साप्ताहिक सुन्दरी

मलाई छिल्लियकी यौवना नठान्नु

मोतिराज बम

म मेरि आमाको कलात्मक कोखको उपज हुँ
म मेरा बाको उत्तेजनात्मक सीपको परिकल्पना हुँ
र प्रत्येक साप्ताहिकको विचभाग मेरो साम्राज्य हो
यो साम्राज्यको सिंहाशनमा बिराजमान छु म यतिखेर
घेरिएकि छु मदमत्त मनुवाका बिषालु नजरहरुले

 

प्रिय पाठक महोदय
मलाई छिल्लियकी यौवना नठान्नु
मेरो क्षमता बिकासको टर्निङ्ग प्वाइन्ट हो यो
इज्जत उदाङ्गो हुने गरि
कहाँ देखिएकाछन् र मेरा सुकिला साप्रा
मैले नदेख्ने गरि तिमिले चियाएका
मेरा सुललित अङ्गहरुको तापमानबाट
ठूलै भूकम्प आउन सक्छ
ठूलै तुफान आउन सक्छ
र कुच्च्याउन सक्छ तिम्रो मथिङ्गल ।।

 

चोली र सारिमा सजिएर
शिरफूल र नौगेडिमा सिङ्गारिएर
तिम्रो स्वराज्य स्वीकार गरे भने मैले
कहाँ झल्किन्छ मेरो सौन्दर्य
कसले नियाल्छ श्रद्धाले मेरो सिंहाशन
मैले लगाएको ब्रा र बिकिनी भित्र
खुसुक्क छिरेन भने तिम्रो नजरको इमोशनल हावा
के अर्थ भो र मेरो सुन्दरताको
भूकम्प, कम्प, पराकम्प आओस्
हल्लाओस् पुरै आकास र धरती
म हल्लिने छैन र डग्ने छैन मेरो साम्राज्य
म साप्ताहिक सुन्दरी
साप्ताहिकको बीचभाग मेरो साम्राज्य ।