कविता/ बालाई सम्वोधन

विक्रम पवन परियार, रामेछाप

बा !
तपाईंका छोराहरू मध्ये
तपाईंलाई सबैभन्दा बढी कुन छोराको विश्वास लाग्छ र ?

 

जुन छोराले तपाईंको विश्वास नतोडेको होस्
तर बा ! यो नसम्झनू कि
जन्मेकाहरू सबै देशभक्त हुन्छन्
हो बा ! तपाईंको सन्तानहरू जो छन्
तिनीहरू तपाईं जस्तै भैदिन्थे भने
यो देश आधा घाँटी छिनिएको कुखुरा जसरी भुत्रुक भुत्रुक छट्पटाई रहेको हुन्थेन ।

 

पत्याउनु होस् बा !
उदाहरणहरू धेरै छन्
नियालेर हेर्नु भो भने देख्नु हुनेछ जूनको बीच भागको कालो धब्बा
जुन दागले कुमारी जूनको खुसी लुटेको छ ।

 

किन पिस्दैहुनुहुन्छ भाग्यको सिलौटामा बुढो जिन्दगी
देखिरहनु भएकै छ साँडेको जुदाइ बाछाको मिचाइ ।

 

तपाईं सपना केका लागि देख्नु हुन्छ बा ?
जुन सपनाले तपाईंलाई आघात चोट दिइरहेको छ ।

 

मेरो अनुरोध छ बा !
नघोप्नुस् सियोका तिखा टुप्पाहरूले आफ्नै मुटु
नउधार्नुस् मुटु छोपिरहेको छाती
नफाल्नुस् उपहारस्वरुप पाएको जिन्दगी
हो बा छोडि दिनोस् टाउको दुखाउन
किन कि सपनाहरू मान्छेको पेवा हुँदैनन् ।

 

हेर्दाहेर्दैको आकाश अध्यारो भैदिन्छ
र आफ्नो सुन्दरता देखाउँछ
स्पर्श गर्दागर्दैको घामको किरण
हाम्रो जिन्दगीको आयु लिएर एक फन्को मार्छ
र घटाउँछ हामी बाँच्ने समयको दुरी ।

 

बा ! यसरी
किन निठुर हुँदैछ हामी बाँचेको समय ?
जस्ले तपाईंलाई बुढो बनाउँदै छ
तपाईं र म बीच किन तगारो बनेको होला घडीको काँटा ?
बारम्बार यसरी किन हिँडाइ रहन्छ भिरको बाटो ?
जुन भिरबाट खसेर मरेको थियो लाल बहादुर ।

 

कसरी सहनु हुँदैछ बा ! घामको चुम्बन रु
जसले प्रत्येकदिन तपाईंको खुसी खोसेर लान्छ ।

 

जरुर बा !
आज त जवाफ दिनुस् न
तपाईंको हातको हत्केलामा कोरिएका रेखाहरूले
तपाईं कै भाग्यलाई संबोधन गर्छ
या सन्ततिको भाग्यलाई ?

 

भन्नुस् त बा !
मेरालागि खुम्चिएका निधारबाट
किन यत्तिका पसिना बगाउनु हुन्छ ?
जुन पसिनाहरूले पखाल्दै छ तपाईंको जिन्दगीको रङ्ग ।

 

म तपाईंले सोचेजस्तो देशभक्त बन्न सकिनँ भने !
त्यतिबेला तपाईंले देख्नु भएको सपनाको हत्यारा को हुन्छ ?
समय या म ?

 

तपाईंको सन्तानहरूले
तपाईंलेजस्तै नसोचि दिएपछि
कहिल्यै नतन्कने गरी खुम्चिँदै गएको न हो
सिमानामा उभिएको मेरो देश ।

 

हुन त बा ! तपाईंको परिश्रम बिना
सायद भरिने थिएन होला
रित्तो बोराजस्तो मेरो भोको पेट
मलाई डोर्याएर हिँडाउँदा हिँडाउँदा कमजोर भएका हुन् तपाईंको आँखा
आमाहरूको पाठेघरले बाहरूको वीर्यलाई
स्वागत नगर्ने हो भने
सायद मेरो जन्म हुने थिएन

 

फलाम चपाउने बा का दाँतहरू
छुट्छु नभनेरै छुट्यो गिजाबाट
जसरी छुटी गएको थियो हत्केलाबाट सानो आकाश
तपाईं बिना कुन छोरा हुर्कियो रु
न म नै हुर्किएएको हुँ
मलाई सबसब थाहा हुँदाहुँदै पनि
तपाईंको आसको केन्द्रविन्दु ढल्यो भने !
यतिबेला तपाईंको आँखाले मलाई सम्झन्छ ?

 

कुनैदिन एक हातमा हरियो पासपोर्ट र
अर्को हातमा डिग्रीको सर्टिफिकेट बोकेर
यो देश छोडेर मुग्लान जानु पर्यो भने !
त्यतिबेला,
तपाईंको आँखाले मलाई कसरी बिदाई गर्छ बा ?