अपहरित भेट्न जाजरकोट पुग्दा

माैसमजी भण्डारी

माओवादी युद्ध उत्कर्षमा थियो । ०६२ साउनमा माओवादी छापामारले कालिकोट सेनाको पिली ब्यारेक फौजी आक्रमण गरी ध्वस्त बनायो । १२ भन्दा बढी छापामार र सेनाका ६२ जनाले ज्यान गुमाए । कयौं अत्याधुनिक हतियारसहित ६० जनालाई छापामारले नियन्त्रणमा लिएको समाचार पत्रपत्रिकाहरूमा हटकेक बनिरहेको थियो । युद्ध रापतापमा थियो, वारपारको लडाइँमा सेना र माओवादी गर्माइरहेका थिए ।

 

नियन्त्रणमा लिइएका सेनालाई सुर्खेतकै पूर्वतिर ल्याइएको खबर ‘हिमाल’ पाक्षिकका रिपोर्टर प्रकाश पन्त दाजुले खै कताबाट सुइँको पाउनुभएको रहेछ । प्रकाश दाजुसँग मेरो रेडियो भेरी एफएममा काम गर्दाताकादेखि नै परिचय थियो । केशव कोइराला दाजु र प्रकाश दाजु बेला–बेलामा स्थानीय समाचार बटुल्न हाम्रो घरतिर आइरहनु हुन्थ्यो ।

 

“अपहरित सेनालाई कस्तो व्यवहार गरिएको छ भन्ने बुझ्न सुर्खेत पूर्वतिर जाऊँ,” प्रकाश दाजुले प्रस्ताव गर्नुभयो । समय अलि लामै लाग्ने देखेपछि मैले सुरुमा आनाकानी गरें । तर, एक हप्ताभन्दा बढी नलाग्ने उहाँको अडानपछि म जान राजी भएँ ।

 

सुर्खेत वीरेन्द्रनगर धुलिया बिटबाट पैदलै हिँडेर हाम्रो यात्रा सुरु भयो । साटाखानी चौरासे हुँदै नेटा भन्ने ठाउँ पुग्यौं । स्थानीय माओवादी कार्यकर्ताको सम्पर्कमा गयौं । नियन्त्रणमा लिइएका सेनालाई कहाँ राखिएको छ भन्नेबारे उनलाई थाहा रहेनछ । एरिया इन्चार्जसम्म हाम्रो कुरा राखिदिने बताए । दोस्रो दिन बिहानै हामी त्यहाँबाट हिँड्नुपर्ने खबर आयो ।

 

यावत् उल्झनहरू झेल्दै करिब एक साता हिँडेरै सुर्खेत काँडापोखरी पुग्यौं । काँडापोखरीदेखि अलि अगाडि गए जाजरकोट सुर्खेतको सिमाना पुगिन्छ । त्यहाँ मिजासिला हाँसिरहने युद्ध पत्रकार गणेशकञ्चन भारती दाजुसँग भेट भयो । उहाँले नियन्त्रणमा लिइएका ६० सेनालाई जाजरकोटमा राखिएको संकेत गर्नुभयो । संयोगले उहाँ पनि त्यतै जाँदै हुनुहुँदो रहेछ । हिँड्दा हिँड्दै लखतरान थिएँ । जाजरकोटसम्म जाने कुराले साह्रै दिक्क लाग्यो । फर्किऊँ भन्ने ढिपी गरे पनि दाजुहरूको मिसनको अगाडि म फिक्काजस्तै भएँ । उहाँहरूले सम्झाई–बुझाई गरेर जाऊँ भनेपछि मन नलागी–नलागी पनि म पछिपछि हिँडें ।

 

पोखरीकाँडाबाट केही अगाडि हिँड्दै हामीले सुर्खेतलाई बाइबाइ गर्‍यौं र जाजरकोटतिर पाइला चाल्यौं । त्यसपछि सुरु भयो हाम्रो चुनौती र बज्रपातहरूको यात्रा । मुख्य वर्षात् सकिए पनि मौसमले बेलाबेला हामीलाई यात्रामा चुनौती थपिरहेको थियो । एकजना युद्ध पत्रकार गणेश दाजु र अर्का व्यावसायिक पत्रकार प्रकाश दाजुसँग म बबुरोको अनौठो र चुनौतीपूर्ण यात्रा हुँदै थियो ।

 

हाम्रो यात्रा माओवादी आधार इलाका भनिने जाजरकोट जुँगाथापा चौर पुग्यो । जुँगाथापा चौरमा मनऋषि धिताल, ओम शर्मासँग भेट भयो । त्यहाँबाट हामी माओवादी नेता तथा मध्यपश्चिम कमान्ड इन्चार्ज खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सँगै अगाडि जाने खबर आयो ।

 

बिहानै हिँड्ने बेला एउटा भवनमा झुस्स दाह्री पालेका दुब्ला व्यक्ति कतै फोनमा कुरा गर्दै थिए । गणेश दाजुले भन्नुभयो, “उनै हुन् माओवादी लडाकु कमान्डर जनार्दन शर्मा (प्रभाकर) ।” उनलाई नजिकबाट देख्यौं तर कुरा हुन पाएन । झट्ट हेर्दा भने निकै फुर्तिला देखिन्थे । अनुहारमा बेग्लै ओज र तेज थियो । यिनी नेपाली राजनीतिका बलिया सम्भावना हुन् जस्तो लाग्यो । कैयौं फौजी कमान्ड सम्हालेको खबर सुनेको थिएँ मैले । खड्गबहादुर विश्वकर्मासँगै उनको सुरक्षाका लागि दुई छापामारको साथमा हामी त्यहाँबाट हिँड्यौं । यात्रामा झन् चुनौती थपियो । पहाडको यात्रा, लेक लाग्ने चिसो सिरेटो अनि बाटोमा असरल्ल देखिने जुका । ढुंगाहरूमा जुका ठाडो भएर तन्किरहेको देखिन्थे ।

 

त्यहाँ सेन्ट्री बसेका माओवादी कार्यकर्ता हामीलाई सेना नै सोचेर भागेका रहेछन् । हामी पनि उनीहरू सेना हुन् भनेर आत्तिएका थियौं । उनले भाग्दा छाडेका डायरीहरू फेला परेपछि प्रकाण्डले भने, “उनीहरू हाम्रै मान्छे रहेछन् ।

 

एक हप्ताको लागि भनेर ल्याएको पैसा पनि हामीसँग लगभग सकिइसकेको थियो । साँच्चै अभावसँग जुध्दै अगाडि बढिरहेका थियौं । प्रकाण्ड परपरसम्मको खबर बुझ्दै अगाडि बढिरहेका हुन्थे । सेनाले जाजरकोटमा आफ्नो मिसन सुचारु गरिरहेको छ भन्ने खबर गर्थे बाटोमा । गर्खाकोट जंगलमा केही अघि हिँडेका छापामार हतियारको पोजिसन लिँदै केही पर दौडिए । सेनाको फेला परियो भनेर हामी आत्तियौं । म झन् आत्तिएर खोलातिर दौडन खोजें तर प्रकाण्डले ‘नआत्तिनुस्, केही हुँदैन’ भनेर रोके ।
त्यहाँ सेन्ट्री बसेका माओवादी कार्यकर्ता हामीलाई सेना नै सोचेर भागेका रहेछन् । हामी पनि उनीहरू सेना हुन् भनेर आत्तिएका थियौं । उनले भाग्दा छाडेका डायरीहरू फेला परेपछि प्रकाण्डले भने, “उनीहरू हाम्रै मान्छे रहेछन् ।”

 

उनीहरूले हामीलाई र हामीले उनीहरूलाई सेना सोचेर आत्तिएछौं ।

 

ढिमे पुग्यौं । पत्रकार भनेपछि स्थानीयको घरमा बस्न खान सजिलो भयो । कार्की गाउँबाट सेना आइरहेको आइरहन्थ्यो बेलाबखत । एकजना रेकी गर्ने सेन्ट्रीवालाले सेना ढिमे नै पुगेको खबर ल्याए । त्यहाँ स्थानीय कार्यकर्ताको पनि भागाभाग भएपछि हामी आत्तियौं । पत्रकार भनेर सेनाले हामीलाई पक्कै छाड्नेवाला छैन भन्ने लाग्यो । छापामार माथि जंगलमा अड्डा जमाएर बसेका छन् भन्ने खबर पाएपछि बरु छापामारकै सम्पर्कमा पुगे सुरक्षित भइन्छ भन्ने लाग्यो । सिमसिमे पानीमा भिज्दै ढिमेदेखि उकालो लाग्यौं ।

 

हस्याङ–फस्याङ गर्दै करिब एक घण्टा उकालो हिँडेपछि छापामारलाई भेट्यौं । सेनाकै लवजमा बसेको देखेर मलाई त सेनाकै फेला परियो भन्ने लागेको थियो । हतियारसहित प्लास्टिक ओढेर सेन्ट्री बसेका छापामारहरूले हामीलाई देखेर ठूलै स्वरमा को होस्’ भन्ने आवाज दिए । हामीले पत्रकार भनेर परिचय दियौं ।

 

गणेश दाजु भएर हामीलाई सजिलो भएको थियो । नत्र छापामारले हामीलाई विश्वास गर्दैनथे ।

 

जंगलमै मेस थियो । छापामारहरू प्लास्टिकमा भात दाल हालेर खान्थे । कोही यात्रामा खाने भनेर प्लास्टिकमा हालेर राख्थे । छापामारहरूसँगको यात्रा कम्ती रोमाञ्चक थिएन हाम्रा लागि । पिठ्युँमा गह्रौं झोला, साथमा हतियार, कुम्लो कुटुरो बोकेर अविचलित हिँडिरहन्थे ती योद्धाहरू । त्यही लस्करले हिँड्दाहिँड्दै बाटो बनेको हुन्थ्यो जंगलमा । उनीहरू साँच्चै प्रचण्ड, बाबुरामको तस्बिरका दस्तावेज बोकेर जनताको लागि भन्दै लडिरहेका थिए । आजकल ती योद्धाहरू कहाँ छन् होला ! सयौं बमका छर्राहरू देखाउँदै उनीहरु भन्थे, “जनताको शासन गर्ने सत्ताको लागि एक मुठी रगत रहुन्जेल लडिरहन्छौं ।”
छापामारको बलिदानीले सत्तामा पुग्ने सुप्रिमो प्रचण्ड अचेल भन्छन्, “युद्धमा सुरक्षा दिने कार्यकर्ताहरू आजकल चौतर्फी हमला गर्छन् ।”

 

युद्धमा सुरक्षा कार्यकर्ताले होइन, तिनै लडाकुहरूले दिएका थिए । प्रचण्डलाई देवत्वकरण गर्दै ती नेतृत्वलाई सोझिने संगीनहरू लडाकुहरूको छातीले छेक्थे । हिजोका सुप्रिमोको सुरक्षा तिनै लडाकुहरूले गरेका थिए । समुन्नत नेपालको सपना देखेर लड्नेहरू आज लालाबालाहरूको भविष्य बनाउन अरबको खाडीमा तातो हावा खाइरहेका छन् । लडाकु समायोजन होइन, लडाकु विघटन गरेर प्रचण्डले उनीहरूलाई घर न घाटको बनाइदिए ।

 

छापामारसँगको हाम्रो यात्रा अनेक उल्झनबीच जाजरकोट रामीडाँडा पुग्यो । नेता देव गुरुङसँग एउटा सानो घरमा भेट भयो । प्रकाश दाजु र गणेश दाजुले देव गुरुङको अन्तर्वार्ता टिपोट गर्नुभयो । सुस्त र शालिन बोल्ने देव गुरुङले भोलिपल्ट नियन्त्रणमा लिइएका ६० सेनालाई अनमिनको निगरानीमा रिहा गरिने जानकारी गराए । त्यहीँ जनअदालतका कानुनी अधिवक्ता एकराज भण्डारीसँग भेट भयो । अन्तर्वार्ता लिने भनेपछि उनी चिटिक्क परेर फोटो खिचाउन तयार भए ।

 

नियन्त्रणमा लिइएका ६० सेनालाई छापामारहरूले त्यहीँ पुर्‍याए । उता रुकुम हुँदै अनमिनको टोली पनि रामिडाँडा आइपुग्यो । प्रकाश र गणेश दाजुले बन्दीहरूसँग सबै अवस्थाबारे बुझ्नुभयो । उनीहरूले नियन्त्रणमा लिइसकेपछि कुनै अमानवीय व्यवहार नगरिएको र छापामारहरू साथीजस्तै लागेको अनुभव सुनाए । कोही चप्पलमा थिए, कोही सेनाको आधा युनिफर्ममा । कोही घाइते भएर हातखुट्टामा ब्यान्डेज बाँधिरहेका देखिन्थे । छापामारहरूले उपचार गरेका रहेछन् ।

 

रिहाइ कार्यक्रम आयोजना भयो । देव गुरुङले सम्बोधन गर्छन् भन्ने लागेको थियो तर उनी कतै देखिएनन् । खड्गबहादुर विश्वकर्मा बोले । उनले प्रत्येक बन्दीहरूलाई ५–५ सयका दरले बाटो खर्च उपलब्ध गराए । अनमिनको जिम्मा लगाएर नियन्त्रित बन्दीहरूलाई अबिरमाला लगाएर बिदाइ गरियो । फेरि जिन्दगी पाएको सहानुभूतिले होला– लामो लस्करमा कति त रुँदै हात हल्लाउँदै बिदा भइरहेका देखिन्थे ।

उनीहरूसँग भेट गर्ने हाम्रो मुख्य उद्देश्य पूरा भइसकेको थियो । माओवादी नेताले केही खर्च दिने प्रस्ताव गरे पनि प्रकाश दाजुले लिन मान्नुभएन ।

 

प्रकाश दाजुको घर जाजरकोट लहँ रहेछ । उहाँले आफ्नो घर हुँदै सुर्खेत फर्किने कुरा गर्नुभयो । यात्राभरिको सहचारी प्यारो गणेश दाजुसँग त्यहीँ बिदा भएर हामी स्यापीखोला झोलुंगे पुल तरेर तीरैतीर लहँतिर लाग्यौं । जाजरकोट सदरमुकाम हुँदै प्रकाश दाजुको घर पुग्यौं । उहाँको घर पुग्दा तीज आइसकेको थियो । जाजरकोटी संस्कृतिको तीज अरुभन्दा बेग्लै पहिचानको लाग्यो ।

 

प्रकाश दाजुको घरमा दही र काँक्रा धित मरुन्जेल खाइयो । ३ दिनको बसाइपछि हामी सुर्खेततिर हिँड्यौं । हामी दुईजनाको साथमा प्रकाश दाजुको काकाका छोरा बहादुर पन्त पनि थपिनुभयो ।

 

रुकुमको सिमाना छुँदै, कतै बास बस्दै, कैयौं घण्टा हिँडेर हामी सल्लीबजार पुग्यौं । सल्लीबजारले सल्यानको पनि मुहार देखायो । सल्लीबजारबाट सिधै वीरेन्द्रनगरको टिकट काटेर हामी ठेलमठेल गाडीमा बस्यौं ।

 

गाडीले बिस्तारै आफ्नो गति लियो । बसमा गीत बजिरहेको थियो–
जिन्दगी एक सफर हे सुहाना
यहाँ कल क्या हो किसने जाना

 

करिब एक महिनाको पैदल यात्रा पूरा गरेर हामी नीलो भेरी नदीको किनारैकिनार वीरेन्द्रनगरतर्फ हुइँकियौं ।