सुरक्षित गर्भपतन सेवा सहज बन्दै बाजुरा जिल्लामा

 

बाजुरा- जिल्लामा सुरक्षित गर्भपतन सेवा सहज बन्दै गएको छ । सूचिकृत जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा केन्द्रीत सेवा पछिल्लो समय जिल्ला व्यापी सहज बन्दै गएको हो ।

सन्तानको रहर पुगिसकेका र विशेष कारण र परिस्थितिमा गर्भ रहेको अवस्थामा जिल्ला भित्रै सहज रुपमा सुरक्षित गर्भपन सेवा लिन पाउने भएको छ । गएको चैत्र बाट जिल्लाका थप १३ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयका स्टाफ नर्स शुशिला सिंहले बताउनु भएको छ ।

जिल्लामा आइपास कार्यक्रम सञ्चालन पछि जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धीत स्थानीय तह स्वास्थ्य संस्थाको सहकार्यमा सेवा सञ्चालनमा रहेको आइपास जिल्ला कार्यक्रम संयोजक महेश जोशीले बताउनु भएको छ ।

सुरक्षित गर्भपतन सेवा सञ्चालनमा सहजिकरण गर्न आइपास कार्यक्रम सञ्चालन भईरहेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन भइरहेको कार्यक्रम अन्र्तगत १३ वटा स्वास्थ्य संस्थाबाट हालसम्म ९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

जिल्ला कार्यक्रम सल्लाहकार समितिको बैठकमा सो बारे जानकारी गराईएको छ । समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा बसेको बैठकमा सुरक्षित गर्भपतन सेवा सम्बन्धीत कानुनी अधिकार बारे जानकारी गराईएको थियो ।

स्वयम महिलाको मञ्जुरी नाममा भए ९ हप्तासम्मको गर्भपतनका लागि १३ वटै स्वास्थ्य संस्थाबाट र १२ हप्तासम्मको भए जिल्ला अस्पताल र कोल्टी प्राथमिक स्वास्थय संस्थाबाट सेवा दिन सकिने छ । भने १२ हप्ताभन्दा माथि हाडनाता करणी, जरबरजस्ती, अवैध सम्बन्ध, महिलाले सन्तुलन गुमाएको अवस्थामा जिल्ला बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थाबाट सेवा लिन सकिने प्रावधान रहेको छ ।

गर्भजाँच गरेर गरिने गर्भपतन अवैध भएकोले त्यसलाई रोक्न बैठकमा सहभागिहरुले सुझाव दिएका थिए । बैठकमा समन्वय समिति उपप्रमुख सुनिता मिजार, बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, प्रमुख जिल्ला अधिकारी चेतराज बराल लगायतको सहभागिता रहेको थियो ।