मसंग नयाँ एजेन्डा छन् – माओवादी उम्मेदवार कार्की

विगत डेढ दशक देखि समाज सेवा र पूर्वाधार विकासमा तल्लिन राज बहादुर कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट मुगुको प्रदेश सभा उम्मेदवार हुन् । कार्कीको उम्मेदवारीले प्रदेश सभामा दुई क्षेत्र भएको मुगुमा फरक खालको हलचल ल्याएको छ । उनका विपक्षी दलले हालसम्म पनि उम्मेदवारी घोषणा गर्न नसकिरहेको अवस्थामा उनि र उनको दलले मुगुमा चुनावी अभियान थालिसकेको अवस्था छ । यसै सन्दर्भमा उम्मेदवार कार्कीका आगामी एजेन्डा लगायत सन्दर्भमा हाम्रो अनलाइनसंग भएको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

 

माओवादीले प्रदेश नं. ६ मा सबैभन्दा पहिले उम्मेद्वारी घोषणा ग-यो नि ?
भर्खरै सम्पन्न स्थानिय निकायको निर्वाचनमा हामी बलियो हुँदा हुँदै पनि हार्ननुको पिडा हामीसंग छ । मुगु जिल्ला पार्टिले पनि यो महसुस गरेकोले अबको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा सबै नेता कार्यकर्ता नयाँ उत्साहका साथ खट्ने प्रतिवद्धताका साथ सबैभन्दा पहिले नै उम्मेद्वारी घोषणा भएको हो ।

 

उम्मेद्वारी घोषणा भएको दुई हप्तासम्म पनि चुनावी चहल पहल छैन नि ?
गाउँपालिकाहरुमा आन्तरिक बैठक भैरहेका छन् । अब केहि दिनमा खुला चुनावी जनसभा गर्छौं । घरदैलो र्कायक्रम गर्छौं । हाम्रा शहिद परिवार, घाइते–अपांग कमरेडहरुलाई भेट्छौं । जनताका समस्याहरु बुझ्छौं । स्थानिकायमा हामीले हार बेहोरे पनि अबको निर्वाचनमा हामीले जित्ने माहोल तयार बनाउँछौं । हाम्रो पार्टि कमिटीमा कुनै विवाद छैन । एकजुट भएर विभिन्न कार्यक्र गरिरहेका छौं । सेलाएका, हराएका छैनौं ।

 

पहिले ससक्त थियो, अहिले केहि सुधार त भयो तर समग्र माहोल तपाइहरुको पक्षमा छैन नि ?
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले ऐतिहाँसिक रुपमा जनमत माओवादीको पक्षमा थियो । पछिल्लो २०७० सालको निर्वाचनमा विधि कारण त्यो माहोल माओवादीको पक्षमा हुन सकेन ।

र मुगुको सवालमा पनि कथा उस्तै हो । तर भर्खरै सम्पन्न स्थानिय निकायको निर्वाचनमा माओवादीको पक्षमा उल्लेख्य जनमत र सम्भावना हुँदा हुँदै स्पष्ट योजना नहुँदा हार बेहोर्न बाध्य भयौं । अहिले हिजोका दिनमा भएका समस्याबाट मुक्त छौं । स्पष्ट योजना बनाएका छौं । त्यहि योजना अनुसार अद्दि बढिरहेका छौं ।

 

माओवादीबाट तपाइले उम्मेद्वारी दिँदै गर्दा माओवादी भित्रका केहि पुराना नेताहरु असन्तुष्ट भए भन्ने समाचार छ, यसलाई के भन्नुहुन्छ ?
हाम्रो पार्टिको जिल्ला कमिटबिाट एकमतले मेरो उम्मेद्वारी पारित भएको हो, विवाद छैन । केहि असन्तुष्टि हुनसक्छ, त्यसको व्यवस्थापन हुन्छ । मेरो तर्फबाट के गर्नुपर्छ तयार छु । पुराना कार्यकर्ताले कम योगदान भएको भन्ने बुझ्नु भएको होला तर म पनि १२ बर्ष पहिले देखि विभिन्न कमिटिमा रहेर काम गरिरहेको छु । गणतान्त्रिक सम्पर्क मञ्च होस् या प्रत्यक्ष कमिटीमा रहेर मैले भूमिका खेलिरहेको छु । म आगन्तुक हैन ।

 

काठमाडौंमा मैले कति भूमिका खेलेको छु भन्ने कुरा धेरैले बुझ्नु भएको छ । मुख्य कुरा पुराना नेता, कार्यकर्ताहरु प्रति म धेरै आभारी छु, जसले मलाई समर्थन गर्नुभएको छ । मलाई नै उपयुक्त पात्र ठहराउनु भएको छ ।  र मेरो तर्फबाट पार्टिमा ज–जसको लामो योगदान छ, उहाँहरुको हरेक हिसाबले योगदानको कदर हुन्छ । पार्टि सञ्चालनमा उहाँहरुको मूल भूमिका हुन्छ । पुराना तथा योग्य जति हुनुहुन्छ उहाँहरुले अन्यथा नलिइदिनहुन अनुरोध पनि छ ।

 

यि सवालसंगै मुगु जिल्लाको पार्टि कसरी बलियो बनाउने, कसरी जोगाउने भन्ने कुरामा हामी सबैले चिन्ता गर्न जरुरी छ । नयाँ र पुरानो भन्दा पनि मुगुको माओवादी पार्टि कसरी बलियो बनाउने भन्ने कुरा नै मुख्य हो ।

 

आगामी चुनावका लागि तपाइँका एजेन्डा के–के छन् ?
म संग नयाँ एजेन्डा छन् । र म नयाँ काम गरेर देखाउन चाहन्छु । हाम्रा प्रतिद्वन्दी कांग्रेस र एमालेसंग न नयाँ भिजन छ न नयाँ केहि अनुहार छन् । उनिहरुसंग यो क्षेत्रको विकासको कुनै खाका र परिकल्पना नै छैन । मैले जितेको खण्डमा सम्पूर्ण वडापालिका सडक सञ्जालले जोड्नेछु । कसरी जोड्ने कुरा म संग स्पष्ट खाका छ । खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार प्रविधीको विकास गरेर देखाउने क्षमता म संग छ । आँट छ ।

 

यो क्षेत्रको सञ्चार प्रविधीको विकासलार्इ पनि मैले धेरै चासो दिएको छु । सम्भव भएसम्म खत्याड गाउँपालिकाको हकमा एउटा र सोरु गाउँपालिकाको हकमा एउटा एफ. एम. स्टेशन अत्यावश्यक छ । किनकि यत्रो जनसंख्या सूचनाको पहुँच भन्दा बाहिर छ । मैले जितेको खण्डमा कुनै पनि निकायसंग समन्वय गरेर भए पनि २ ओटा एफ. एम. रेडियो स्टेशन स्थापना गरेर देखाउनेछु ।

 

यो क्षेत्र कृषि विकासको धेरै सम्भावना भएको क्षेत्र हो । मैले चुनाव जितेपछि कृषि क्षेत्रलाई विशेष रुपले लिएको छु । आधुनिक कृषि प्रविधीको गरि खाद्यवालीमा यो क्षेत्रका जनतालाई आत्मनिर्भर बनाउने योजना मेरो छ । सोरु र खत्याड क्षेत्रमा कृषि क्रान्ति नै सम्भव देख्छु मैले । पाँच बर्षमा मुगु बाहिरबाट खाद्यान्न आयात नगरी यहाँका जनताको बर्षभरी पेट पाल्ने वातावरण तयार गर्छु ।

 

अर्को कुरा हाम्रा खोलानालामा बगिरहेको पानीलाई सदुपयोग गर्दै जलविद्युत र सिंचाई क्षेत्रको विकास गर्ने मेरो योजना छ । ग्रामिण पर्यटन विकास गर्दै सबै जनतालाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने सवाल पनि मुख्य छ । यो क्षेत्रका प्रत्येक गाउँपालिकामा कम्तिमा एक एक ओटा बृद्धाश्रम निर्माण गर्ने र कुनै पनि बृद्धले कष्टका साथ बाँच्नुपर्ने अवस्था आउन दिने छैन । अभावका कारण कुनै पनि बालबालिकाले पढाइबाट बञ्चित हुन दिने छैन । मैले जितें भने यो सबै सम्भव छ । हरेक बर्ष कम्तिमा १०० युवालाई रोजगारीको दिलाउने मेरो भिजन छ । यो पनि सम्भव छ । मैले जितें भने गरेर देखाउँछु ।

 

समाज सेवा र पर्यटन क्षेत्रको लामो समयको अनुभवलाई कसरी प्रयोग गर्ने याेजनामा हुनुहुन्छ ?
मेरो लागि थुप्रै चुनौति र अवसर छन् । हाम्रो कर्णाली नै पर्यटन क्षेत्रको लागि अपार सम्भावना भएको ठाउँ हो । यसमा मुगु अग्रस्थानमा पर्छ । रारा लगायत थुप्रै पर्यटकिय स्थलहरु यहाँ छन् । यहाँको दिगो पर्यटन विकास गर्ने भिजन मसंग छ ।

 

अर्को कुरा, म लामो समय देखि समाज सेवामा पनि छु । यो चुनाव मैले जिते भनें यो अनुभवलाई पनि मैले सदुपयोग गर्नेछु । अहिले पनि हामीले मुगुका विभिन्न गाउँमा विभिन्न नमुना सामाजिक क्रियाकलाप गरिरहेका छौं । लामो समयदेखि मैले मुगुको पूर्वाधार विकास र समाज सेवा क्षेत्रमा काम गरिरहेको अवस्थामा यहाँको समाजले के माग गरिरहेको छ, समस्या के छ भन्ने कुरा राम्ररी ज्ञात छ मलाई । मैले जितेको खण्डमा त्यहि अनुसार म अघि बढ्छु । यो अनुभवले मलाई अघि बढ्न धेरै बल पुग्नेछ ।

 

र अन्त्यमा यो निर्वाचन क्षेत्रका मतदातालाई तपाइँ के अनुरोध गर्न चाहनुहुन्छ ?
म राजनैतिक हिसाबले केहि नयाँ भय पनि सामाजिक हिसाबले म यहाँका जनता संगै छु । यहाँका जनताका लागि अहिलेसम्म पनि मैले धेरै गरेको छु । अरु राजनैतिक दलका उम्मेदवार भन्दा मसंग स्पष्ट खाका छ । निर्वाचित प्रतिनिधीको रुपमा मैले अहिलेसम्म अवसर पाएको छैन । अवसर पाएमा नमुना हिसाबले केहि गरेर देखाउने प्रतिबद्धता छ मेरो । अब बाँकि समय राजनितिमै विताउने संकल्प पनि गरेको छु ।

 

पाँच बर्षभित्र के के गर्नसक्छु भन्ने कुरामा म आसंका, दोधार र कमजोर आत्मबलमा छैन । म तयार छु । गरेर देखाउने छु यदि मलाई यहाँका जनताले जिताएको खण्डमा । र मलाई आशा पनि छ कि यहाँका जनताले मलाई अत्याधिक बहुमत दिएर जिताउनु हुनेछ ।