परदेशी छोराको चिठ्ठी–अामा सानीको हेर विचार गर्नु !

राष्ट्रराज कार्की

प्यारी आमा,
परदेशि छोराको नमस्कार

 

म आउँछु आमा एक दिन डाडाँ घरे साहुको ऋण चुक्ता गर्ने गरि । गाह्रो पिरो अप्ठ्यारो केहि नमाने । छोरा भएपछि सब्बै आफन्त इष्टमित्रलाई छोडेर टाढा जानु पर्दोरहेछ एकदिन । भनिन्छ, आमा घोडा भएपछि पाटन खान्छ छोरा भएपछि परदेश खान्छ साँच्चैरहेछ । राम्रो संग बस्नु आफैलाई सम्हालेर बस्नु मेरो चिन्ता केहि नमान्नु क्या । मलार्इ सन्चै छ । मैले अस्ति तल्ला गाउँको हरिसित तपाइँलाई चोली पठाएथें पाउनु भो भएन ।

 

तपाईको धेरै माया लाग्छ आमा । जति वेला यहाँको मुदिरले गालि गर्छ, त्यतिवेला सानोमा तपाईले गालि गरेको सम्झिन्छु अनि तपाईको धेरै याद आउँछ, जतिवेला भोक लाग्छ तिर्खा लाग्छ अनि सम्झन्छु तपाईलाई । नसम्झेको कुनै पल छैन । साँच्चै तपाई मलाइ कति माया गर्नु हुनथ्यो है । गाउँमा कोहि कसैले केहि खाने कुरा दियो भने आफ्नो मुख वन्दगरि पोल्टामा लुकाएर ल्याई दिनु हुनथ्यो मेरो लागि । सब्बै सम्झिन्छु आमा गाउँ घरबाट टाढा भयो भने औधि माया लाग्ने रहेछ त्यहि गाउँ घरको । यहाँको चिन्ता केहि नलिनु सबै ठिकै छ । बरु आफ्नो ज्यानको ख्याल गर्नु सानिलाई धेरै काम नगर भन्नु,अनि नानी र बाबुलाई सधै स्कूल पठाउनु है आमा । आफु त पढ्न सकिएन, सकिएन तर छोरा छोरीलाई बिदेश गएरै भएपनि राम्रो संग पढाउने मन छ । आफु त लफङ्गो भैयो छोरा छोरीलाई अलि धेरै पढाएर ठुलो मान्छे बनाउने मन छ मेरो । त्यसैले नानी बाबुलाई सधै स्कूल पठाउने गर्नु जे जसरी हुन्छ । तपाईपनि धेरै काम नगर्नु पहिले तपाइँले दुःख गरिसक्नु भो । अब हाम्रो पालो अब तपाईले काम गरेको सुहाउदैन त्यसैले जे हुन्छ हामी गरौँला ।

 

सानिलाई पनि सम्झाउनु आमा आखिर ज्यान छत् सबै छ ज्यान छैन केहि छैन । काम भन्न्े कुरो त्यस्तै हो भैहाल्छ आफ्नो ज्यानको ख्याल गर भन्नु तिन्लाईपनि । अब धेरै दिन छैन आमा सबै जना टाढिएर बस्ने । सायद अबको आउँने दशै सम्म् म घर आइ सक्छु दशै मान्नेगरि । यो बर्षको दशै जसो तसो मनाउनु । दशैको लागि केटा केटिलाई एक दुई जोर लुगा कपडा पारि गाउँको काले संग पठाइ दिउँला । सायद अबको एक महिना पछि उ घर आउँछ होला । उसै संग अलि अलि दशै मान्ने पैसा पठाई दिउँला । जसो तसो घर खर्च चलाउँनु । जिन्दगी यस्तै कहिल्य सुःख कहिल्य दुःख । साँच्चै आमा हामीलाई ऋर्ण दिने ति डाडाँ घरे साहु हाम्रो घरमा आएर वेलावेला किच किच गर्छन हालो है । केहि नमान भन्नु अबको केहि दिनमा तपाइको पैसा छोराले पठाई दिन्छ भनि दिनु ।

 

धेरै पिर मान्ने काम नगर्नु पिरले आफैलाइ कम्जोर बनाउँछ मन बलियो बनाएर बस्नु । मेरो पनि रहर होईन आमा घर परिवारलाई चट्ट छोडेर पराइ देशको टन्टलापुर घाममा हातमा ठेला उठाएर रगत र पसिना बेच्न जाने रहर पक्कै पनि होईन आमा । मेरापनि केहि चाहनाहरु छन त्यसैले हो आमा गैरि खेत अनि सानीको तिलहरी साहुको घरमा बन्धकी राखेर विदेशिनु परेको । अनि गाउँ घरको के छ कस्तो छ खबर काम त सक्नु भो होला । पुरै गाउँ हरियालिले गर्दा रमाईलो देखिएको होला ।

 

अनि हाम्रो घर अगाडि पछाडि पुरै जंगल जस्तो देखिएको होला मकैले गर्दा । अनि वारिमा काँक्रा लटरम्म फलेका होलान है यसपालि पनि । आउँछु आमा एक दिन आँशु बचि हाँसो किनेर सब्बैको ऋर्ण चुक्ता गर्ने गरि । तपाई सोच्नु हुन्छ होला घरमा एउटा सिन्को न उठाउने मान्छे विदेश गएर के गर्ला । तर त्यस्तो होइन आमा म यहाँ आए देखि धेरै जान्ने भएको छु । जिन्दगि के हो भनेर बुझ्ने भएको छु ।

 

एउटा चरिलाई आफ्ना बचेरहरुको चिन्ता भए जस्तै मलाईपनि मेरा केटा केटिको धेरै चिन्ता छ । कसरी पढाउने बढाउने भनेर । भैगो आमा जति कुरा गर्यो कुराकै दुःख हुन्छ । फेरि यो परदेशि मन चाडवाड आयो भने सरलक्क गाउँमा गएर बस्छ । जति फ्रर्काउन खोज्यो उतै गएर अल्झिन्छ । जति सम्हाल्न खोज्या फिटिक्कै मान्दै मान्दैन भन्या । आमा अफगानिस्तानमा मा ठुलो घटनाहुदा तपाईले २ दिन सम्म खानापनि खानु भएन रे मेरो चिन्ताले । धेरै याद आउँछ त्यतिवेला गाउँ घर साथि भाई अनि तपाइहरुको । तपाइहरुको याद आउँदा बोलाउँछु श्वर पुग्दैन हेर्छु आँखाको नजर पुग्दैन । मात्र टोलाएर बस्नु । समुन्द्रको छेउमा गएर मनका पिडाहरु कागजमा सार्छु कागजमा सारे पनि कमि हुने रहेनछन् । आखिर कम हुने भैदिए आज सम्म खालि भैसक्थे । थाहा छ आमा अस्ति आमाको मुख हेर्ने दिन काम नगई कोठामा बसे अनि तपाइको औधि माया लागेथ्यो । खाना नखाइ कोठामा सुतेछु साथि आएथ्यो मलाइ उठाउँन तर उठिन त्यो दिन तपाइको धेरै याद आयो । अनि पर्सबाट तपाइको पुरानो तस्विर निकालेर छातिमा टाँसेर भुसुक्क निदाएछु । ठिकै छ आमा सधै खुःसि र सुःखि रहनु । मेरो पिर चिन्ता केहि नमान्नु । म संग धेरै साथिहरु हुनु हुन्छ । हाम्रो ठाउँको विदाको दिन रमाइलो गछौँ, सबै जना मिलेर ।

 

तल्ला घरे दाईको मोवाइलमा फोन गर्छु अनि धेरै कुरा गरौंला है आमा । गाउँका सबै जनालाई समझेको छ भन्दिनु । एउटा कुरो हाम्रो गाउँ पारिको खोलामा एक्लै नजानु अहिले त त्यो खोला उर्लेर आउँछ । केटा केटि र सानीलाई सम्झाउनु यस्तै हो जिन्दगि । आँखामा आँशु नफलि ओठमा हाँसो फल्दैन भन्छन् । आखिर कुनै दिन त ओठमा हाँसो फल्ला हाम्रोपनि । अनि यि आँशु बग्ने आँखाहरुमा रहर बग्ने छ अवश्य अरु केहि छैन । के भन्नु आमा आफ्नो ज्यानको ख्याल गर्नु मेरो धेरै पिर चिन्ता नमान्नु केटा केटि र सानीको हेर विचार गर्नु । सात समुन्द्र पारी रहनु भएको तपाईंलाई मिठो सम्झना छाड्दै उहि तपाईंको अभागी छोरो बिदा हुन्छ ल ।

 

तपाइको प्यारो छोरो