४,७०८ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं – मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित गरी ४ हजार ७ सय ८ जनाले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयन दर्ता गराएका छन् ।

 

प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४५ जिल्लामा हुन लागेको चुनावमा प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ र प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यसमध्ये प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी ३ सय ३४ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । बिहान १० देखि ५ बजेसम्म सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरु तामझामका साथ उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।

दोस्रो चरणमा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट हुनेछन् । दुवै तहमा गरी ३ सय ८४ प्रतिनिधि चयन हुनेछन् । दोस्रो चरणको चुनावमा १ करोड २१ लाख ९८ हजार ८५२ जना मतदाताले मत दिँदैछन् । शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था छ । त्यसैगरी शनिबार मनोनयनपत्र, उजरी जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

 

कात्तिक १९ मा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । नाम फिर्ता नलिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यले १० हजार रुपैयाँ र प्रदेशसभा सदस्यले ५ हजार रुपियाँ धरौटी राखेर उम्मेदवारी दिएका छन् । महिला, दलित, अल्पसंख्यक समुदाय, विपन्न उम्मेदवारका हकका धरौटी रकममा ५० प्रतिशत छुट दिने व्यवस्था छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सम्बन्धित प्रदेशमा मतदाता नामावली भएको हुर्नुपर्ने व्यवस्था छ । समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति प्रत्यक्षतर्फबाट उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ। एक व्यक्तिले कुनै एक निर्वाचन क्षेत्रबाट मात्र उम्मेदवारी दिनसक्ने कानुनी व्यवस्था छ । यसअघि एकभन्दा बढी क्षेत्रबाट चुनाव लड्न पाउने व्यवस्था थियो ।

 

मंसिर २१ मा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, प्रदेश ४ का पूर्वी नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, प्रदेश ५ का पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके, बर्दिया, प्रदेश ६ का सल्यान, सुर्खेत, दैलेख र प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा मतदान हुनेछ ।

 

आयोगले यसअघि ७७ जिल्लालाई निर्वाचन चिह्न अंकित टोपी, टिसर्ट, गम्छाजस्ता सांकेतिक सामग्री प्रदर्शन नगर्न लिखित निर्देशन दिइसकेको छ । आयोगले उमेदवार, राजनीतिक दललगायतलाई निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरेको छ।