कविता/मायामा गठबन्धनको असर

प्रवाशी काजी, रावतकोट दैलेख

अब त झन् हाम्रो मायाले
चर्चा बटुल्ने भयो
तिमी लोकतान्त्रिक गठवन्धनमा छौँ ।
म वामगठवन्धनमा बाधिएको छु ।
गठवन्धन जे भए पनि
अब हामी एक हौँ ।

 

म तिमीलाई मनाउन हरेक कोशिश गर्छु ।
साठी चालिस म कदापी भन्दिनँ ।
पुरै पचास–पचासमा सहमति गरौँ न प्रिया ।
पाँच बर्षे स्थिर सरकारमा जो रहे पनि
हाम्रो जीवन
बाँचुन्जेलसम्म एक अर्कालाई
अर्पण गरौँ ।
यि एजेन्डा मेरामात्रै होईनन्
अब तिम्रा पनि हुन् ।
गठवन्धनले प्रतिपक्षी ठान्ला
तर म तिमीलाई सदैव सहयात्री ठानुँँला ।
गृह एकले लिई रक्षा अर्काको भाग परेझैं
तिमी पानी ल्याउन जाँदा बरु म दैलो लिप्ने
सम्झौता गर्छु ।
परराष्ट्र र स्थानीय मामिलाले हेर्नै नपरोस्
मायामा शंका र असमझदारी हामी आफै हेरौँला ।

 

ति दुई गठवन्धन
छिमेकीको ईशारामा चलेको बेला
हामी मनको निर्णयमा चलौँ है ।
अदृश्य आगाले नजलाओस् हामीलाई
दियो बनेर अन्धकारमा बलौँ हैं
मैले कार्यपत्र प्रस्तुत गर्दा भद्र तरिकाले विरोध गर्ने
तिमीलाई पुर्ण अधिकार छ ।
आस्थावानहरुले आ आफनो गठवन्धनले बिकास
गर्ने प्रतिबद्धता जनाए पनि ।
तिमीसंग सहकार्य गरेपछि मात्र
म बिकसित हुन सक्छु ।

 

आउ मिलेर पाईलाहरु बढाउँ ।
वामगठवन्धन
र लोकतान्त्रिक गठवन्धन बिचको
दुरी घटाउँ ।