‘के भो सुवासजी ! निर्वाचन आयोगमा ?’

 

प्रकाशित मिति : २०७५ जेष्ठ २३

काठमाडौं, जेठ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि फेरि निवेदन पुर्याएको छ निर्वाचन आयोगमा । दल दर्ताका लागि परेको सरकारी पार्टीको निवेदन स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय आयोगका लागि मुखमा परेको तातो आलु बनेको छ ।

तर पनि आयोगले छलफल गरेर स्वीकृति प्रदान गरिने छ भनी निवेदकहरुलाई फर्काएको आयोग स्रोतले बताएको छ । आयोगले भनेको छलफल लामै हुने देखिन्छ । किनकि दल दर्ताको विधि प्रक्रियामा पुर्याउनु पर्ने ३३ प्रतिशत महिला पुगेको छैन । यसले दल दर्तामा ठूलो समस्या पारेको छ ।

विधिवत् दर्ता गर्ने हो भने हालसम्म मानि आएको नियामावली परिवर्तन गर्नु पर्छ आयोगले । के अयोग यसैको तयारीका लागि छलफलमा जुटेको हो ? यसअघि नेकपाका मुनि अन्डरलाइन राखेर दर्ता गरिदिन निवेदन गरिएको पनि हो । तर भएको थिएन । 
समस्या परेको छ सरकारी पार्टी दर्ताको । शायद अरुलाई हालसम्म अकाट्य लागु हुँदै आएको नियमावली सरकारी पार्टीको बलिबेदीमा चढ्न पनि बेर छैन ।

अहिले पनि निवेदन दिएको समय लामै भएको छ । सरकारी दल दर्ताको तातो आलु निर्वाचन आयोगको मुखमा परेको छ । यो निलिन्छ वा ओकलिन्छ ? हेर्न बाँकी छ । किनकि नेकपामा हाल ४४१ केन्द्रीय सदस्यमध्ये ७२ जना मात्र महिला छन्, जुन प्रतिशतका हिसाबले १६ प्रतिशत मात्र हुन आउँछ ।

अहिले दल दर्ताको अख्तियारी पाएका सुवासचन्द्र नेम्वाङ र देव गुरुङलाई सरकारी मान्छे र सरकारी नेताहरुले खान र बस्न समेत् नदिई ‘के भो, के भो सुवासजी !’ भनी सोधनी गरिरहने गरेका छन् ।