कालिकोटमा बृहद पलाँता महोत्सव हुँदै

सहिद स्मृति कला साहित्य प्रतिष्ठान, न्यु जेनेरेसन स्पोर्टस क्लब र न्यु स्पोर्ट्स क्लब पलाँताको आयोजना तथा पलाँता गाउँपालिकाको प्रायोजनमा कार्तिक १३ देखि १८ सम्म बृहत पलाँता महोत्सव र मिरा स्मृति कप हुँदैछ ।

 

कालिकोट जिल्लामा भौगोलिक हिसाबले सबैभन्दा विकट मानिने पलाँता क्षेत्रमा पहिलो पटक हुन लागेको बृहद पलाँता महोत्सव विशेषत पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमको हौसला र सहयोगले आयोजना हुन लागेको सहिद स्मृति कला साहित्य प्रतिष्ठान, पलाँताका अध्यक्ष पूर्णसिंह बमले बताए ।

 

पलाँता गाउँपालिका अध्यक्ष बमले केहि महिना अघि गाउँपालिकाको बार्षिक बजेटमा कला, साहित्य र संस्कृतिको संरक्षणका लागि १५ लाखको अक्षय कोष पनि स्थापना गरेका थिए । पाँच दिनसम्म चल्ने बृहत पलाँता महोत्सवमा साँस्कृतिक तथा खेलकुद सम्बन्धी क्रियाकलापहरु संगसंगै हुने बताइएको छ । खुला महिला तथा पुरुष भलिवल प्रतियोगितामा पुरुष भलिबलका लागि ५१ हजार राशीको प्रथम पुरस्कार र महिला भलिबलका लागि ३१ हजार राशीको पुस्कार समेत प्रदान हुनेछ ।

 

राष्ट्रिय तथा स्थानिय कलाकारको सांगितिक प्रस्तुति पनि रहने उक्त महोत्सवमा चर्चित लोक गायिका टिका पुन, देउडा गायक लालबहादुर थापा, मिम बहादुर शाही, छत्र शाही, छायाँ सुनार, बसन्त सुनार र लोकप्रिय गायक तथा हाँस्य कलाकार सुकदेव अधिकारले ५ दिनसम्म विभिन्न सांगितिक प्रस्तुतिले रमाइलो गराउने अध्यक्ष बमले बताए ।

 

महोत्सवमा कालिकोट लगायत जुम्ला, हुम्ला, मुगु, डोल्पा, अछाम, दैलेख जिल्लाबाट समेत उपस्थिति रहने र यि जिल्लाका विभिन्न खेलकुद क्लवहरुलाई निम्तो पठाइएको अध्यक्ष बमले बताए ।