नाै लाख ५०हजार रकम लुट्नेलाई प्रहरीले सार्वजनिक गरेको छ

 

 
 

कैलाली, जेठ २२ । ७ नं. प्रदेशको राजधानी धनगढीमा केहीदिन अगाडि दिनदहाडै गोली हानी ९ लाख ५० हजार रकम लुट्ने लुटेरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुबाट लुटेको रकम मध्ये पाँच लाख ४८ हजार ६ सय नगद, लुटपाटमा प्रयोग गरेको ६ राउण्ड गोली, पेस्तोल र मोटरसाईकल सहित लुटपाटको मुख्य योजनाकार सहित चार जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

लुटपाटको मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–६ जालीका राजकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिकाका ३० बर्षीय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एसएसपी हरीराज वाग्लेले अब अपराधीलाई कुनै पनि हालतमा नछोड्ने बताउँदै अपराधमा संलग्नलाई कडाभन्दा कडा कार्वाही गर्ने ठोकुवा गरे । उनले भने अपराधमा संलग्नको खोजी कार्यमा कैलालीका विभिन्न क्षेत्रमा जडान गरिएका सिसि टिभी क्यामराको सहयोगमा लुटेराहरुलाई पक्राउँ गर्न सफल भएको बताए ।

गोली प्रहार गरि लुटपाटमा संग्लनहरु लामो समयदेखि अपराधिक कृयाकलापमा संग्लन भएको र उनीहरुले विभिन्न घटना घटाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख बिनोद घिमिरेले बताए ।

घटनामा संलग्न भई आईएमईका कर्मचारीमाथि गोली प्रहार गर्ने कल्लु राना यसअघि पनि जबरजस्तीकरणी मुद्दामा ६ वर्ष कैद भुक्तान गरी २०७४ माघमा छुटेका व्यक्ती हुन् । यस्तै अर्का उग्रसेन राना पनि डाँका चोरी मुद्धामा ४ बर्ष ८ महिना जेल जीवन बिताई सकेका व्यक्ति हुन् ।

योजनाकार राजकुमार चौधरी पनि हातहतियार खरखजाना मुद्दामा ७५ दिन कैलाली कारागारमा बसी २०६५ सालमा छुटेका व्यक्ति भएको घिमिरेले बताए ।

यहि जेठ १३ गते केन्ट ट्रेडर्स एण्ड सप्लायर्सका कर्मचारी निर्मल कार्कीले सिद्धार्थ बैकबाट झोलामा बोकी साईकलमा ल्याउँदै गरेको नौ लाख ५० हजार रुपैयाको झोला धनगढीको पुरानो सब्जीमण्डीमा गोली प्रहार गरी लुटिएको थियो ।