प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार 

 

धनगढी, जेठ २४ । प्रदेश ७ को प्रदेशसभाको बुधबारको बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित गरिएको छ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक छलफल तथा पारित गर्नका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सदस्य लालबहादुर खड्का, कृष्णराज सुवेदी, लीलाधर भट्ट, महेशदत्त जोशी, कर्णबहादुर मल्ल, कुमारी नन्दा बम, मालामतिकुमारी रानाथारुले भाग लिएका थिए।

बैठकको विशेष समयमा प्रतिपक्षी नेपाली कांंग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले जेठ १५ गतेको हावाहुरीका कारण कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा २ सय ४५ घरधुरीका परिवार घरको छाना उडाई बिचल्लीमा परेकाले उनीहरुको उचित बसोबास र राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए।

बैठकमा सदस्यबीच घोचपेच

नेता रावलले चालु आर्थिक वर्षका लागि ल्याइएको बजेट सदुपयोग भए/नभएको तथा कार्यान्वयनको अवस्थाबारे सदनमा जानकारी नगराइएकोतर्फ ध्यानाकर्षण गराउँदै सरकारले प्रतिपक्षलाई बेवास्ता गरेको आरोप लगाए। नेकपाका लीलाधर भट्टले बजेट कार्यान्वयन भए नभएको बारे समयमा नै जानकारी आउनेछ भन्दै सरकारको बचाउ गरेका थिए।

जनप्रतिनिधिको पारिश्रमिक वृद्धि

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा वडा सदस्य र जिल्ला समन्वय समितिका सदस्यलाई पनि तलबको व्यवस्था गरिएको छ। पारित विधेयकमा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकले पाउने पारिश्रमिकमा केही वृद्धि गरिएको छ।

मासिक रुपमा गाउँपालिका सदस्यले ५ हजार, गाउँकार्यपालिका सदस्यले ८ हजार, नगरपालिका सदस्यले ६ हजार, नगरकार्यपालिका सदस्यले ९ हजार, उपमहानगरपालिका सदस्यले मासिक ७ हजार र उपमहानगर कार्यपालिका सदस्यले मासिक १० हजार तथा जिल्ला समन्वय समितिका सदस्यले ११ हजार रुपैयाँ तलब पाउने व्यवस्था विधेयकमा गरिएको छ।

यस्तै यसअघि स्थानीय तहका प्रमुखलाई मात्र गाडीको व्यवस्था रहेकामा उपप्रमुखले पनि गाडीको सुविधाका साथै एक जना कानूनी सल्लाहकार राख्न पाउने व्यवस्था छ। सरकारी सेवाबाट अवकाश लिएर जनप्रतिनिधि बनेकाहरुले दोहोरो सेवा नपाउने व्यवस्था गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुखले मासिक ४० हजार ५ सय र उप्रप्रमुखले ३५ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनेछन्। उपमहानगरपालिका प्रमुखको तलब मासिक ४० हजार, उपप्रमुखको ३५ हजार र वडाध्यक्षको २४ हजार रुपैयाँ तोकिएको छ।

यस्तै नगरपालिका प्रमुखको मासिक ३५ हजार, उपप्रमुखको ३० हजार र वडाध्यक्षको २२ हजार रुपैयाँ तोकिएको छ। यसैगरी गाउँपालिका प्रमुखले मासिक ३० हजार, उपप्रमुखले २५ हजार र वडाध्यक्षले २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्।

समन्वय समितिका संयोजक, सहसंयोजक, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक रुपमा सञ्चार खर्च पाउने व्यवस्था विधेयकमा गरिएको छ। प्रदेशसभाको अर्को बैठक यही जेठ २६ गते अपराह्न ३ बजे बस्नेछ।