चितवन ३ मा प्रचण्ड कि पाण्डे ?

दोस्रो चरणको चुनावमा चितवन क्षेत्र नम्वर ३ सबैभन्दा धेरै चर्चामा छ । वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे उम्मेदवार भएकाले यो क्षेत्र सबैभन्दा धेरै चर्चित भएको हो ।

 

२०७० सालको चुनावमा कांग्रेसले एक र राप्रपाले एक सिट जितेको ठाउँमा अहिले प्रचण्ड उम्मेदवार हुनुहुन्छ । प्रतिनिधिसभाको चुनावमा ‘हेभिवेट’ उम्मेदवार प्रचण्ड र पाण्डे दुवै एकअर्काको भोटमा भर पर्नुपर्ने अवस्था छ । विक्रम पाण्डे संविधानसभाको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको थियो । त्यतिबेला क्षेत्र ५ मा परेको ठाउँहरु अहिले क्षेत्र नम्बर ३ मा पर्छ । प्रचण्डले चितवन ३ का नागरिकले आफूलाई जिताउने र आफूले नै देशकै नेतृत्व गर्ने समेत बताउँदै आउनुभएको छ । पाण्डेले पनि चितवन ३ बाट जितेर देशकै नेतृत्व गर्ने बताउँदै आउनुभएको छ । चितवन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । साविक नारायणी नगरपालिका र चित्रवन नगरपालिका यही क्षेत्रमा पर्छन् । साविक चित्रवन नगरपालिकामा नेपाली कांग्रेस बलियो छ । यस क्षेत्रलाई कांग्रेसको गढ मानिन्छ ।

 

क्षेत्र ३ मा स्थानीय तहको १९ वडाको हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । १९ वडा मध्ये ६ वटा एमाले ३ वटा माओवादी र ११ वटा वडा कांग्रेसले जितेका हुन् । २०७० सालमा तत्कालीन क्षेत्र नं. ४ मा सुशील कोइरालाले दोब्बर मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यो समयमा चितवन आएका आउनुभएको थियो । अहिलेको ३ नम्बर क्षेत्र त्यतिबेला ४ मा परेको थियो । २०४८ सालदेखि नै हाल चितवनको ३ नम्बरमा क्षेत्रमा परेका ठाउँहरु कांग्रेसको आधार इलाका मानिन्छन् ।

 

स्थानीय तहको चुनावमा क्षेत्र नम्बर ३ मा परेको माडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका ठाकुर ढकाल बिजयी भएपनि माडीमा कांग्रेस, माओवादी केन्द्र र एमाले र राप्रपाको मत पनि बराबरीजस्तो आएको थियो । कांग्रेस, माओवादी केन्द्र र एमालेको फरक उम्मेदवार भएको भए चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसले जित्ने सम्भावना बलियो थियो । स्थानीय चुनावमा क्षेत्र ३ मा पर्ने १९ वटा वडाको कांग्रेसले पाएको मत जोड्दा २३ हजार २३७ छ । एमालेको जोड्दा २१ हजार १३० मत छ । माओवादी केन्द्रको मत दुबैका भन्दा कम छ । माडी नगरपालिकाको सहितको मतलाई जोड्दा कांग्रेसको मत २७ हजार कट्छ । माडीको मतसहित एमालेको सम्पूर्ण मत जोड्दा २४ हजार कटेको छ ।

 

चितवन ३ मा वाम गठबन्धनको मत जोड्दा कांग्रेसको मतभन्दा ८ हजारले बढी छ । क्षेत्र ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर २६, २५ र १३ मा माओवादी केन्द्रको मत बढी छ । स्थानीय चुनावमा यस वडाको नेतृत्वमा माओवादी केन्द्रले जितेको थियो । वडा नम्बर १३ लाई माओवादी केन्द्रको गढ नै मानिन्छ । स्थानीय तहको चुनावपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि जिल्लामा मतदाता संख्या ३ लाख ५४ हजार ३५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् ।

 

स्थानीय तहको निर्वाचनका बेला जिल्लामा ३ लाख १३ हजार २ मतदाता थिए । कार्यालयका अनुसार १ लाख ८४ हजार ६९ जना महिला र १ लाख ६९ हजार ९ सय ६५ जना पुरुष मतदाता रहेका छन् । कांग्रेसको भोट बाँडिएर प्रचण्डलाई आयो भने नतिजा फरक आउनेछ । दुवै उम्मेदवार एकअर्काको मतमा भर परेका छन् ।