राष्ट्रिय महिला क्लब लिग भलिबल; एपीएफ न्यू डायम‌‌ण्ड र आर्मी विजयी

 

राष्ट्रिय महिला क्लब लिग भलिबल :  एपीएफ, न्यू डायमण्ड र आर्मी विजयी

काठमाडौं : चौथो आरबीबी-एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा एपीएफले लगातार दोस्रो जित हात पारेको छ।

मंगलवार भएको विभागीय भिडन्तमा एपीएफले पुलिसलाई ३–० को सेटमा हराउँदै शीर्ष स्थानमा रहेका हो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको दोश्रो दिन एपीएफले पुलिसलाई २५–२२,२५–१७, २५–१५ को सेटमा हरायो। एपीएफले अपराजित रहदै २ खेलबाट ६ अंक जोडेको छ। आफ्नो दोश्रो खेलमा पराजय बेहोरेको पुलिसको २ खेलबाट ३ अंक छ।

यस्तै पहिलो खेलमा पुलिससँग पराजित भएको न्यू डायमण्डले पहिलो जित निकाल्दै २ खेलबाट ३ अंक जोडेको छ। उसले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०,२५–१०, २५–९ को सेटमा हरायो।

पहिलो दिन एपीएफसँग ३–० ले पराजित भएको आर्मीले मंगलवार भने दोहोरो जित निकाल्दै ३ खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा पद्मोदय युवा क्लबलाई २५–१८,२५–११, २५–१७ को सोझो सेटमा हराउदा दोश्रो खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–८, २५–७ को सेटमा हरायो।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता ६ टिमबीच राउण्ड रोबिन लिगका आधारमा संचालन गरिएको छ। लिग खेलमा उत्कृष्ट चार स्थान हासिल गर्ने टिमले सेमिफाईनलमा प्रवेश पाउने छन्।

खेल तालिकानूसार पहिलो वरियतामा रहेको टिमले चौथो वरियतामा रहेको टिमसँग तथा दोश्रो वरियतामा रहेको टिमले तेश्रो वरियातामा रहेको टिमसँग सेमिफाईनलमा खेल्नेछ। 

जेठ २६ सम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले २ लाख, उपविजेताले १ लाख, तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट डिफेन्डर र बेष्ट कोचले ५-५ हजार प्राप्त गर्ने छन्।