कांग्रेस सांसद भन्छन् : भ्रष्टचारीले चुनाव लड्न पाउनुपर्छ

सांसद खड्का भन्छन् ‘हामीलाई पार्टीले संशोधन हाल्न लगाएको हो’

नेपाली कांग्रेसका सांसदहरूले भ्रष्टचारीले पनि चुनाव लड्न पाउनु पर्ने बताएका छन् ।

 

कांग्रेसका उन्नाइस सांसदहरूले प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचन सम्बन्धी विधेयकमा संशोधन दर्ता गरेका छन् । विधेयकको दफा १३ मा उम्मेदवारको अयोग्यता सम्बन्धी प्रावधान राखिएको छ । दुवै विधेयकको दफा १३ को उपदफा ‘ङ’मा भ्रष्टचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायतका कसुरमा सजाय पाएको व्यक्ति उम्मेदवार बन्न नपाउने प्रावधान राखिएको छ ।

 

यसअघि पारित भएको राजनीतिक दलसम्बन्धी विधेयक र स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयकमा यही व्यवस्था राखिएको थियो । दुवै संविधानसभाको निर्वाचनमा पनि यही प्रवाधान राखिएको थियो । यो प्रावधानमा नेपाली कांग्रेसका सांसदहरूले संशोधन दर्ता गराएका छन् ।

 

को को हुन् संसोधन प्रस्ताव दर्ता गर्ने सांसद
संशोधन राख्ने सांसदहरूमा आनन्दप्रसाद ढुगांना, सिताराम महतो, राधेश्याम अधिकारी, भरतबहादुर खड्का, पुष्कर आचार्य,किरण यादव लगायत रहेका छन् । उनीहरूले यस्तो प्रावधानमा समय तोक्नुपर्ने माग राखेका छन् । तीन वर्षको समय राख्नुपर्ने उनीहरूको प्रस्ताव छ । कांग्रेस सांसदहरूले संशोधन राखेकै कारणले विधेयक अघि बढ्न सकेको छैन ।

 

‘हामीलाई पार्टीले नै संशोधन हाल्न लगाएको हो । यसमा मेरो धेरै भन्नु केही छैन।’ कांग्रेस सांसद भरतबहादुर खड्काले भने, ‘म भ्रष्टचारलाई बढवा दिने पक्षमा छैन तर यो प्रस्तावको नैतिक जिम्मेवारी लिन्छु ।’  जुनसुकै व्यक्तिले पनि सजाय पाएपछि उसलाई सुध्रने मौका दिनुपर्ने खड्काले बताए ।

 

अर्का संशोधनकर्ता सिताराम महतोले यसको मापदण्ड तोक्नुर्पेमा पार्टी रहेको सेतोपाटीलाई बताए । ‘यसको लागि छलफल गरेर एउटा सीमा तोक्नुपर्छ ।’ उनले भने, ‘हामीले पार्टीकै सल्लाहमा संशोधन दर्ता गरेको हो ।’ ‘यो पार्टीको निर्णय हो । पार्टीको निर्णय अनुसार नै हामीले संशोधोन राखेका हौं । ’अर्की संशोधनकर्ता किरण यादवले भनिन्,‘ पार्टीभित्र पनि यस विषयमा छलफल चलिरहेको छ । अहिले पार्टी दुई नम्बर प्रदेशको निर्वाचनमा लागेको छ । उम्मेदवार छान्न हामी व्यस्त छौ ।’

 

प्रधानमन्त्री पनि भारत भ्रमणबाट भर्खरै पर्खिनुभएकाले पार्टीभित्र छलफल हुन नपाएको उनले बताईन् । ‘एउटा व्यक्तिले जति सजाय भोग्नुथियो त्यो भोगेपछि समाजमा फर्किन पाउनुपर्छ ।’ उनले भनिन् ‘उसलाई बहिष्कार गर्नुहुँदैन उसलाई व्यक्तिगत स्वतन्त्र दिनुपर्छ ।’ एउटा व्यक्ति सधैं अपराधी हुन नसक्ने भन्दै सजाय पाइसकेपछि उसलाई समाजमा पुनस्स्थापित गराउनपर्ने बताईन् । पार्टीले यही कारणले संशोधन हाल्न लगाएको हो र आफ्नोे पनि धारणा यही रहेको उनले बताईन् ।