प्यारो मान्छे

दुर्गाप्रसाद काफ्ले ‘निश्चल’

तिमी चिङ्काङ्को हिउँमा,
कठ्याङ्ग्रीदो जाडोमा,
थर-थर काँप्दैछौ भने
शक्तिविहिन औंलाहरु तिम्रा,
जाडोले चलेनन् भने
पीर नगर प्रिय !
रोल्पाले जाली तमसुक बटुलेर
कालिकोटले काला कर्तुत जोडेर
एक मुस्लो आगो तयार पारेछन् ।
तिमीलाई काम लाग्छ भनि
एक हुल मालचरीका बथान संगै
तिमीलाई पढाएका छौं ।
प्यारो मान्छे !

 

जतिखेर वुकि पनि रातै फुल्थ्यो,
गुराँसले नि रक्तविजहरुकै रंग चोर्थ्यो,
लालुपाते र सुनगाभाहरु नि
आजादीको मुस्कान भर्थे,
हामी कान्जिरोवाका अनुगामीहरु
प्रफुल्लित हुँर्दै
व्यग्र प्रतिक्षा गर्दै
हाँस्दै
रुँदै हेरिरहेथ्यौं ।
त्यो
घाइते बटुवाजस्तो संकटको समय
आस्थालाई लिलाम गरिएको समय
प्यारो मान्छे !

 

आमाको मुटु रारा
र,
पल्मोनरी शिरा कर्णाली
जब बन्धक बनाउँथे वैरीहरु
अनि,
आजाद जन्माउँथि उषा
साहसका विर विउहरु छर्थि पातारासी १
त्यहि विउ काम लाग्छ भनि
ह्वाङ्होमा डुल्ने
चखेवाको जोडीसंग पठाइदिएका छौं ।

 

यहाँ परचक्रि नंग्राहरु
यहाँ शैवानी हातहरु
खुनि पञ्जाहरु
एक एक गर्दै बढिरहेछन्
सभ्यताका मुहानहरु थुने
आँसुका बाँध बाँधिदैछ
तर,
आमाको अस्मिता खातिर
फेरी कोही छोरा जन्मिदैछन्
फेरि केहि लालटिन बालेर
पलभरको अन्धकार चिर्दैछन्
यो निशाचरको गढमा तिमी बस्दै भए
प्यारो मान्छे !

 

आस्थाको रातो लाल्टिन
उहि उडिजाने मालचरी संगै
तिमी तिरै पठाइदिन्छौं
तिमी तिरै ।।