जनपरिषद दाङद्वारा जनप्रतिनिधिको राजीना माग

२२ जेठ,दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा गठित जनपरिषदले जिल्लाका सम्पूर्ण जनप्रतिनिधि भ्रष्टचारको पर्याय भएको भन्दै राजीनामा दिन उर्दी गरेको छ ।

दाङ जिल्ला जनपरिषद दाङले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर बबई गाउँपालिकाको हापुर खानेपानी तथा सरसफाई कार्यक्रममा भ्रष्टचार गरेको जनाउँदै उसले कार्यक्रम चलाउँदै आइरहेको उपभोक्ता समिति तत्काल भंग गर्न पनि माग गरेको छ ।

उपभोक्ता समितिका सबै पदाधिकारीलाई भ्रष्टचार गरेको रकम जनतालाई फिर्ता गरी तत्काल राजीनामा गर्न जनपरिषद् दाङका प्रमुख गणेश चौधरीले अपिल गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष भ्रष्टचारमा मुख्य भूमिका निभाएको छानबिनबाट देखिएको भन्दै तत्काल आजैबाट उक्त उपभोक्ता समिति भंग गरेर नयाँ समिति गठन गरिएको समेत जारी विज्ञप्तिमा प्रमुख चौधरीले उल्लेख गरेका छन् ।

पूराना समिति भंग गरेर स्थानीय उपभोक्ताहरुबाट गठन गरिएको नयाँ उपभोक्ता समितिले कार्यक्रमका सबै कामकाज गर्ने पनि उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । नयाँ समितिलाई निष्पक्ष र पारदर्शी रुपमा काम गर्न दिन र सहयोग गर्न समेत उपभोक्ताहरुसँग आग्रह गरिएको छ ।

जनपरिषद्को निर्देशनलाई बेवास्ता गर्दै भ्रष्टचार गरेको रकम फिर्ता गर्न आटेर गरेमा भ्रष्टचारीहरुलाई जनसहभागितामा तत्काल कारवाही थाल्ने समेत जारी विज्ञप्तिमा चेतावनी दिइएको छ ।

त्यस्तै जनपरिषद दाङका कार्यालय सचिव भगवान चौधरीले एक प्रेस विज्ञिप्त जारी गर्दै दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई पत्र बुझाउँदै आ–फ्नो पदबाट राजीनामा दिई वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको अभियानमा ऐक्यबद्धता जनाइदिन समेत आग्रह गरिसकेका छन् ।

चौधरीले स्थानीयसँग विभिन्न शिर्षक खडा गरेर चर्को कर असुल गर्ने, १ सय रुपैयाको करलाई १ हजार र हजारलाई दस हजार पुर्याएर जनताको ढाड सेक्ने काम गरेको भन्दै बढाएको कर नतिर्न नागरिकसँग अपिल गरेका छन् ।

जनपरिषद दाङ नेकपाको थारुवान स्वायत्त प्रदेश अन्तर्गत पर्दछ।