बुद्ध, चाणक्य, मार्क्स र मदन

माक्र्सवादको नेपाली संस्करण देख्न पाएको भए सायद अम्बेडकर पनि भिन्नै निष्कर्षमा पुग्थे होला ।

दयालबहादुर शाही

भीमराव अम्बेडकरले २०१३ मंसिर ५ मा चौथो विश्व बौद्ध सम्मेलनका अवसरमा दिएको प्रवचनको नेपाली अनुवाद नागरिक दैनिकको भदौ ५ गतेको अंकमा पढेपछि केही नलेखिरहन सकिएन । प्रवचनमा साम्यवादको मूलतत्व माक्र्सवादभन्दा पनि बौद्ध दर्शन हो भनिएको छ । धार्मिक संवेदना र धर्मदर्शनलाई कम्युनिस्टविरुद्ध प्रयोगको निरन्तरता हो, त्यो पनि । समाजवादी क्रान्तिका दौरानमा भएका गल्तीलाई मानव अधिकार र लोकतन्त्रका नाममा प्रहार भइरहेको छ नै । माक्र्सवादको दार्शनिक पक्षलाई गलत पुष्टि गर्ने आजसम्म कुनै दार्शनिक जन्मिएको छैन । बुद्ध दर्शनको आलोचना र त्यसको विकल्पबारे चाणक्यले बोलेका छन् भने माक्र्सवादको सारको रक्षा र प्रयोगको दौरानमा रहेका कमीकमजोरीको वस्तुगत समीक्षा र रचनात्मक विकास मदन भण्डारीले गरेका छन् । माक्र्सवाद र बुद्ध दर्शनको प्रारम्भिक प्रस्ताव, त्यसमाथिको आलोचनात्मक चेत र रचनात्मक विकासबिना साम्यवादको मूलतत्व खोज्नुकोे औचित्य रहँदैन ।

 

माक्र्सवाद र विनयपिटकको केही हदसम्म दोभानजस्तो हो, जबज । माक्र्सवादको यो नेपाली संस्करण देख्न पाएको भए सायद अम्बेडकर पनि भिन्नै निष्कर्षमा पुग्थे होला ।

 

कुन परिस्थितिले बुद्ध जन्मायो, अनुयायीहरूको स्वार्थ, भक्ति र प्रशस्तिले बौद्ध दर्शन र बुद्ध साहित्यलाई कति सुदृढ पारेको छ, हेर्नुपर्छ । समाजबाट लगभग अलगथलग, एकप्रकारले परित्यक्त अवस्थामा पारिएका र सानो दायरामा रहेका भिक्षुहरूको अस्तित्व, अनित्य र वैराग्यको सूत्र रटानका पछि जटिलकायको समाज र राजनीति लतारिन सम्भव छैन । प्रेम, सद्भाव र न्यायको खिलापमा पहिलो र दोस्रो विश्वयुद्धकालमा गैरकम्युनिस्टहरू पनि कम्ती उत्रिएका थिएनन् । सशस्त्र संघर्षबाट नभई जनताको मतबाट कम्युनिस्टहरूले क्रान्तिपूर्व सरकार सञ्चालन गर्ने अवधारणा अब पुस्तकमा सीमित छैन, बरू जीवनशैली बनिसकेको छ । तैपनि माक्र्सवादलाई हिंसाको दर्शनका रूपमा उभ्याउने सिलसिला रोकिएको छैन । इतिहासमा बुद्ध दर्शन पनि परिष्कृत हुँदैआएको छ । माक्र्सवादको पुनःव्याख्या पनि भएको छ । जति परिष्कृत भए पनि बुद्ध दर्शन हिंसाको पक्षपाती नभएजस्तै माक्र्सवादले श्रम र श्रमजीवी वर्गको पक्ष लिन छाड्दैन ।

 

व्यक्तिको आध्यात्मिक उडान तुष्टीकरण मात्र हो । समाजको रूपान्तरणका लागि संगठित राजनीतिक दल, सचेत जनसमुदायको समर्थन र राज्यको सकारात्मक भूमिका अपरिहार्य हुन्छ । असल राजनीतिको विकल्प न मुठ्ठीभरको विरक्ति हुन सक्छ, न केही थान अगुवाहरूको मोजमस्ती नै । परिवर्तन जनताको राजनीतिबाट सम्भव छ । असली राजनीतिको महत्वमाथि जोड दिँदै चाणक्य भन्छन्, “राज्यमा राजाको शक्ति ध्वजा मात्र हो, राज्यको असली शक्ति ती मन्त्रीका हातमा हुन्छ, जसले जनताको विचारलाई दृष्टिमा राखेर राज्य सञ्चालन गर्दछन् ।”

 

आफैँले खडा गरेको मगध साम्राज्यको महामन्त्रीको पद अस्वीकार गर्ने क्रममा राजनीति सुधार्न र समाजलाई उठाउन राजनेताको भन्दा ठूलो भूमिका स्वार्थभन्दा माथि उठेका बुद्धिजीवीहरूको हुने सत्य र सही विचारको महिमामाथि प्रकाश पार्दै राजा चन्द्र गुप्तलाई चाणक्य यसरी सम्झाउँछन्, “मैले महामन्त्रीभन्दा पनि महत्वपूर्ण कार्य गर्नुछ, चन्द्र गुप्त । त्यो कार्य हो, ज्ञानको विस्तार । शास्त्रको उद्धार । मानव समाजको सही सञ्चालन विद्याको उपार्जनमा लागेका विद्वान् र अध्यापकले प्रतिपादन गरेका विचारले नै गर्छन् ।”

 

कुनै पनि विचारले समर्थक र अनुयायीहरूको साथ र समर्थनको पोषण पाउनु र तिरस्कार र आलोचनाको मार खप्नु नियमित आकस्मिकता हो । बुद्धको विचार, तिनको संवाहकका रूपमा रहेको दर्शन, साहित्य र तिनका अभियन्ता र अनुयायीहरूले पनि यस्ता सौभाग्य र दुर्भाग्य दुवैसँग साक्षात्कार हुनुपरेको इतिहास छ । बुद्ध दर्शन र त्यसको प्रयोग क्रममा समाजलाई परेको ऐँठन हठाउन शास्त्रको उद्धार आवश्यक परेकाले चाणक्यले महामन्त्री हुन अस्वीकार गरेको देखाएको छ, सत्यकेतु विद्यालंकार लिखित उपन्यास चाणक्यले । हुन पनि बुद्ध जीवनशैलीमाथि चाणक्यको आलोचना तर्कपूर्ण छ । उनी चन्द्र गुप्तलाई सम्झाउँदै भन्छन्, “यस आर्यभूमिलाई नै हेर । यसमा कस्तो अद्भुत विचार यस समय प्रचारित भइरहेको छ । ससाना बालभिक्षुहरू पीतवस्त्र धारण गरेर बाटामा घुमिरहेका देखिन्छन् । हातमा भिक्षा पात्र बोकेर हिँडिरहेका देखिन्छन् । यस्तो भिक्षु जीवन मानव समाजको हित र कल्याणका लागि हो भन्ने उनीहरूले सोच्छन् । जनताले पनि उनीहरूलाई श्रद्धाको दृष्टिले हेर्छन् । किन रु किनभने, स्थविर र भिक्षुहरूले यस्तो जीवनप्रति श्रद्धाको भाव उत्पन्न गरेका छन् । विचार नै यस्तो शक्ति हो जसले समाजको सञ्चालन गर्छ । उत्तम विचारले मनुष्य समाजलाई उच्चतातिर लिएर जान्छ । निकृष्ट विचारले उसलाई तल खसाइदिन्छ । भिक्षु र साधुको पछाडि हिँडेर आर्य जातिको अधोगति भइरहेको छ । भिक्षु जीवन उत्तम हुन्छ । सन्यासीहरू समाजका शिरोमणि हुन्छन् । तर समाजका सबै अंग सबल हुनुपर्छ । वर्णव्यवस्था र आश्रम मर्यादा आर्य जातिको सामाजिक संगठनको आधार हो । यदि चारै वर्ण र चारै आश्रमले आआफ्नो स्वधर्मको पालना गरे भने मात्रै समाजको कल्याण सम्भव छ । ब्रह्मचर्य र गृहस्थको जीवन बिताएपछि मात्रै मनुष्यले वानप्रस्थ र सन्यास आश्रममा प्रवेश गरोस् । पहिल्यै होइन । मैले आर्यको यही मर्यादालाई फेरि स्थापित गर्नुछ । यवनलाई परास्त गरेर र भारतभूमिलाई एउटै शासनको अधीनमा ल्याएर मैले आर्य जातिको शस्त्रशक्तिको पुनरुद्धार गरेको छु । आर्यको शास्त्रशक्तिको पुनरुद्धार गर्ने कार्य अझै बाँकी छ । म अब यही कार्यमा लाग्न चाहन्छु ।”

 

भिक्षु जीवनशैलीको खोट केलाउन सीमित नभई चाणक्यले निकास पनि दिएका छन् । यसका लागि उनले त्रिनीति अर्थात् धर्म, अर्थ र कामको वकालत गरे । उनी भन्छन्, “मनुष्यका लागि धर्म, अर्थ र कामको आवश्यकता हुन्छ । ऊ धनबिना रहन सक्तैन । जीवन निर्वाहका लागि उसलाई धन आवश्यक हुन्छ । शरीर र मनको उन्नतिका लागि आवश्यक पर्ने साधन धनबाटै प्राप्त हुन सक्छ । त्यसैले धन वा अर्थको उपलब्धिबाट जनतालाई विमुख हुन नदेऊ । मनुष्य कामबिना पनि रहन सक्तैन । मानव जीवनमा यसको महत्वपूर्ण स्थान हुन्छ । सुखविहीन तापस जीवन मानव समाजको हित र कल्याणमा बाधक हुन्छ । त्यसैले यी दुवैको भोग गर्नु आवश्यक हुन्छ । तर धर्मको विपरीत हुनुहँुदैन । अर्थ र काम धर्मकाविरुद्धमा नहुने अंशसम्म मात्रै सेवन गर । धर्म, अर्थ र काम एकअर्कासँग सम्बन्धित हुन्छन् । यीमध्ये कुनै एकको उपेक्षा ग¥यो भने पनि त्यसबाट व्यक्ति र समाज दुवैलाई हानि हुन्छ । तीनैवटालाई समान रूपबाट पालना गर्नुपर्छ । अनि मात्र समाज मर्यादामा रहन सक्छ ।”

 

चाणक्यपछि मानव जातिलाई तरंगित पार्ने दार्शनिक कार्ल माक्र्स हुन् । द्वन्द्ववाद र भौतिकवादको पुनव्र्याख्या, मानव समाजको विकासका चरणहरूको वैज्ञानिक विभाजन, श्रमजीवी वर्ग र त्यसको संगठन र तागत, समाज रूपान्तरण र राज्य सञ्चालनमा श्रमजीवी वर्गको भूमिकाको व्याख्या गरेर माक्र्सले पूर्ववर्ती दार्शनिक तथा चिन्तकहरू छेउटुप्पासम्म नपुगेको विषयमा विचारको एक नयाँ क्षितिज उघारिदिए ।

 

माक्र्सवादका कमजोरी औँल्याउने नाममा सबलता र असल पक्षबाट अत्तालिएका जतिको गठजोड जमेको छ । माक्र्सवादसामु आफूलाई फिक्का महसुस गरी यसविरुद्ध षड्यन्त्र गर्ने र पेसा व्यवसायमा तल्लीन जनसमुदायको ठूलो हिस्सालाई गुमराहमा राख्ने र विमुख पार्ने गरिएको छ । माक्र्सवादका कारण हली गोठाला नपाइने चिन्ताले सामन्तवाद चैनले सुतेन भने सस्ता कामदार नपाइने र तिनीहरूमाथिको निर्मम शोषणमा पूर्णविराम लाग्ने भयले पुँजीवादको मुड खराब छ ।

 

यसको मतलब माक्र्सका सबै भनाइहरूलाई वेद मान्ने, कम्युनिस्ट पार्टी वा तिनका नेताहरूबाट क्रान्ति सम्पन्न गर्दा वा राज्य सञ्चालनका दौरानमा भएका गल्ती औँल्याउनु हुँदैन ठान्ने वा गल्ती सच्याउने नाममा माक्र्सवादबाटै विचलित हुने गल्ती भएनन् भन्ने होइन । माक्र्सवादका नाममा, सर्वहारा वर्गको अधिनायकत्वका नाममा, जनताको नाममा, कम्युनिस्ट पार्टीको नाममा एउटै नेता वा केही नेताहरूले लामो समयसम्म अनिर्वाचत रहेरै शासन चलाउने अभ्यासलाई नै समाजवादी व्यवस्था र माक्र्सवादी दर्शनका विशेषताका रूपमा देखाउने गल्ती भए ।

 

मदन भण्डारीले माक्र्सवादमाथि भएका जडसूत्रवादी र विसर्जनवादी हमलाको समीक्षा, माक्र्सवाद आफँैले समयको कसीमा घोटिनुपर्ने अपरिहार्यता र यसको रचनात्मक प्रयोग र विकास गर्ने संस्कृतिको जग बसाले । त्यस अघिसम्म समाजवादको प्रयोगका दौरानमा भएका गल्तीलाई निरन्तरता दिनुलाई नै व्रmान्तिकारिता ठान्ने, सुधारका प्रयासलाई संशोधनवादको घानमा हाल्ने, सुधार चाहने तप्का आफँै कम्युनिस्ट वृत्तबाटै बिटुलिने सिलसिला चलेको थियो । कठमुल्लावाद र विसर्जनवादरूपी दुई राक्षसको आव्रmमणबाट माक्र्सवादलाई बचाएर भण्डारी चिन्तकहरूको महाकुम्भमा तेजिलो प्रकाशपुञ्ज बनेकामा सायद कसैको विमति नरहला । शासन सत्ता प्राप्तिको बाटो निरपेक्ष हुँदैन भनेर सशस्त्र वा निशस्त्र संघर्षको महाविवादबाट कम्युनिस्ट पार्टीलाई जोगाउनु, संसद् पुँजीवादीहरूको मात्र बपौती होइन मानव जातिले हासिल गरेको साझा उपलब्धि हो भनेर माक्र्सवादको अपूूर्णताको पुरताल गर्नु, कम्युनिस्ट पार्टीले क्रान्तिपूर्व पनि जनताको अभिमत पाएर शासन सञ्चालन गर्न सक्छ भनेर समाजवादी अर्थतन्त्रभन्दा तल नओर्लेर कट्टरतामा जकडिएका कम्युनिस्टहरूलाई मिश्रित अर्थतन्त्र अर्थात् केही हदसम्म पुँजीवादी अर्थतन्त्रको पक्षमा उभ्याउनु जवजका युगान्तकारी देन हुन् । मानव अधिकारको सम्मान, बहुलवादको अनिवार्यता, आवधिक निर्वाचन, जनताको जनवादी अधिनायकत्व, कम्युनिस्ट पार्टी र यसका नेता र कार्यकर्ता जनताको परीक्षणको विषय हुनुपर्ने प्रस्थापना, वर्ग रहेसम्म वर्गीय राजनीति दलहरूको वैधानिक हैसियत र प्रतिस्पर्धाको सुनिश्चितता, समाजवादमा संक्रमणसम्म कम्युनिस्ट पार्टी र लोककल्याणकारी राज्यले वहन गर्नुपर्ने कार्यभारको चरण विभाजनजस्ता सझबुझहरू अन्तर्निहित रहेकाले जनताको बहुदलीय जनवाद नै आजको माक्र्सवाद हो ।

 

जबज माक्र्सवाद र विनयपिटकको केही हदसम्म दोभानजस्तो छ । माक्र्सवादको यो नेपाली संस्करण देख्न पाएको भए सायद अम्बेडकर पनि भिन्नै निष्कर्षमा पुग्थे होला । बुद्ध र बुद्ध दर्शनको जति महत्व छ, त्यति नै चाणक्य र चाणक्यले गरेका रचनात्मक आलोचनाको अर्थ छ ।