२ नं प्रदेशमा पहिलो बन्ने माओवादी केन्द्रको दाबी

वीरगन्ज । माओवादी केन्द्रको वीरगन्जमा सम्पन्न सचिवालय बैठकमा माओवादी नेताहरूले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो दाबी गरेका छन् ।

 

बैठकमा प्रदेश २ को स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी पहिलो बनाउने भन्ने रणनीतिक विषयमा छलफल भएको छ । पार्टीभित्र जिम्मेवारी बाँडफाँट र संगठनात्मक व्यवस्थापनबारे पनि बैटकमा छलफल भएको पार्टीले जनाएको छ ।

 

बैठकपछि पार्टीका केन्द्रीय नेताहरू उपस्थित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह चुनावबाट पार्टीलाई प्रदेश २ मा पहिलो दल बनाउने किसिमले अघि बढ्ने निर्णय भएको बताए । ‘यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबैसँग तालमेल हुन सक्छ र हाम्रो पार्टी यस प्रदेशमा सबैभन्दा ठूलो पार्टी हुनेछ,’ दाहालले भने, ‘प्रदेश र संसद्को निर्वाचन एकैपटक हुने मिति तोकिएको छ, मौसमका कारण मात्र मिति केही तलमाथि परेको छ, एमाले सरकारमा हुँदादेखि नै हामीले भन्दै आएको कुरा हो यो, हाम्रा लागि खुसीको कुरा पनि हो । चुनाव मिति तोकिनु देशको लागि महत्वपूर्ण छ ।’

 

दाहालले आफ्नो पार्टी संविधान संशोधन पक्षमा रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत गएर संविधान संशोधनको विषयमा बोल्न नहुने जिकिर गरे । बाढीपीडित जनताका लागि आफूहरूले राहत बाँड्दै आएको जानकारी गराउँदै उनले बाढीपीडित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेर सरकारमार्फत काम गर्ने कि प्राधिकरण बनाएर जिम्मा दिने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताए ।

 

पत्रकार सम्मेलनमा पार्टी नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अमिक शेरचन, जनार्दन शर्मा, वर्षमान पुन, अग्नि सापकोटा, प्रभु साह, दिनानाथ शर्मा, उर्मिला अर्याल, देव गुरुङलगायत उपस्थित थिए ।

 

सचिवालय सदस्य अर्यालले माओवादी केन्द्रमा अन्य दलबाट आएका नेतालाई कस्तो स्थान दिने भन्ने विषयमा बैठकमा महत्वका साथ छलफल भएको नागरिकसँग बताइन् । अहिले नेतालाई ठाउँ दिनका लागि माओवादी सचिवालयको आकार बढाउन लागिएको छ । पार्टीले हेडक्वार्टर भन्दै आएको प्रमुख संरचनालाई अहिले सचिवालयमा परिणत गर्न लागिएको अर्यालले बताइन् । उनका अनुसार माओवादी केन्द्रीय सचिवालय सदस्य संख्या सयभन्दा बढी हुनेछ ।

 

पार्टीले प्रदेश २ का लगभग धेरै तहमा उम्मेदवारको टुंगो लगाइसकेको माओवादी केन्द्रका नेताले बताए । केही ठाउँमा मात्र उम्मेदवार टुंग्याउन बाँकी रहेको उनीहरूले जानकारी दिए ।