काठमाडौं, जेठ २३ । शिक्षा विभागले बन्द गरेको शिक्षक सरुवा खुला गरेको छ । विभागकै निर्देशनमा दुई महिनादेखि शिक्षक सरुवाको काम रोकिँदै आएको थियो ।

विभागले शिक्षक दरबन्दी मिलानको काम सकेपछि मात्रै गर्ने गरी रोकिएको शिक्षक सरुवा खुला गर्ने मंगलवार निर्णय गरेको हो । यसअघि विभागले ७७ वटै तत्कालीन जिल्ला शिक्षा कार्यालयहरुलाई २१ चैत्र २०७४ मा चलानी नम्बर ११३ को पत्र काटेर शिक्षक सरुवा सम्बन्धी कार्य नगर्न नगराउन निर्देशन दिएको थियो ।

चलानी नं. ९० को पत्र मंगलवार विभागले पत्रकाटेर यसअघि रोकिएको शिक्षक सरुवा पूर्ववत रुपमा गर्न गराउन निर्देशन दिएको छ । विभागको जेठ २२ को निर्णय अनुसार सो पत्र ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई पठाइएको हो ।

अब शिक्षक सरुवा जिल्ला समन्वय इकाइबाटै हुने भएको छ । माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा उनीहरुले शिक्षक सरुवा पनि गर्न पाउनुपर्ने बताउदै आएका थिए ।

अन्ततः शिक्षा विभागले जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइहरुलाई नै सरुवाको जिम्मेवारी दिएको हो । यसअघि शिक्षा मन्त्रालयले ठूलो मात्रामा समन्वय इकाइमा कर्मचारी सरुवा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २३, २०७५