प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्येका एक पुष्पकमल दाहाल प्रचण्डले ‘कसैले नकारात्मक रूपमा सोचेमा प्रदेश २ मा पनि सत्ता समीकरण परिवर्तन हुने’ सङ्केत दिएका छन्।

पोखरामा पत्रकारहरूसँग बोल्दै प्रचण्डले संघीय समाजवादी फोरम नेपाल सरकारमा आएसँगै त्यो सम्भावनाको ढोका खुलेको बताएका हुन्।

अड्कलबाजी

प्रदेश नं २ बाहेक अन्य प्रदेशमा तत्कालीन एमाले र माओवादी केन्द्रले मिलेर सरकार बनाएका थिए।

प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग मिलेर फोरमले आफ्नो नेतृत्वमा सरकार बनाएको छ।

पार्टी एकीकरणपछि गठन भएको नेकपाका शीर्ष नेताले आफू सरकारबाहिर रहेको प्रदेशको नेतृत्वबारे पहिलोचोटि सार्वजनिक टिप्पणी गरेका हुन्।

त्यही फोरमसँग आफूहरूले गरेको सहमतिको प्रभावबारे प्रचण्डको भनाइ थियो, “यसले अब झन्डै झन्डै सातै प्रदेशमा परिवर्तनकारीहरूको सरकार बन्ने अवस्थातर्फ राम्रो सङ्केत गरिसकेको छ।”

ठूलो दल

पुष्पकमल दाहाल प्रचण्ड

प्रदेश नं २ मा तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि निर्मित नेकपा सबैभन्दा ठूलो दल बनेको छ।

प्रदेश सरकारको सत्ताधारी राजपा केन्द्रमा भने केन्द्रमा सरकारबाहिर छ।

के उनको टिप्पणीले अरूले अड्कल गरेजस्तै त्यहाँ पनि राजपाविना नयाँ समीकरणको बन्ने सङ्केत गर्छ?

उनले जवाफ दिए, “यदि कसैले नकारात्मक ढङ्गले सोच्ने हो भने प्रदेश २ मा पनि केन्द्र सरकारकै प्रभावमा सरकार बन्ने बाटो खुल्यो भनेको हो।”

तर उनले नकारात्मक ढङ्गले कसले सोच्यो वा सोच्न सक्छ भन्ने खुलाएनन्।

उपप्रधानमन्त्रीद्वय यादव र पोखरेल

उनको भनाइ थियो, “प्रदेश २ लाई बाँकी प्रदेशको अवस्थाभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थिर बनाउने कसरत भएको हामीले देखेका थियौँ, त्यसको ढोका बन्द भयो।”

नेकपाले ‘आवश्यकता र सहमतिको आधारमा’ संविधान संशोधन गर्ने सहमति फोरमसँग गरेको छ।

तर संशोधनको पक्षमा आवाज उठाउँदै आएको राजपा अझै केन्द्र सरकारबाहिरै छ।

प्रचण्डको भनाइ राजपाप्रति लक्षित भएको ठानिएको छ।

तर फोरम अध्यक्ष उपेन्द्र यादवले गतसाता बीबीसीसँग कुरा गर्दै प्रदेश नं २ को समीकरण फेर्ने पक्षमा आफू नरहेको बताएका थिए।