प्रचण्डले भने ‘हामी समृद्ध कर्णाली बनाउँछौं’

नेमकिपा नेता धितालसहित ७५० जना माओवादीमा प्रवेश

जुम्ला । आइतबार जुम्लाको सिन्जा उपत्यकामा आयोजित जनसभामा अध्यक्ष प्रचण्डले माओवादीकै जोडले ६ नं. प्रदेश बनेको भन्दै कर्णाली र समग्र प्रदेशको विकास माओवादीको प्राथमिकतामा भएको र हामीले नै कर्णाली समृद्ध बनाएर देखाउने  बताए ।

 

साेहि जनसभामा नेमकिपा परित्याग गरी माओवादीमा प्रवेश गरेका पुराना नेता पूर्णप्रसाद धिताल प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने पक्का भएको छ । धिताल माओवादी केन्द्रमा प्रवेश गरेकै दिन धिताललाई माओवादीले जुम्ला जिल्लामा प्रदेशसभाका लागि टिकट दिने घोषणा गरेको हो ।

नेमकिपा नेता धितालसहित ७५० जना माओवादीमा प्रवेश गरेका थिए । धिताल ३२ वर्षसम्म नेमकिपामा रहेर केही दिन अघि मात्रै राजीनामा दिएका थिए । धितालले स्थानीय तहको निर्वाचनमा जुम्लाको सिँजा गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेससँग थोरै मतान्तरले पराजित भएका थिए ।

 

प्रचण्डले माओवादी कै नेतृत्वमा कर्णालीलाई समृद्ध बनाइने बताए । ‘कर्णालीको विकास आयोग हामीले नै बनायौं, कर्णाली प्रदेश हामीले नै बनायौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले नै बनायौं,’ प्रचण्डले थपे,’नाग्चे लाग्ना नाका खोल्न चीनसँग कुटनीतिक पहल गरिरहेको छु । नाग्मा–गम्गडी सडक कालोपत्रे गरिनेछ । कर्णालीको स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिनेछ ।’