गौचन हत्यारा पत्ता लाउँदै प्रहरी

काठमाडौं – असोज २३ गते काठमाडौंको नयाँबानेश्वर खरिबोटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भयो । हत्या भएको केही समयमै तीनजना काठमाडौंबाट पेस्तोलसहित पक्राउ परे ।

 

प्रहरी अधिकारी र तत्कालिन गृहमन्त्री जनार्दन शर्माले हत्यारा पत्ता लागिसकेको र केही समयमै पक्रिएर सार्वजनिक गर्ने दाबी गरेका थिए । गौचनलाई गोली हाने लगतै लोप्साङ लामाले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकलाई फोन गरेर ‘गोली हान्ने म हुँ’ भन्दै खुला चुनौती दिए । लोप्साङले नै गुण्डा नाइके दावा लामालाई कुमारीगालमा गोली हान्नासाथ गएको चैत २९ गते तत्कालिन काठमाडौंका एसएसपी छविलाल जोशीलाई फोन गरेर ‘गोली मैले हानेको’ भनेका थिए । यसरी गोली मैले हानेको हुँ भन्दै प्रहरीलाई खुला चुनौती दिने लोप्साङलाई न प्रहरीले अहिलेसम्म पक्रन सकेको छ । न गौचनको हत्यारा पत्ता लगाउन सकेको छ ।

गोली हान्ने पहिचान भयो भन्ने प्रहरी नै अलमलमा

गौचन हत्याका विषयमा अनसन्धान गर्न डिआइजी गणेश केसीको संयोजत्वमा छानबिन समिति गठन भयो । समितिले चारवटा स्केच तयार पारेर अनुसन्धान गरेको बताएको छ । स्केच तयार पारेर अनुसन्धान गरेको र अनुसन्धान प्रगतिउन्मुख भएको बताउनुबाहेक अनुसन्धानमा संलग्न प्रहरी अधिकारी अरु बताउन चाहँदैनन् । ‘हत्यारा पत्ता लाग्ने अवस्थामा हामी पुगिसकेका छौ । छिट्टै पक्रेर सार्वजनिक गर्छौं । त्यहाँ भन्दा बढी अहिले भन्न सक्ने अवस्था छैन’ एक प्रहरी अधिकारीले भने ।

 

प्रहरीले हत्याको आशंकामा समिरमान बस्नेत, लोप्साङ लामा र मनोज पुन समूहमाथि गरेको छ । लोप्साङ लामा सिन्धुपाल्चोकका हुन् । युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई मनोज पुनको निर्देशनमा लोप्साङले नै गोली हानेका थिए । उनी अहिले भारतमा लुक्दै बसेको प्रहरी स्रोतको भनाई छ । लोप्साङ मनोज पुनका विश्वास पात्र हुन् । तिवारीको हतया पछि यी दुवै प्रहरीको खोजी सूचिमा भएपनि अहिलेसम्म फरार छन् । संयोग नै भन्नुपर्छ दुर्गा तिवारीलाई रुपन्देहीमा गोली हानी हत्या गर्दा रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र धानुक थिए । अहिले गौचनको हत्या मैले गरेको हो भन्दै तिनै लोप्साङले धानुकलाई फोन गरेका छन् ।

 

प्रहरीले आशंका गरेका अर्का व्यक्ति हुन् मनोज पुन । पुन भैरहवाका स्थानीयबासिन्दा हुन् । काठमाडौंमा गौचनको हत्या हुनासाथ रुपन्देही आसपासका व्यापारीलाई फोन गरेर गौचनको हत्या आफूले गरेको भन्दै पुन समूहले धम्क्याएर पैसा माग्ने गरेको व्यवसायीले प्रहरीसामु बताएका छन् । अर्को आशंका गरिएका व्यक्ति समिरमान बस्नेत हुन् । काठमाडौं घर भएका उनी कुमार घैंटेको समूहबाट उदाएका गुण्डा हुन् । घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि उनी भारत पसेका छन् । उनको शरद गौचनसँग राम्रै हिमचिम र लेनदेन कारोबार समेत हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

यही लेनदेनको विषयमा विवाद भएकाले उनको हत्या समिरमान बस्नेत समूहले पनि गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । अनुसन्धानकै क्रममा प्रहरीले काठमाडौंका टोले गुण्डालाई ल्याएर उनीहरुको नेक्ससको बारेमा सोधपुछ गरेको छ । यी तीन जनामाथि प्रहरीले आशंका गरेपनि अहिलेसम्म हत्यारा को ? भन्ने छुट्याउन सकेको छैन ।