मूल्यवृद्धि फिर्ता नभए देजमाे सडकमा उत्रने
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरिए सडकमा उत्रने चेतावानी दिएको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले आज जारी गरेको वक्तव्यमा मुल्य बृद्धि फिर्ता गरी महँगी नियन्त्रण गर्न माग गर्नुभएको छ । महँगी घटाउने गरी सरकारले तुरुन्त कदम नचाले सडक आन्दोलन गर्ने उहाँले वक्तव्यमार्फत चेतावनी दिनुभएको छ ।
‘समृद्ध नेपाल र सुखी नेपालीको नारा उराल्दै आएको केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको पाँचौं पटक मूल्य बृद्धि गरेको छ । यसको असरले चौतर्फी रुपमा बढेको महँगी नेपाली जनताको लागि थेगी नसक्नु भएको छ । यो अवस्थाको अन्त्यका लागि पेट्रोलियम पदार्थको मूल्य पूर्ववत् अवस्थामा ल्याउनुको साथै उपभोग्य बस्तुमा बढेको महँगी घटाउन सरकारले तुरुन्त कदम चालोस् भन्ने हामी जोडदार माग गर्दछौं । अन्यथा सडक संघर्षमा उत्रनु बाहेक हाम्रा अगाडि अर्को विकल्प नरहने कुराको पनि हामी जानकारी गराउन चाहन्छौं ।’ वक्तव्यमा उल्लेख छ ।
आफूलाई ‘वाम सरकार’ भन्ने केपी ओली नेतृत्वको सरकार गठनपछि पटक–पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र बजेट भाषणलगत्तै अकाशिएको महंगी र कोलोबजारीको देजमोले विरोध गर्दै आएको छ ।