प्रचण्डले सुर्खेतमा भने–अब माअाेवादी जित्दै जान्छ

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब माओवादीले नहार्ने, जित्दै जाने बताएका छन् ।

 

माओवादी केन्द्रको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटमा हार्नुपर्ने जति हारिसकेको भन्दै अब माओवादी केन्द्रले नहार्ने जिकीर गरे । ‘जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,’माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।’

 

प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचत कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थीरता दिने दावी गरेका छन् ।संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डले बताए ।

 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति ईङ्गति गर्दै प्रचण्डले भने,’भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’

 

प्रदेश नं ६ को प्रशिक्षण सुरु

माओवादी केन्द्र प्रदेश नम्वर ६ को प्रशिक्षण कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । प्रशिक्षणमा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिमा करिब ५०० सदस्य सहभागी भएका छन् । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, शक्ति बस्नेत, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत, कालिबहादुर मल्ल, महेश्वर गहतराज लगायत सहभागी छन् ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं ६ का जिल्ला इन्चार्जहरुले राजनीतिक र संगठनात्मक रिपोर्ट पेस गर्नेछन् ।