मानसखण्ड र गौरा पर्व

मानसखण्ड अन्तर्गतको विशेष पर्व र संस्कृतिको रुपमा गोरा (गौरा) हो ।

डा. पदमराज कलौनी

स्कन्द पुराणमा हिमालयलाई “खण्डा: पञ्च हिमालस्य कथिता: नैपालकूमाँचंलौ । केदारोsथ जालन्धरोsथ रुचिर काश्मीर संज्ञोsन्तिम: ।” उल्लेख गर्दै पाँच भौगोलिक भागमा बिभाजन गरिएको छ ।  अर्थात हिमालयको नामाकरण नेपाल, कुर्मांचल, केदारखण्ड(गढवाल), जालन्धर(हिमाञ्चल प्रदेश) र सुरम्य काश्मीरको वर्णन पाइन्छ । पौराणिक ग्रन्थहरुमा कुर्माञ्चल भनेर मानसखण्डलाई भनिएको छ । विश्वको आदि ग्रन्थको रुपमा प्रशिद्ध ऋग्वेदमा मेरुमानसको शुक्ष्म रुपले वर्ण गरिएको छ । मनासखण्डकै भागलाई वेदले हिमवतमेरु भनेर स्विकार गरेको छ ।   मानसखण्डको इतिहास पौराणीक काल देखि नै पाईन्छ । केदारखण्ड (वर्तमान गढवाल) मानसखण्ड वर्तमान भारतको कुमाऊँ र उत्तराखण्ड राज्य तथा नेपालको महाकाली, सेती र कर्णाली नदीसम्मको भूभागलाई मानसखण्डको भनेर व्याख्या गरिएको छ । वेदमा आर्याब्रतको उत्तरी भूभाग कैलास मानसरोवर सम्मको सम्पूर्ण भू-खण्डलाई मानस खण्डको रुपमा व्याख्या विस्लेषण गरिएको छ ।

स्कन्दपुराण मानसखण्डको (२०/२१) नन्दपर्वतमारम्भ यावत् काकगिरिः समौ । तावद्वै मानसखण्ड ख्यायेत् नृपसत्तम । अर्थात कुमाऊ (भारत)को नन्द पर्वत देखिन् लिएर काकगिरि (कर्णाली) सम्मको सम्पूर्ण हिमाल, पहाड र तराईको भू–भागलाई मानसखण्डको रुपमा लिइएको छ । यसमा मानसखण्डको भौगोलिक सीमाङ्कन, नक्साङ्कन र भू–भागको वर्णन गरेको हुँदा यो भन्दा ठूलो प्रमाण, गौरव र शानको विषय के नै हुन सक्छ । उत्तर र दक्षिणले थिचि–मिची लिएको भूगोलको समेत भावी पुस्तालाई ज्ञात गराइरहने छ । स्कन्दपुराण केदारखण्ड (२०४/५६–५७) मा मानसखण्डको महिमा र गरिमाको वर्णन– तीर्थानि प्रवराष्यैव श्वेताख्ये पर्वतोत्तमे । अग्रे मानस प्रस्तावे तथा नेपालकेमुनि ।। काश्मिरे चैव प्रस्तावे जालन्ध्रे वै तथा मुनिः तथा केदारप्रस्तावे कथितानि मयाद्यते । अर्थात सेताम्य पर्वत (कैलास) सबैभन्दा उत्तम पर्वत हो । यसको अगाडि अवस्थित रहेको उत्तमक्षेत्र मानसखण्ड हो । त्यसपछि क्रमसः नेपाल, काश्मिर, जालन्धर र केदार खण्ड पर्दछन् ।

 

भागवत पुराणको १/१२/३–४मा उल्लेख भए अनुसार– दृष्वा पापयसीं सृष्टिं नात्मानं बह्वमन्यत् । भगवत्ध्यानपूतेन मनसान्यौ ततोऽसृजत ।। सनकं च सनन्दं च सनातनमथात्मभू ।

 

सनत्मकुमारं च मुनीन्निष्कियानूर्ध्वरेतंस ।। अर्थात तामिश्र, अन्धतामिश्र आदिलाई सृष्टि गरेर वाक्क भएका ब्रह्माले सनक, सनन्द, सनातन, सनत् कुमारको सृष्टि गरेको क्षेत्र नै मानस हो भनेर उल्लेख गरेको पाइन्छ । 

 

यसै गरि भविक्ष्य पुराणमा ब्रह्माजीले देवताहरुको सहयोगका लागि देवसेना (कात्यानी) नामक मानसी पुत्रीलाई जन्माएको क्षेत्र मानखण्ड भएको वर्णन गरिएको छ ।

 

बाल्मीकी रामायणमा ब्रह्माजीले कैलास पर्वतको नजिकै मानस क्षेत्रको निर्माण गरेको उल्लेख पाइन्छ । साथै कैलास मानसरोवरबाट मूल भएर बग्ने नदीहरुमा काली (महाकाली), कर्णाली नदीहरु पुण्यभूमी मानस क्षेत्रबाट नै बग्ने हुन भनेर स्कन्द पुराण मानस खण्डको २०/१४ मा उल्लेख गरिएको छ । (यस्माद्वि सुमहापुण्या सरित सम्भवाकिल । यनेदं मानसं नाम खण्डं तत् समुदाहतम् ।।)

 

अम्बिका भगवतीले मेरुपर्वतको नजिक मानस गिरिमा तपस्या गरेको कुराको पुष्टि देवी भागवत्को १/४/२२ ले पुष्टि गर्दछ । विचार्य मनसात्यर्थ कृत्वा मानसि निश्चयम् । जगाय च तपस्तप्तुं मेरुपर्वत सुन्निधौ ।।)

 

स्कन्द पुराण मानस खण्डको ८/८३ मा मानसखण्डको उल्लेख गर्दै त्यहाँ विभिन्न पंक्षीहरु र जल–जन्तु पाइने वर्णन छ ।

 

परापुर्वकालमा मेरु अर्थात कैलास पर्वतको सहोदरको रुपमा चिनिएको मानस क्षेत्रमा मानिसका अलावा देवी देवता, यक्ष, किन्नर, परी, गन्धर्व, ऋषि, मुनि, पिशाच, राक्षसहरुको समेत तपस्थली अथवा बासस्थान मानिन्छ । दारुगिरि (दार्चुला) मा आएर वेदब्यासले वेदलाई पूर्णता दिएको हुनाले उक्त स्थानलाई व्यास भनिन्छ ।

 

दुर्गा सप्तशतीको ५/७ मा मानसक्षेत्र अन्तर्गत पर्ने कैलास मानसरोवरमा अम्बिकाकोे प्रार्थना गर्न सम्पूर्ण देवताहरु जाने गरेको थियो भन्ने छ । हिन्दूहरु मानसरोवरलाई पवित्र तिर्थस्थलको रुपमा मान्दै आएका छन् ।

 

(इति कृत्वा मतिं देवा हिमवन्तं नगेश्वम् । जग्मुस्तत्र ततो देवीं बिष्णु माया प्रतुष्टुबु ।।)

 

देवी भागवत्को १/४/१५ मा गौराले शिवलाई पतिको रुपमा पाउँन मेरु पर्वतको निकट मानस क्षेत्रमा तपस्या गरेको वर्णन छ । कठोर तपस्या गरेकै कारणले गौराको सम्झनामा सेती महाकालीका अधिकांस भागमा आज पनि “गौरा पर्व” लाई महान पर्वको रुपमा मनाईन्छ ।

 

महाभारत, वनपर्वमा धर्मराज युधिष्ठरले मानस क्षेत्रका तीर्थस्थल गएर स्नान गरेको कुरा पनि उल्लेख गरेको छ । (ततो तद्धेत राजेन्द्र मानसं तीर्थमुत्तमम् । तत्रस्नात्वा नरोराजन् रुद्रलोके महीयते ।।)

 

बालक ध्रुव राजा भएपछि मानसखण्डमा गएर रुद्रको दर्शन गरेको कुरा भागवत् पुराण ४/१०/५ मा छ भने ३/१३/४० मा ऋषि कर्दमले मानसक्षेत्रको भ्रमण गरेको उल्लेख छ ।

 

अद्भुत रामायण (२६/४०/४१) मा सीताले लङ्काबाट अयोध्या फर्कने क्रममा रामसँग गरेको सम्बादमा पनि मानस क्षेत्रको उल्लेख गरेको पाईन्छ ।

 

भागवत् पुराण (१/१२/७) मा भृकृटीका बालक रुद्रले रुद्राणी सँग कैलास (मेरु) पर्वतमा तपस्या गरेको वर्णन छ । हरिवंश पुराण, नृसिङ्ग पुराण, ब्रह्म बैवर्त पुराण, एकादशी महात्म आदिमा कैलासवासी शंकरको पुजाआजा गर्न मानसपुष्पको प्रयोग भएको उल्लेख पाईन्छ ।

 

बिष्णु पुराणका अनुसार मानवको उत्पत्तिस्थल काश्मिर, जालन्धर, केदारखण्ड भन्दा पहिले मानसखण्डमा भएको थियो र धर्तीका प्रथम मानव मनु शतरुपा मानसखण्डका मानिन्छन् । मानस नामक जातीका सन्तानहरुमा मृग, मगध, मानदग मानिएका छन् । यिनीहरुको भाषा मानसी थियो ।

 

वेदमा के छ ?  पुस्तकमा– मानसं सिद्ध सेवितम्  भनेर मानस क्षेत्रको महिमा लेखिएको छ ।

 

वायू पुराण (५०/८८) मा मानसको दक्षिणी भागमा मनुको बासस्थान रहेको कुरा स्विकार गरिएको छ ।

 

मेघदूतमा कालिदासले मानस खण्डका आदिबासी यक्ष (खस) जातीलाई उल्लेख गरेका छन् ।

 

मानसखण्ड वा मानस प्रदेशलाई अथर्ववेदमा (५/४/८) उदङ् , बौद्ध ग्रन्थमा अनो–ताता, तिब्बती धर्मग्रन्थमा कङ्गरी करछक, जैन धर्ममा (कैलासलाई) अष्टापद, मानसरोवरलाई पद्यहृद वा पद्यक्षेत्र आदि उल्लेख गरेका पाईन्छ ।

 

मानसखण्डलाई देवभुमिको रुपमा लिईन्छ । यस क्षेत्रमा असंख्य हिन्दू तिर्थस्थल छन । पौरव, कुशान, गुप्त, कत्युरी, रायक, पाल, चन्द, परमार, गोरखा र अंग्रेजले यहाँ शासन गरेको पाईन्छ । पौराणिक ग्रन्थहरुका अनुसार उत्तरी हिमालमा सिद्ध गन्धर्व, यक्ष, किन्नर जातीको सृष्टी थियो र उनीहरुका राजा कुवेर थिए भनेर भनिएको छ । कुवेरको राजधानी अलकापुरी (बद्रीनाथ भन्दा माथि) बताइएको छ । कुबेरको राज्यमा ऋषि-मुनि तप र साधना गर्दथे । यस क्षेत्रमा हुण, नाग, खस जातीले निवास गरेको थियो । पौराणिक ग्रन्थहरुमा केदार खण्ड, मानस खण्ड, देव-भूमि, तपोभूमि आदिको नामले प्रशिद्ध रहेको थियो । चन्द राजाहरुको पाला देखि मानस खण्डलाई कुर्माञ्चल वा कुमाऊँको नामले प्रचलित भएको देखिन्छ । चन्द राजाहरुले कत्युरी शासन पछी राज्य गरेका थिए । चन्द राजाको शासन सन् १७९० सम्म पाईन्छ र सन् १७९० मा नेपाली गोर्खाली सेनाले कुमाऊँमा आक्रमण गरेर कुमाऊँलाई आफ्नो अधीनस्थ ल्याएको थियो । सन् १८१५ मा अंग्रेजसँगको युद्धमा परास्त हुँदा गोर्खालीले कुमाऊँ गुमाउनु परेको थियो । अंग्रेज हरुले त्यसपछी केदार खण्डलाई विभिन्न गढ (किल्ला) मा विभक्त गर्दै समर्थकलाई राजकाज सुम्पदै गए । पवार वंशका राजाले एकीकृत गढवाल राज्यको स्थापना गरेर श्रीनगरमा राजधानी स्थापना बनाए पछी केदार खण्डलाई गढवालको नामले प्रचलित हुन थालेको इतिहास पाइन्छ ।

 

स्कन्दपुराणमा मानसखण्डका तत्कालिन विभिन्न स्थान र जिल्लाको नामाकरण गरिएका दारुगिरि भनेर हालको दार्चुला, लिपिपर्वत भनेको लिपुलेक, चर्मवति भनेको चौनाली (चमेलिया), बायुतड- बैतडी, श्यामा वा काली वा वैयसिका- महाकाली, देवतट-डोटी, सीता नदी- सेती नदी, दिल्पेश्वर- दिपायल, चन्दनगिरि- शिलगढी, खेचराद्रि- खप्तड, आश्रम- अछाम, बज्राङ्क- बझाङ्ग, बाजिरा वा बाजु- बाजुरा, बृद्धगंगा- बुढीगङ्गा, शितलोदका- चिसापानी, ब्रह्मपुर- ब्रह्मदेव, कुर्म पर्वत- डडेलधुरा, काञ्चन नगर- कञ्चनपुर, मुद्गल- मुगु, हुम् (ओम) – हुम्ला, युगला- जुम्ला, कालिका- कालिकोट, दोहावलि भनेर डोल्पालाई भनिएको हो ।

 

मानसखण्ड अन्तर्गतको विशेष पर्व र संसकृतिको रुपमा गोरा (गौरा) हो । गौरा वा गोरा वा गौरी वा गौर भनेको वर्णका हिसावले गोरो वर्णको भन्न खोजिएको हो । अर्थात यसलाई लाक्षणिक रुपमा वर्णग गर्दा उज्जल, धवल, श्वेत, सेतो, गोरो रङ्ग भएकी, सुन्दर, कल्याणकारी, शुभ लक्षण भएकी, शकुन युक्त भएकी भन्ने हो ।गुण प्रधानले व्याख्या गर्दा स्वच्छ, निष्कट, परोपकारी, कल्याणकारी, मनोहरणीको रुपमा पनि लिन सकिन्छ ।  वर्णकी कन्या वा महिलालाई गौरी वा गोरा शव्दले उच्चारण गरिन थालियो । कालान्तरमा गोरा नै स्थापित हुन गएको देखिन्छ । देवी भागवतको षष्ठम स्कन्दको १३ र १७ औं अध्यायमा भृगु वंशी महिलाहरुले गोरा देवीको विधी विधान गरेर पुजा गरेको कथाले पनि गोरा पर्वको महिमालाई प्रष्टपारेको हुदा यो पर्व महिला विशेषको रुपमा प्रख्यात छ । गौरा पार्वतीलाई भनेको हो । गौरीश्वर शिवपार्वतीको संयुक्त रुपलाई पनि सम्बोधन गरिन्छ । जसलाई अर्को भाषामा अर्द्धनारीश्वर पनि भनिन्छ । दोलखा जिल्लामा गौरीशङ्कर (शिव पार्वती) हिमालको उपस्थितिले पनि गौरा पर्व पर्वतीय क्षेत्रको चाडबाडको रुपमा परिभाषित हुन जान्छ र यसले मानसख्णडको उपस्थितिलाई पनि पुष्टी गर्दछ । गोरा वर्णका अमेरिकनहरुलाई पनि “गोरा” भनेर सम्बोधन गरिने हुँदा गोरालाई यसले सुन्दर कन्या वा महिलाको रुपमा संकेत गर्दछ ।

 यो पर्व परापुर्व कालदेखि मानसखण्ड अर्थात अहिलेको परिवेशमा महाकाली, सेती र कर्णाली भेकमा धुमधामसँग मनाइने गरिन्छ । सन् ७१२ तिर सिन्धुमा लडाई गरेर मोहम्मद दिन कासिवले उत्पाद मचाएर त्यहाँका बासिन्दालाई उठीवास गराउन खोजे । त्यसपछी सन् १००१ मा महमुद गजनवीले १७औ पटक आक्रमण गरेर सिन्धुमा भएका हिन्दूका मठ, मन्दिर र धार्मिक स्थललाई तहस नहस गरे । वेद, पुराण, लगायतका विभिन्न धर्मग्रन्थलाई जलाएर हिन्दूको आस्थाको केन्द्र सोमनाथको मन्दिरलाई तोडफोड गरेर लुटपाट मच्चाए । मोहम्मद गोरी, चंगेजखाँ, तैमुरलङ्ग आदि बादशाहले हिन्दूधर्मको पतन गर्नेतर्फ उन्मुख रहेको इतिहास छ । सन् १५२६ मा पानीपतको घोर युद्धमा इब्राहिम लोटीलाई नवाव वावरले हराएर (भारतमा) मुगल साम्राज्यको स्थापना गरेका थिए । त्यसलगतै हिन्दूहरुलाई धर्मच्युत गरेर मुसलमानहरुले आन्दोलन चलाउँदै गए र हिन्दूत्वलाई बचाउन धर्माधिकारी, ब्रह्मण, सन्यासी आदि उत्तराञ्चल तथा कूर्माञ्चल (पहाडी र दुर्गम) मा गएर धर्मको रक्षा गर्न थाले ।  कालान्तरमा हिन्दू धर्मलाई छोड्न नसक्ने क्षेत्री, वैस्य, र शुद्रहरु पनि एघारौं शताव्दीमा बसाई सरेरको अनुमान गरिएको छ । यसक्षेत्रमा आई बसेका   मानिसले आ-आफ्ना देवस्थलहरुको प्रतिष्ठापन गरेर हिन्दू धर्मको पवित्र ग्रन्थ वेदको अनुशरण गरेको प्रमाणित हुन्छ । मानस प्रदेश  शैव र शाक्तको बाहुल्यता कायम भएको क्षेत्र मानिन्छ । नवौं शताव्दीको पुर्वाद्धमा वदरिकाश्रमका शंकराचार्यले मानसखण्डको भ्रमण गरेर बौद्ध धर्मको प्रभाव बढ्दै हिन्दू धर्ममा भै रहेको क्षतिलाई रोक्न बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम आदि जिल्लामा देवलहरुको स्थापना गरेर वैदिक धर्मको प्रचार प्रसार गरेको पाईन्छ ।

 

गोरापर्व मानउने क्रममा पर्ने बिभिन्न तिथीमा गरिने पुजा-आजा प्रविधीको बारेमा छोटकरिमा निम्नानुसार वर्णन गरिएको छः- 

 

गाैरा एकादशी:-

ब्रतालु विवाहित महिलाले गौराष्टमी भन्दा पहिलेको एकादशीमा ब्रत बस्ने गर्दछन । गोराको उपासना गर्नेले अनिवार्य रुपमा एकादशीको उपासना गर्दछन । औपचारिक रुपमा यसदिनमा गौरा-महेश्वरलाई विधीबत निमन्त्रणा गरिन्छ । यसदिनबाट गौरा पर्वको सुरुवात हुन्छ । साँझपख महिला तथा केटाकेटीहरु परम्परागत खेल खेल्ने रमाउँने गर्दछन ।

 

गौरा चतुर्थी:-

यस दिनमा ब्रतालु महिलाले आफ्नो सरसफाई सँगसँगै र बिरुडा राख्ने (भिजाउँने) कोठाको तयारी र सरसफाई गर्दछन । बिरुडा भिजाउँने भाँडो (तामा वा पित्तलको तौली) को जोहो गर्दछन । बिरुडा खोजी गर्ने र केलाउने तथा सरसफाई पनि गरिन्छ ।  

 

बिरुडा पञ्चमी:-

तामाको तौली वा नभए पित्तलको तौलीमा (तउलो) सफा-सुग्घर गरेर पञ्चगभ्यले स्नान गरिन्छ । त्यसपछि तौलीको बाहिरपट्टी शुद्द गाईगोबरको थुम्का लगाएर त्यसमा हरियोदुबो (तान्द्रा) रोपिन्छ । अबीर, चन्दन र अक्षेताले पुजा गरिन्छ । केलाएर राखिएको पञ्चबिरुडा तौलीमा भिजाइन्छ । गाउँभरिका ब्रतालु महिला पालै-पालो घर-घरमा गएर फाग गाउँदै बिरुडा भिजाउने गर्दछन । पञ्चबिरुडामा मास, गहत, गहुँ, गुँरुस र कलउ (सानो केराउ) भिजाइन्छ । पञ्चबिरुडा पुष्टकारी, स्वादिष्टता र आयुर्वेदिक महत्व सँगसँगै वैज्ञानिक महत्व पनि देखिन्छ । बिरुडामा प्रोटिनको मात्रा बढी हुन्छ । उम्रेको दलहनमा खाद्यशक्ति प्रचुर मात्रामा हुन्छ । बिरुडा भिजाउने कार्य घरको पवित्रस्थल अर्थात पुजा कोठामा गरिन्छ । सामान्यतया केटा-केटीलाई भिजाएको स्थानमा जान, छुन बर्जित गरिन्छ । बिरुडा भिजाउँने फागलाई निम्ननुसार राखिएको छ-

 

अइलको नौलो वरत मुइ लोली लै लिनौ । महेश्वर गुसाइँ हमरा विनती सुणी दिय।

खोजी दिय पञ्च बिरुडी गुसाइँ । सिलाइ दिय कपडा

छोरी न छोरी शरद छोरी हिट शिखर झानौं । हात समाई आँसी

कानैनी हाल्यौं बौसी । पूजी गैन शिखर धुरा

लोली गोराले सत्य पुकार्यो । कट्युँली काटी हाल्यौ

आधा आधा काटी कट्युँली । पाछा पाछा बोया कलौ

आधा आधा और्या कलौ । पाछा पाछा एकपत्या भ्यान, दोपत्या भ्यान

तेपत्या भ्यान, पचपत्या भ्यान । छपत्या डाकुली रसी ग्यान

सातपत्या माई कलौ ढकमक्क फूल्या । आधा आधा दशमस कफुल्या

पाछा पाछा चिचला डाड्या । आधा आधा कोशी खानी भैन

पाछा पाछा कोशीकी माल । तपस्वीका रुपले महेश्वर इचलीमा बस्या

कालै सौडाकी कलेवार चेली । एक कोशो हम खान देलो

झार झकुण्या फसुर भकुण्या । कोशी धोइ क्याइ हाले

पैल्हो कोशी भुमिराज दिउलो । दोसरी कोशी महेश्वर दिउलो

तेसरी कोशी गणपति बालो । चौथी कोशी सरस्वती कन्या

पाँचौं कोशी मुइलोली बिरुडी बनुँलो । छयौं कोशी जोग्याला सिट्टी संसार बाडुलो

पुइ तोइलै दिउलो । पुइ तुइलै खालै

तमरा लोली महेश्वर मुइ झा छनु । हमरा त महेश्वर गुसाइँ गोरा थिया

हमरा त महेश्वर गुसाइँका दातै पाटी ब थिया । हमरा त महेश्वर गुसाइँ वाला झाइ ब थिया

पान सुपारी खाना खानाइ थोते होइ गया । जेठको घाम लाग्यो कालो होइ गयो

हिट्टा हिट्टा लोली रे गोरा बुढा जसो होइ गयो । महेश्वर लोली गोरा घरै चलि झाइ आया

महेश्वर गुसाइ हमरी बिन्ति सुणी दिय । कलौ जति उपाया मैले सुना तौली खोजी दिय

सुना लौली कसैकी नाइ पुज । लै चल रुपा कुरालेडी सुना तौली कसैकी नाइ पुज

धनिला धनिला तामाकी तौली रुजौन्नी । निर्धनी निर्धनी साननिया पाल्ली

तसो गर्या लोली गोरा सबैकी पुजी झालो । महेश्वर गुसाइ मेरा सुना देडो खोजी दिय

सुना देडो लोली रे गोरा तमरा माइत ब होलो । बुबुजति आमा हमरा सुना दियडो दाइजो दिए

महेश्वर गुसाइ हमरा विनती सुणी दिय । सुना गिरेठा खोजी दिय रुपा काथली खोज

सुना गिरेठो कसैकी नाइ पुज । घाङरकी लठ्ठी लै झा (चल)

रुपा कोथली कसैकी नाइ पुज । लै झा (चल) वोदलीको गाद

महेश्वर गुसाइ हमरा विनती मेरी सुण । कलौ जति पाया मुइले कलौ चुटी घर ल्यै ग्यो

तमरा भय्या (भाइ) दामोदर खाइ कलौ चुटी घर ल्यास

 

यसपछी सगुन गाइने गरिन्छ

सगुन दे सरस्वती लगन दे गणपति । भोल तमु आया बाल्युँ

दाइनी तिर सरस्वती बाइतिर भागरथी । अबे माता सरस्वती काज कल्याण

को बधु गावन्ति । को बधु सोभन्ति

कसले यो काज सिज्यो । सुरनारी गावन्ति

कुलबधु सोधन्ति । आफुइले यो काज सिज्यो

 

बत्तिबाल्ने समयको फाग-

काँ दिया उबजिया काँ दिया निभजिया । कैले मगायौ दियडो

कैले बोलायो, कैले तोली मोली दिया । सीता रानीले भगायो, रामैले मोलायो दिया

लक्ष्मणले तोली मोली दिया । क्याकी दियडी होली, क्यैकी बत्ती होली

कोरे रानी दियडी जगुन्नी सपुरै रुवा वाती होली । कपुरै वासी घिउ होलो

सुना रुपा दियडो सीता राखी जगुन्नीन ।

 

गौरा षष्ठी अर्थात नोल्या गोरा :-

पञ्चमीमा दिन भिजाएर राखेको बिरुडालाई ब्रतालुले भिजाएको भाँडो सहित धुनको लागि पानी-पधेरो (नोला, धारा, इनार, कुवा) मा लगिन्छ । नोल्या गोरालाई महालक्ष्मी वा गंगाको रुपमा पूजा गरिन्छ । बिरुडा भिजाएको लौलि वा भाँडोलाई टाउको राखेर बोक्दै बाटोमा बिभिन्न देवी देवताको स्मरण गर्दै मंगलमय फाग गाइने गरिन्छ –

 

इन लगुन इन सगुन लोलीका वरत छन् । पाणकी दिदी मजेलाकी भौव्वा

हिट भैव्वा विरुडी सुझाउन झानौ । मेरा दिदी नाक नथिया लौनी रै गै

मेरा त दिदी हमारा कान गल्यौं लौनी रै गै । कान गल्यौं नाक नथिया भोलै लै पैहिरौला

हिट बैनी बिरुडा सुझाउन झानौ । भूमिराज देवता हमरा त बिरुडी सुझाउन ल्याउन्ना

महेश्वर गुसाइँ हमरा बिरुडी सुझाउन ल्याउन्ना । वरतारी लोली गमरा देवी बिरुडी झै सुझाउन्नी

निङलासैनी माई मेरी बिरुडी सुझाउन ल्याउन्नी । जगन्नाथ देव हमरा बिरुडी सुझाउन ल्याउन्ना

शिवनाथ देव हमरा बिरुडी सुझाउन ल्याउन्ना । कैलपाल देव हमरा बिरुडी सुझाउन ल्याउन्ना

केदार देव हमरा बिरुडी सुझाउन ल्याउन्ना

………………………………

(समयले भ्याएसम्म यहाँ सम्पुर्ण देवी देवताको स्मरण गरिन्छ । )

 

बिरुडा धुने समयमा गाइने फाग:- 

आजको पानी ब्बारी कति मोल पाइछै । नोलाका पाटी ज्यू हो को ब लोग्यानी बसिरैछ

आली नाइँ अस्यानी नाइँ पछ्याणी कन ल्यै थी । तमरी अनार छ तमरी पनार हिटाइ बसाइ छ

ध्याउनी तिउनी गमरामी जियान नवालिपाट आइन । आज मेरी लोली गमरा क्याकी माइत सम्झी

हिट हिट बावु हमरा घरै निसी झानौ । पुइला ढोक बावु हमरा जिर्या बावु गमरा

आज मेरी बावु गमरा क्याकी माइत सम्झी । दिय दिय बाबा हमरा सुवर्ण पाल्ली

सुवर्ण पाल्ली गमरा पाँचै भाइको बाणो । दिय दिय जेठा बाबा सुवर्ण पाल्ली

सुवर्ण पाल्ली गमरा पाँचै भाइको बाणो । काका थाइ भुण्यो दादा थाइ भुण्यो

नाइ दियो सुवर्ण पल्ली । भौल्यालाई जाँइ हिम्मत आइछ

तइलै दियो सुवर्ण पाल्ली । ध्युनि त्युनि गमरा घरै लौटी आइन ।

 

बिरुडा धोई सकेपछी नोल्या गोरालाई (पार्वतीको प्रतिकको रुपमा बनाईको सौ घाँसको आकृती) धाराकै छेउछाउमा पवित्र स्थानमा केटाकेटी र गाईवस्तुले नपुग्ने गरी प्रतिस्थापन गरिन्छ । अनि ब्रतालुले त्यसैमा बिरुडा, अबिर, अक्षेता, फूल, फल आदिले पूजा गर्ने गर्दछन । यहाँ नोल्या गोरालाई गंगाको रुपमा सम्झिने गरिन्छ र पुजा-आजा गर्दा गाइने फाग-

 

ल्यास ल्यास चेलि बेटी गोरा माइत ल्यास । गाडा खेत सौ बाट गोरा माइत ल्यास

झान बाबा गोरा माइत व ल्यान । गोरा माइत लिया बरे दाइजो क्यान दिउला

गात अङिया दिउला । गात घघिया दिउला

कान गोल्यौ दिउला । हात खडुवा बाला दिउला

लोडी खुडकी गै । वटोली टनकी गै

गोरा दिदी माइत आई गैन ।

………………………………….

हे गमरादेवी दूध ल्यासे, पूत ल्यासे । मास मास आस्या

इष्टकी पुरिया, मित्तुरकी पुरीया । (यसपछी कुकुडी माकुडीको कथा भन्ने गरिन्छ )

त्यसपछी धुन लगेको आ-आफ्नो बिरुडा ब्रतालुहरु टाउकोमा बोक्दै घर फरकिन्छन र बाटोमा फाग गाउछन् –

 

पाँचै पाण्डव केदार गया (चल्या) । छोटी बेना लागी पछेटा

जन गरौं कौरब सौराकी हाँच  । रक्त नदी बगली

शिरको छेदन होलो पाखुडी टुटली । नलाग पछेटा छोटी बैना मेरी

घर तेरा बियको भकार (भतार) । वियको भकार फेरी पउलो

तमु जसा भाइल लै नाइँ पौ । पछेट नलाग मेरी छोटी बैना

घर तेरा काखीको बालो । काखीको बालो दादा काखी बसी रलो

तमु जसा भाईलाई नाईँ पौ । नलाग पछेट छोटी बैना मेरी

घर तेरा घुँणीको पारो । घुणिको पारो दादा फेरि पौलो

तमु जसा भाइलाई काँ पाउलो । ओराली उकाली हिँडन होलो

तमु बुइना कसरी हिटल्यौ । जसरी हिटन्या कुन्ती माई

उस्याइ मुइ पनि हिटुलो (उसि कनाइ मुइलै हिटुलो)

जेठकी दोपहरि हिडन पडलो । तमु बुइना कसरि हिटल्यै

जस्याँइ हिटन्ना कुन्ती माई । उस्याइ मुइ पनि हिटुलो

कुन्ती माईकि पाउ ल्यौला । पाउनका सावर जुति

शिर ल्यौला छात छतौरी । खुशिधार मुरिधार हिडन हिलो

तमरा बुइना पौख सडि झान्ना । भुइसिको ग्वालो सोही बोल बोल

केदार कति नेड कति टाढा । धर्मिकी हुन्ना टाढाइको नेड

पापीको यो खुरडि धार । रुकरुक्या थली होली, झुपुर्यालो बाज

भिमारौलले सुगा सामी । बैनी पतेइ घर लाइछ

गाईले गौंत्यो छलछलै । धर्मीले गर्यो स्नान

पापिया जति फर्की आया । धर्मी जति निसगया केदार

हातकी लौडी विनायक छुटी । ताँइ रयो पापैको भार

तत्ते रयो पापैको भार

 

नोलाबाट आ-आफ्ना घरमा पुगिसकेपछी बिरुडा बिजाएकै स्थानमा केला वा सालको पातमा फिजाएर सुक्ने गरि राख्ने कार्य हुन्छ । त्यसपछी गोरियाहरु आफ्नो नित्यकर्म (घरायसी कार्य) मा लाग्दछन ।

 

 

गोरा सप्तमीः- यसलाई अनुभक्ताभरण वा भितल्ली गोरा पनि भनिन्छ । भितल्ली गोरालाई सरस्वतीको नामले पनि पूजा गरिन्छ । महिलाहरु बिहानै उठेर अपामार्गले दाँत माझ्ने गर्दछन । गोरा महेश्वरको पुजा आराधना गर्दछन । गोरा- महेश्वरको विवाह सामग्री तयारी गर्दछन । भितल्ली गोरा राख्ने (पूजा गर्ने) कोठामा लिपिन्छ ।

 

लिप्ने क्रममा गाइने फागः-

ल्यास ल्यास चेली बेटी । चोखि माटी खणि ल्यास

काँहै ल्याउँ चोखि माटि धेउडाले बिटुल्यो । धेउडिले बिटुल्यो माटि अशुद्ध नाइ हुनो

ल्यास ल्यास चेली बेटी चोखो जल भरिल्यास । काँहै ल्याउँ चोखो जल मछली बिटुल्यो

मछली बिटुल्यो जल अशुद्ध नाइ हुनो । ल्यास ल्यास चेली बेटी चोखो फूल टिपी ल्यास

काँहै ल्याउँ फूल टिपी भमराले बिटुल्यो । भमरी बिटुल्यो फूल दोष नाइ हुनो

ल्यास ल्यास चेली बेटी चोखो दूबो टिपी ल्यास । काँहै ल्याँउ चोखो दूबो घोडीले बिटुल्यो

घोडीले बिटुल्यो दूबो दोष नाइ हुनो

 

यसरी विवाह मण्डपलाई सृगारमय बनाएर सजाइन्छ । ब्रतालु महिला पनि नयाँ नौलो पहिरन लगाएर सजिएर बेलुका पख लगन अनुसार भितल्ली गोराको पूजा गर्न जान्छन । पूजा गर्नका सिजन अनुसार फल फूलहरु चढाइने गरिन्छ । पूजा आजा नगर्नेहरु बाहिर आँगनमा खेल खेलेर नाच गान गर्दछन । घर घरमा अनेकन प्रकारका खानाका परिकारहरु पकाइन्छन । घर घरबाट प्रतिनिधीका रुपमा भितल्ली गोराको पूजामा भाग लिन्छन र खाना पकाउने सिप भएकाहरु खानाको जोहोमा लाग्दछन । ब्रतालुहरु पूजा गरेर सप्तम्या अबिशेक गरेर मात्र त्यस दिनको भोजन गर्दछन ।

 

भितल्ली गोरालाई भित्र्याउँदा गाइने फागः-

सर्कलोक अनन्तलोक लोली रे उपजी । काँ है चलि आइन गमरा काँ भै छ उज्यालो

सर्कलोक है चलि आइन गमरा मर्त्यलोक भै छ उज्यालो । डाँडा काँडा भै छ उज्यालो

डाँडा काँडा है चलि आइन लोली गमरा । खला खेत भै छ उज्यालो

खला खेत है चलि आइन लोली गमरा । पटकन है चलि आइन लोली गमरा

पटकन भै छ उज्यालो । त धौरोडी भै छ उज्यालो

धौरोडी है चलि आइन लोली गमरा । बीच पाँण भै छ उज्यालो

छाड छाड लोग रे वाग ताइन । हमरी लोली गमरा आइन

 

गोरा देवीको आराधना तथा पूजाः

आस लोली गमरा देवी । तम लोली दूधकुण्ड चल

धूध कुण्ड हुन्ना भूमिराज देवा । त तनरा अधा कस्याँ बसुँ

भूमिराज देवता भू-लोक छनु । तमु लोली दूधकुण्ड चल

दूध कुण्ड हुन्ना शिवलिङ्ग देवा । त तनरा अधिल कस्याँ बसुँ

शिवलिङ्ग देवा कैलास शिखर । तमु लोली दूधकुण्ड बस

दूध कुण्ड हुन्ना भगवती देवी । त तनरा अधा कसी कन बसुँ

भगवती देवी हुन्ना डाँडा धुरा । तमु लोली दूधकुण्ड बस

दूध कुण्ड हुन्ना नारायण देवा । तनरा ऐतिर कसि कनै चलुँ

नारायण देवा बैकुण्डलोक । तमु लोली दूधकुण्ड चल

दूधकुण्ड हुन्ना सूर्य देवा । त तनरा अधा कसेरी काइँ चलुँ

सू्य देवा सर्कलोक । तमु लोली दूधकुण्ड बस

दूधकुण्ड हुन्ना तेत्तीसकोटी देवा । त तनरा अगाडि कस्याँ चलुँ

तेत्तीसकोटी देवा देवलोक । तमु लोली दूधकुण्ड चल

……………………….।

 

गौरा महेश्वरलाई आव्हान गरेर उपस्थित गराउँने फाग

कहाँ रे उब्जीगया गणेश कलश । पञ्चै रे पल्लव उब्जी गया गणेश कलश

कहाँ रे उब्जीया भूमिराज देवा । भूगर्भ उब्जीगया भूमिराज देवा

कहाँ उब्जी गैन धरति माई । सागरै उब्जी गैन धरति माई

कहाँ रे उब्जीगया सत्यनरायण देवा । सत्यलोक उब्जी गया सत्यनारयण देवा

कहाँ रे उब्जीगया चन्द्र र सूर्य (सुरज) । सर्गलोक उब्जीगया चन्द्र र सूर्य (सुरज)

कहाँ रे उब्जीगया अरुन्धती ऋषि । राती माटी उब्जीगया अरुन्धती ऋषि

कहाँ रे उब्जीगया तेत्तीसकोटी देवा । देवलोक उब्जीगया तेत्तीसकोटी देवा

कहाँ रे उब्जीगैन कालीकैली गाई (गाय) । कैलास उब्जीगईन कालीकैली गाई

कहाँ रे उब्जीगया वेदुवा बामुन । काशिमाइ उब्जीगया वेदुवा बामुन

कहाँ रे उब्जीगया मंगलामुखी  । गुजरात उब्जीगया मंगलामुखी

कहाँ रे उब्जीगैन पञ्चैकन्या कुमारी । नगर उब्जीगैन पञ्चैकन्या कुमारी

कहाँ रे उब्जीगय वड रे पीपल । जमुनामाइ उब्जीगया वड रे पीपल

कहाँ रे उब्जी गई विष्णुकी गादी । शेष शय्या उब्जी गई बिष्णुकी गादी

कहाँ रे उब्जीगया शेषज्यूकी गादी । समुद्र उब्जीगया शेषज्यूकी गादी

कहाँ उब्जीगया चतुर्मुखी ब्रह्मा । कलमफूल उब्जीगया चतुर्मुखी ब्रह्मा

कहाँ रे उब्जीगयो कमलैको फूल । विष्णुनाभी उब्जीगयो कमलैको फूल

कहाँ रे उब्जीगया हिमालय राजा । पर्वत उब्जीगया हिमालय राजा

कहाँ रे उब्जीगैन मैनावती रानी । हिमशिखर उब्जीगैन मैनावती

कहाँ रे उब्जीगया महेश्वर गुसाइँ । कैलाश उब्जीगया महेश्वर गुसाइँ

कहाँ रे उब्जीगया लोली रे गमरा । हिमालय राजाघर उब्जीगई लोली रे गमरा

 

…………………………………. श्रीखण्ड, चौकी, ताम्रपत्र, चाँदीका टुक्रा (गिणुवा), काशी विश्वनाथ, शैलेश मल्लिकार्जुन, सेतुवन्ध रामेश्वर, अमरनाथ, ऊ कारेश्वर, उज्जैन महाकाल, केदारनाथ, सौराष्ट्र सोमनाथ, परल्या बैद्यनाथ, डाकिनी भीमशेकर, पशुपति नाथ, घुस्मेश, त्र्यम्वकेश, नागेश, सिट्टी संसार……………..लाई समेत उब्जाउँने वा पुकार्ने (आव्हान गर्ने) ।

 

मंगलमय फाग सँग-सँगै ब्राह्मणद्वारा गौरी पूजनको कार्यक्रम चलि रहन्छ । गोराको रुपमा धानखेतबाट सौं धास ल्याएर पार्वतीको आकार बनाइन्छ । त्यसपछी डालोमा हालेर टाउको र हात डालो बाहिर छाडिन्छ । त्यसपछी बिभिन्न गरगहना र कपडाले सजाइन्छ । पूजाविधी विधी-विधान अनुसार भै रहन्छ । कन्यादान गरिदाको सम्पुर्ण कार्यविधी गरिन्छ । जस्तैः- कन्या (गौरा) लाई आभुषण लगाउँने, कपडा पहिरने र सृंगार-पटार गर्ने आदि । वरको रुपमा प्रतिकको रुपमा स्थापित महेश्वरको मुर्तिलाई जन्ती आगमन झैँ सेवा सत्कार गरेर मण्डपमा दुलहाको रुपमा राखिन्छ र विवाहको कार्यक्रम सन्चालन गरिन्छ । हिमालय पुत्री आद्यशक्ति जगत्जगगनी गौराको विवाह महेश्वरसँग गरेर कन्यादान सकेर अमुक्ताभरण सप्तमीको (गौरा-महेश्वर) को पूजा गरिन्छ । आवस्यक पर्ने पूजाविधी सकेर महिलाहरुले सप्तम्या लगाएर मात्र बेलुकाको खाना खाने गर्दछन ।

 

हिन्दूधर्ममा प्रतेक तिथी बारमा कुनै न कुनै पर्व तथा तिहार आईरहन्छ । चाडपर्व, रितिरिवाजले गर्दा नेपालको आफ्नै मौलिक पहिचान देखिन्छ । नेपाल बहुसांस्कृतिक, बहुभाषिक, बहुभार्मिक, बहुजातीय देश भएको हुनाले यहाँको धर्म, संस्कृति, समाज, आफैमा ऐतिहासिक महत्वको  छ । पूरुषले लगाउँने जनै झैँ गौरा पर्व मनाउँनेहरुले पनि घाटीमा लगाउने दूब्घागो जीवनपर्यन्त लगाउँने गर्दछन । हिन्दूलाई तागाधारीको रुपमा स्विकार गरिन्छ । तागाधारीको सजीव प्रधानता गौरापर्व मनाउँने संस्कारमा देखिन्छ । जनैपूर्णिमा अर्तात रक्षबन्धन खास गरेर पूरुषहरुका लागि मनाइने पर्वका मानिन्छ भने महिलाहरुको तागाधारी पर्वका रुपमा गोरा मानिन्छ । जनैधारण गर्ने विशेष समारोहलाई यज्ञोपवित वा ब्रतबन्ध भनिन्छ । खास गरेर हिन्दू र बौद्ध धर्ममा तागाको विशेष महत्व देखिन्छ । ज्ञान, कर्म, रक्षा, संस्कार र स्नेहको रुपमा जनै पूर्णिमाको महत्व छ । ब्रतबन्ध गरेका तागधारीले प्रतेक वर्ष जनैपूर्णिमा दिन नयाँ जनै फेर्ने गर्दछन । त्यसैले जनैपूर्णिमाको दिनलाई ऋडितर्पणी वा ऋषिपूर्णिमा पनि भन्ने गरिन्छ । दिदी बैनीले दाजुभाइको रक्षा तथा स्नेह जताउँनको लागि नाडी (हात) मा राखी बाँध्ने चलन छ । क्वाँटी खाने चलन पनि सोही अवसरमा गरिन्छ । जसरी जनै धारणको अर्थ आयु, बुद्धि, तेज, बल, यश प्राप्त गरी रोग, शोक, बिध्नबाँधा र अकाल मृत्युबाट सुरक्षित भइन्छ भन्ने विश्वास गरिएझैँ गोराको दुब्धागो लगाउँनाले महिलालाई पनि अर्थ आयु, बुद्धि, तेज, बल प्राप्त गरी रोग, शोक, बिध्नबाँधा, जीवनारम्भ तथा अकाल मृत्युबाट सुरक्षित गराउँनु सकिन्छ भन्ने मान्यता रही आएको छ । यहीँ पर्वमा महिलाहरुले पुरानो दुब्धागो फेर्ने र नयाँ लगाउँने गर्दछन् ।

 

 (सप्तम्या लगाउँदाको मन्त्र- सप्तमासोपवीतं त्वां सप्तलोक महेश्वरम् । सूत्रग्रन्थस्थितं नित्यं धारयामि स्थिरोभाव ।।)

 

गौराष्टमी वा दूर्वाष्टमी वा अठ्यावाली

महिलाले चोखो भोको (ब्रत) रहने यो नै अन्तिम दिन हो । यसदिनको गोरालाई महाकाली वा जमुनाको रुपमा पूजिन्छ । यसले जीव, प्रकृति र ईश्वरीय सत्तालाई स्विकार गरिएको छ । कन्याको रुपमा षष्टीका दिन भित्र सजाइएकी गोरा (डालोमा सजाइएकी) लाई टाउको राखेर फाग गाउदै पुजा गर्दै खलामा लगिन्छ । अर्थात यसलाई बाहिरी विवाह भन्दा हुन्छ । यसपर्वलाई अठ्यावालीको भनिन्छ । फाग गाएर देवी देवताको आँगनमा दिनभरी बिरुडाले प्रतिमाको पुजा गरिन्छ । जसलाई गौरा (पार्वती) को रुपमा श्रद्धापुर्वक सम्मानपुर्वक ढोगिन्छ । गोराको पुजनमा महेश्वर र गणेशको पनि पुजाआजा गरिन्छ ।

 

फागः-

चल तमु लोली गमरा देवी खली पटकन चल । खली पटकनी चलन्या ध्यूँ त ब्रह्मा विष्णु

बसिर्यान चल तमु……………………..

तमरी त खली पटकनी दुबौइ चौड ब रैछ । खली जति पटकनी झान्थ्युँ त  तेत्तीसकोटी देव वसिर्यान

खली जति पटकनी चौरासीसिद्ध बसिर्यान । चौरासीसिद्ध कलापाट बसिर्यान तमखोली पटकनी चल

(गोरालाई बाहिर ल्याएर आँगनमा झुलाउँने गरिन्छ ।)

हिङलाकी भोखि गोरा हिङलो खेलन्नीन । बाहिर जाना भितर जाना हिङलो खेलन्नीन

हिङलो खेलन्नी लोली पोटलो पहिरन्नी । कसुनु देवा बोली पोटलो पहिरन्नी

भूमिराज देवा बोली पोटली पहिरन्नी । हिङलो खेलन्नी लोली पोटली पहिरन्नी

निङलाशैनी माई बोली पोटली पहिरन्नी । हिङलो खेलन्नी लोली पोटली पहिरन्नी

हिङलाकी भोकी गोरा हिङलो खेलन्नी

 

गोराका खालामा गाइने अठ्यावलीः-

पहिलो सार

नाबिजि अन्तर धम धमाकार, धम धमकार भया अवतार

ढकनाका गिणुवामाइ मेदानी उपजि, बीचका गिणुवामाइ मन्तालोक उपजि

टुपापा गिणुवामाइ सर्गलोक उपज्यो, छिटमिटा पडिबरे मेर मन्दिर उपज्यो

रगतकी नन्दिको गंगा जमुना उपज्यो, परेवा नजरले चन्द्र सूर्य ज्योतीले भरिया

रथले भरिय तपले भरिया, काँ रे उब्ज्या लोली काँ रे मयासर

सुनका गिणुवा भितर च्यौती मतासर उलज्या, तिल बोट सौ बोट लोली गोरा उब्जी

कहाँ रे उब्जा शिव लिङ्ग देवा, कहाँ रे उब्जा श्री केदार देवा

गोफा जति उब्ज्या श्री केदार देवा, काँरे उब्जिया भूमिराज देवा

उब्ज्या गुसाइ भुमिराज दियडा भरिया, होमले भरिया फूलले भरिया

धूपले भरिया कहाँ रे उब्जिया जगन्नाथ देवा, गुफा उब्ज्या जगन्नाथ यज्ञले भरिया

हुमले भरिया कहाँ रे उब्ज्या हुनैनाथ देवा, औता लेक उपजिया हुनैनाथ देवा

शालिकराम उब्जिया बाशुलिङ्ग देवा, राता काँडा उब्जिया कठमड्या देवा

वेदकोट उब्जिया वैजनाथ देवा, सिद्धकोट उब्जिया सिद्धनाथ देवा

तेत्तिस कोट उब्जिया तेत्तिसकोटी देवा, पञ्च कोट उब्जिया पञ्चकोटी देवा

 

दोश्रो सार

पैला मास मैना रानी फूल फूलिज्ञ्यान, एकदिन भयो रानी दुवै दिन भया

चारै दिन भया रानी तट गैन, गंगातट गैन रानी आङ शुद्धि गर्यो

आङै शुद्धि भैन रानी जिभि शुद्ध भैन, आङै शुद्धि गरिबरे घरै चलिआइन

सासु जति सासु मेरा विनति मेरी सुन (शुण), सुजाइकि लुकुडि, मेरी कै स्वाँड (तरकारी बारी) फिँजु

पाँचै दिन भया रानी गंगाघाट गैन, आङमुनि धोयो रानी लुकुडि (लुङ्ङि) सुकाइन

मुड्डो (मुणो) धोयो रानी लुकुडि सुकाइन, लुकुडि सुकाइन रानी धेरै चलि आइन

जिमी शुद्धी भैन रानी फूल टिपी ल्याइन, निला निला फूल टिपी सुरज चढाइन

जसा तसा फूल टिपी माथा पैरी ल्याइन, जुवार्या सुरज सासु क्यारे वर दिन्ना

जुवार्या सुरज ब्बारी माग्यो वर दिन्ना, छै दिन बया रानी मौवै शुद्धी भेन

सातै दिन भया रानी देवता शुद्धि भैन, आठै दिन भया रानी पितर शुद्धी भैन

एकै दिन भया रानी दुवै दिन भया, तिनै मैना भयो रानी गाथा पिडा भै छ

सितो जति भात खाया वद्दु रनु पस्यो, थोपा जति पानी खाया रुघा लाग्गु पस्यो

………………………….

 

अठ्यावाली सकेपछि उपासकहरु डालोको विरपरि बसेर घुम्टो हाली गोर्या कथा सुनाउने र सुन्ने गर्दछन । बिरुडालाई रेसमी कपडामा पोको पारेर गणेश मानी म्वाई खाएर विहान देखि पुजिएको डालो (महेश्वर-गौरा) लाई टाउकोमा राखी पालै पालै लोरी खेलाउने गर्दछन । लोरओ खेलाउदा गाईने गीतः-

 

हल्लोरी वाला हल्लोरी-२ । यो मेरो वालो लिसिन लोट्या

ज्यू हो लिसिन लोट्या । सासु बरालीले हेरी दिथ्यो

बाला हेरी दिथ्यो । हल्लोरी वाला कल्लोरी-२

नन्दु बरालीले हेरी दिथ्यो । वाला हेरी दिथ्यो

नन्दु बरालीका माइत । वाला माइत

हल्लोरी वाला कल्लोरी-२ । ढुङ्गा नाँच्या मुढा नाँच्या

मेरी लोली नाच नाइ आयो । नाच भौ खेल भौ लोली गमरा

धै तेरो कसो नाच । हल्लोरी वाला कल्लोरी-२

जसि नाचली राजाकी रौतेली । उसी कनाइ मेरी लोली नाच

हल्लोरी वाला कल्लोरी-२

 

नाच्दा डालो प्रायः ब्रतालुले श्रद्धापुर्व प्रतेकले पालै-पालो टाउकोमा राखेर नचाउने गर्दछन । अशक्तहरुले पनि एकपटक टाउकोमा राखेर सम्मानपुर्वक ढोग्छन र टाउकोमै डालो राखेर फाग गाइन्छ ।

फागः-

ब्रह्मा मुरारी अब कुश लिङ्गम् । निर्मल भावित शोभित लिङ्गम्

रावण गर्व विनासित लिङ्गम् । दक्ष सुयज्ञ विनासित लिङ्गम्

 

त्यसपछि गोरालाई यथास्थानमा राखिन्छ । डालोलाई बीचमा पारेर ब्रतालुले कान्छी औला समातेर “औल्या खेल” खेल्छन । औल्या खेल सकिएपछि बिरुडा फटकाउने कार्य हुन्छ । फटकाउँदा पुर्व देखि प्रारम्भ गरेर सबै दिशाहरुमा गोरा पुजन गरिएका बिरुडालाई सफा-सुग्घर तन्नामा राखेर माथि आकाशतिर फाल्ने गरिन्छ र ब्रतालु महिलाले सगुनको रुपमा “फल अर्थात प्रशाद” सम्झेर थाप्ने गरिन्छ । फटकाएको फल पाउनु सौभग्यको प्रतिकको रुपमा सम्झिन्छ र ब्रतालुले त्यहीँ फल चाखेर त्यसदिनको ब्रत तोड्ने प्रचलन छ । त्यसपछि दुब्धागो (तागा धारीले लगाउने) हो विशेष रुपमा महिलाकै लागि बनाइएको हुन्छ र षष्टीको दिन देखि भितल्ली गोरामा सप्तम्यासँग राखिएको हुन्छ त्यसैलाई आ-आफ्नो छानेर लगाउने कार्य हुन्छ । दुब्धागो लगाउने कार्य नै गोराको प्रमुख उद्देश्य हुन्छ । पूरुषले जनैपुर्णिमा जनै फेर झैँ महिलाले दुब्धागो गोरामा फेर्ने गर्दछन । दुब्धागो लगाउँदाको मन्त्रः-

 

शिव गौरी जगन्नाथ सर्वसौभाग्यदायक । गृहणीयां दोररुपं त्वां पुत्रपौत्रप्रवर्द्धनम्

त्यसपछिः हर पापान सर्वाणी तुष्टिंकुरु दयानिधे । प्रशन्नः सन्तुमायान्तः दीर्धायुः पुत्रदो भवः

 

दुब्धागो फेर्ने र लगाउने कार्य सम्पन्न भएपछि गोरा पुजनकार्यमा प्रयोग गरिएका बिरुडालाई मिसाएर आफ्नो घरका जेष्ठ सदस्यबाट टाउको (मुण्डो) पुज्ने कार्य हुन्छ । सबैभन्दा पहिला घरका सदस्यालाई पुजी सकेपछी गाउँघरका सबैलाई पालैपालो पुज्ने गरिन्छ । गोराको ब्रत शिव-पार्वतीको ब्रत मात्र नभएर यसपर्वले एकआपसमा भाईचारा सम्बन्धलाई उजागर गर्दछ । मेलमिलाप, सदभाव, प्रेम, भेटघाट आदिको शन्देश समाजमा छर्न ठूलो मद्दत गर्द\छ । यसरी गोराले एकअर्काबीच सुमधुर समन्ध कायम गर्दछ । यसको महत्व धार्मिक, सांस्कृतिक, ऐतिहासिक देखिन्छ । नेपाल मात्र नभएर भारतका केही क्षेत्रमा यो पर्व महान पर्वको रुपमा मनाइने हुँदा यसको अन्तर्राष्ट्रिय महत्व छ । श्रद्धा, भक्ति, आस्था, विश्वासमा शुद्धता, पवित्रता, ज्ञान बल, बुद्धि लगायत शारीरिक तथा मानसिक शुद्धिको गरिमा बोकेर सदियौं देखि यो पर्व हर्ष र उल्लासका साथ मनाइदै छ । कृषि महत्वलाई सर्वोपरि स्विकार गरेर पञ्चबिरुडालाई पवित्र स्थान दिइएको छ । स्वाश्थ्यबरधक हुने विस्वासका साथ अंकुरण भएका बिरुडालाई देवी देवता र आफन्तजनलाई पूजेर मात्र प्रशादीको रुपमा खाने गरिनुले सामाजिक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई पुस्तेनी संरक्षण गरिएको छ ।