कमल थापा परिवर्तनका विरोधी ः कांग्रेस मकवानपुर

हेटौडा । नेपाली कांग्रेस मकवानपुरले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँगको गठबन्धन अमान्य हुने घोषणा गरेको छ । थापा मकवानपुरको क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बन्ने तयारीमा छन् ।

 

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरले कमल थापा १ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेसको लहर देखेर आएको आरोप लगाएको छ । कांग्रेस जिल्ला पार्टीले कुनै पनि हालतमा थापालाई नसघाउने घोषाणा गरेको छ । कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछानेले केन्द्रबाट जस्तो निर्णय आए पनि पूर्वसांसद तथा जिल्ला सभापति इन्द्र बानियाँ नै उम्मेदवार बन्ने दाबी गरे ।

 

कांग्रेसले गत संविधानसभा चुनावमा ०१५ सालपछि पहिलो पटक मकवानपुरमा बानियाँमार्फत नै जितको खाता खोलेको थियो । अहिले राप्रपा अध्यक्ष कमल थापालाई सोही क्षेत्रमा कांग्रेसले सघाउनुपर्ने अवस्था आएपछि स्थानीय नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

 

‘कमल थापा सबैखाले परिवर्तनका विरुद्धमा रहेका व्यक्ति हुन् । त्यस्ता परिवर्तन विरोधी उम्मेद्वारलाई जवरजस्ती साझा उम्मेदवार मान्नै सकिन्न,’ कार्यवाहक सभापति लामिछानेले भने, ‘जनआन्दोलनको नरसंहारका दोषीलाई कांग्रेसीजनले भोट हाल्दैनन्, हाल्न पनि सक्दैनन् ।’ बानियाँलार्इ उम्मदेवार घोषणा गर्ने कार्यक्रममा १ नम्बर क्षेत्रका टिकटका आकांक्षी बानियाँ भने उपस्थित थिएनन् ।

 

पत्रकार सम्मेलनमा कांग्रेसका हेटौंडा नगरसभापति आनन्दराम पराजुली, क्षेत्र नम्बर १ का सभापति लोकबहादुर मोक्तान लगायत उपस्थित थिए । हेटौंडा उपमहानगरपालिकाका ५ वडामा कांग्रेसका तर्फबाट वडाअध्यक्ष जितेकाहरुले पनि कमल थापाविरूद्ध घोषणाको समर्थन गरेका छन् ।