्य सुनेर लाग्यो कि कुनै धनुषबाट छुट्टिएका तीरहरुले छाती घोप्दै छन् । एक मिनेट श्वास रोकियो, पूरा समय अन्धकारमय भयो । यत्रो समयसम्म गाँसेको सम्बन्धलाई टुटाएर ऊ आज कता गई, किन गई । एउटा पत्र समेत नछाडेर थाहा नै नदिई गई । एकछिन बाहिर बार्दलीमा गएर उसको कोठामा हेर्छु सारा सुनसान छ, झ्यालका पर्दा फरक छन् । एकाएक मुटु भक्कानिन पुग्छ, आँखाबाट आँशु ओरालो लाग्न थाल्छ । त्यो दिन कति आँशु बग्यो मापन गर्ने कुनै गणितिय शुत्र थिएन, आँशुको मोल कति थियो कुनै अर्थशास्त्रको समीकरण थिएन, अविरल आँशु किन झ¥यो कुनै वैज्ञानिक पुष्टि थिएन । आँशुको भार थाम्न नसकेर आँखाका डिल कलिला तामाका मुना लच्किएझैं भएका थिए । आँशुले यति भिजाएको थियो कि त्यति त त्यो दिनको भारी बर्षाले भिजाएको थिएन । उसको हातले बनाएको चिया मिठो, खाना मिठो परन्तु उसको निष्ठुरीपनले पुरा समय बेस्वादिलो बनाइदियो । सातै जन्म तिमै्र हुन्छु, सँगै जिउँला, सँगै मरौंला । कुनै दिन यस्ता प्रेममय आवाजहरु मुटुको कुनै कुनामा ठोकिएर प्रतिध्वनि झैं भएका थिए परन्तु आज पीडामय बनाइगए । उसले जन्मदिनमा दिएको उपहार हेर्छु तीनवटा सुई चलिरहेकै थिए परन्तु मुटुको धड्कन चलेको थियो कि थिएन त्यसको कुनै प्रवाह थिएन । यदि त्यो दिन मैले गुहारेको भए सगरमाथाको चुच्चोका हिउँका पहाडहरु मलाई सान्त्वना दिन नाम्चे बजार सम्म आइपुग्ने थिए, अस्ताएको सुर्य राती ११ बजे नै उदाउने थियो होला । उसका तस्वीरहरु आँखामा झल्झली नाच्न थाले, उसले बोलेका शब्दहरु निरन्तर गुन्जिरहे । त्यो एक रात कटाउनु एउटा निर्दोष कैदिले जेलमा २० बर्ष कटाए झैं कष्टमय भएको थियो मलाई ।

 

उसले अचानक किन छाडेर गई । आमाले दुधेबालक छाडेसरी । किन आधि यात्रामै विदाइ भएर गई । यो घनघोर जङ्गलको यात्रामा एक्लै छाडेर कुन रङ्गिन दुनियाँमा गई । म विरहको बाघले लखेटिएर यो लेख लेख्न आइपुगेछु । उसले एकदिन त मलाई छाडेर जानुपर्ने नै थियो तर किन थाहा नदिएर गई । भनिन्छ, विवशतालाई कुनै पनि शक्तिले रोक्न सकिंदैन । सायद यही विवशताको भुमरीमा परी होली अनि यस्तो निर्णय लिन सकेकी होली । बुद्धको उपदेश पल्टाएर हेर्छु, “सबै प्रियबस्तु र प्रियजनसँग एकदिन अवश्य वियोग हुन्छ ।” एकमनले सोच्छु, ओहो ! भगबानले अनुभव गरेको कुरा मैले पनि गर्न पाएँ । एकतर्फ भाग्यमानि ठान्दछु अर्को तर्फ उसलाई गुमाएकोमा अभागी । काँडेतारमा फुलको गुच्छा फ्याँकिए झैं, मेरो कोमल मुटु विरहको पहाडमा बेस्सरी ठोक्किन पुग्यो त म रोएँ बेस्सरी ।

 

उसका यादहरु कर्णालीको लम्बाइले लम्व्याउँदै छ, सगरमाथाको उचाइले उच्च पार्दै छ । रारा तालको गहिराइले झन् झन् गहिरो पार्दै लगिरहेको छ । न त मेरो कर्णालीसँग कुनै शत्रुता छ, न सगरमाथाको उचाइसँग गुनासो छ न राराको गहिराइसँग ।

 

विरहको पीडा सहन बडो चुनौतिपुर्ण हुँदो रहेछ । हात काटिएर रगत बगोस्, दुखेको महसुस त्यति हुँदैन, पुरै शरीर नै घाइते किन नहोस उपचार गर्ने डाक्टर तनाम छन्, अस्पताल हजार छन् तर विरहको पीडाको एउटै डाक्टर उही प्रियतम हुने रहेछ । जो मनमा कहिल्यै नहट्ने गरी बसेको छ । सम्बन्धहरु जन्मन्छन् अनि टुटेर जान्छन् तर यादहरु अमर बन्दा रहेछन् । उसका यादहरु कर्णालीको लम्बाइले लम्व्याउँदै छ, सगरमाथाको उचाइले उच्च पार्दै छ । रारा तालको गहिराइले झन् झन् गहिरो पार्दै लगिरहेको छ । न त मेरो कर्णालीसँग कुनै शत्रुता छ, न सगरमाथाको उचाइसँग गुनासो छ न राराको गहिराइसँग । पुष माघको जाडोमा उनको स्पर्शले न्यानो बनाइदिन्थ्यो परन्तु आज जलाइदियो । सुख्खा मौसम सुख्खा नै रह्यो यद्यपि उनको मनको प्रकृति हरियो भएपनि । यादहरु बडा जटिल हुँदारहेछन् । न राम्रोे सँग खान दिन्छन् न सुत्न दिन्छन् । ओठहरु नै शिलबन्दी गरेका छन् मुस्कान हराइदिएका छन् । मनमा थकानको महसुु हुँदाहुँदै पनि शीतल चौतारीमा बस्न दिँदैनन् । हरपल, हर क्षण उसलाई नै नचाइरहन्छन्, मनको रोधीघरमा । सम्झनाको संसारभरि उसकै नाम कोरिदिन्छन्, सपनामा उसलाई नै देखाइरहन्छन् । हामीसँगै हिँडेको बाटो प्यारो लाग्छ । हाम्रा पैतालाको छाप परेका माटो प्रिय लाग्छ । सँगै जोडिएर बसेको ठाउँ प्रिय लाग्छ । बाटो यहीँ छ, माटो यहीँ छ, ठाउँ यहीँ छ । प्रियबस्तुलाई मेरो जिम्मामा छाडेर आज प्रियजन कता गई, कुन पुरुषको अँगालोमा बेरिएकी छ, कसको काखमा निदाइरहेकी छ । पहिले जति खुशी छ कि छैन, हालखबर कस्तो छ, कुन ठाउँमा पानी पुरी खाँदै छे, कुन नम्बरको सिमकार्ड बोकेकी छे । बेखबर भइगई । फोनको जमाना छ तर फोन गरोस भन्ने चाहना छैन उस्लाई । तराइका फाँटहरुमा डुल्दै छे कि हिमाली लालीगुराँस टिप्दै छे । कसको मनमा बसी ? किन बसी, सायद मेरो भन्दा असल मन थियो कि त कुनै भ्रमले तान्यो उस्लाई । उनी पुर्वको कुनै ठाउँबाट पुर्णीमाको चन्द्रमालाई हेर्छिन होला म पनि पश्चिम बाट हेरिरहेको हुन्छु । दुबैका नजर चन्द्रमाको एक कुनामा गई गफ गर्दा हुन्, चुम्बन गर्दा हुन् । चन्द्रमाको कम गुरुत्वमा नजरको वजन पनि कम हुँदो होला, अनि हाँस्दो होला । उसको ओठमा गुलाबी रङ्ग बास गर्दो हो, गालामा स्याउरङ्गी रङ्ग पोतिँदो हो, उसको बास्नादार कपालमा शान्त बतास बास्ना उधारो माग्दो हो । मेरो मनको चन्द्रमा बाट देखिने उनकै दाँतको पङतीको ग्रटवाल झनै सुन्दर भएको होला ।

 

कुनै समय मेरो डायरी पल्टाएर हेरें भने आँशुको ताल विष्फोट भई, परेली भिज्नेछन्, आँखा नै आँशुको बाढीमा डुब्ने छन्, तर दुर्भाग्य उसका नरम हातले पुछ्ने छैनन् । ऊ विना इन्द्रणी सादा लाग्छ, चिया बेस्वादिलो लाग्छ, खाना नमिठो लाग्छ । ऊ विना जिन्दगी कुदाउन गाह्रो, खाना पचाउन गाह्रो, निदाउन गाह्रो । जिन्दगीको गोरेटोमा एक्लो भएको छु । जटिल यादहरुसँग लड्दै खेल्दै एकान्त रुखको छहारी मुनी बस्नु मेरो दैनिकि बनेको छ, कुनै हरिया चौरमा बिरहको भारी बिसाएर बेहोसी भई सुतिरहेको हुन्छु, भक्तपुरको खुल्ला चौरमा गई उनलाई सम्झेर विदाको दिन कटाउँछु । आखिर घाइते मुटु लिएर उकालो चढ्नै पर्दोरहेछ, ओराली झर्नेै पर्दोरहेछ । अब जिन्दगीको एउटै विकल्प छ, उसलाई भुलेर खुशी भई जिउन सक्नु, हाँसी राख्नु । फोटो पनि हाँसेरै खिच्नु ।