नारायणगढ मुग्लिङ सडकखण्ड सुचारु : यात्रा पहिले भन्दा झन् जोखिमपूर्ण

 

प्रकाशित मिति : २०७५ जेष्ठ २४

काठमाडौं, जेठ २४ । लामो समयसम्म निर्माणाधीन अवस्थामा रहेको मुग्लिङ–नारायणगढ सडक खण्ड बिहीवार साँझदेखि सुचारु भएको सडक विभागले जनाएको छ । बाटो ग्रेभलपछि एक तह कालोपत्रे गरिसकिएकाले २४अ‍ै घण्टा सेवा सुचारु गरिएको बताइएको छ । उक्त सडकमा गर्न बाँकी रहेको दोस्रो र तेस्रो तहको कालोपत्रे सडक सुचारु राखेर पनि गर्न सकिने बताइएको छ ।

यो खण्डमा सवारी साधनको चर्को चाप र साँघुरो बाटो र बन्दै गरेको सडकका कारण यात्रा निकै जोखिमपूर्ण रहँदै आएको थियो । हाल पहिलो चरणको कालोपत्रे मात्र गरी सकिएको भएपनि भीरको चट्टानी कटानले गर्दा लड्नै आँटेका अजङ्गका भित्ताहरुमा वर्षाको सुरुआतसँगै फेरि पहिरो जानसक्ने जोखिम रहिरहेकाले यात्रुहरु ढुक्क मनले यात्रा गर्न पाइरहेका छैनन् ।

बाटो ठूलो बनाउँदा कटानी गरिएका अग्ला ढिक तथा कान्लाहरुबाट चट्टानहरु बाटोमा खस्न थालिसकेका छन् । सवारी चल्दा खस्ने गरेका ती चट्टानहरु वर्षायाममा पहिरोको रुपमा बाटोमा खस्ने यात्रु तथा चालकहरु बताउँछन् । बाटो निर्माण भइसकेको भनेर सरकारले भने पनि यात्रा पहिलेको भन्दा झनै जोखिमपूर्ण रहेको स्थानीय वासिन्दाको भनाइ छ ।

डोजर तथा इक्स्क्याभेटरले बाटो फराकिलो बनाउँदा ठूलो कम्पन पैदा गर्दछन् । यो कम्पनले धेरैजसो ठाउँमा बाटोमाथिका जमीनमा चीरा र दरार पार्ने गरेका छन् । वर्षायामको पानी ती चीरा र दरारहरुबाट भित्र पसेमा ठूलाठूला पहिरो जाने संभावना अवश्यम्भावी छ ।

पहिरो जाने ठाउँमा जाली लगाइँदैछ : सडक विभाग

सडक विभाग तथा सरकारले पहिरो जानसक्ने संभावना भएका ती जोखिमपूर्ण क्षेत्रहरुमा पहिरो जान नदिन जालीले छोप्ने प्रक्रियालाई अघि बढाइएको कुरा सार्वजनिक गर्न थालेका छन् । तर स्थानीय जनता सरकारी प्रचारमा देखिएको तत्परता बाटोका ती संभाबित क्षेत्रहरुमा नदेखिएको र सरकारले झूठो आश्वासन दिन थालेको भनी गुनासो पनि गरिरहेका छन् ।

गृहको ताकेता र दबाबमा ठग ठेकेदारहरु

गृहमन्त्रालयले गरेको ठग ठेकेदारहरुको नाम सङ्कलनमा यसखण्डका ठेकेदारहरु प्राय सबै परेका छन् । पहिलो वर्षमा नै काम तमाम गर्ने भनेर ठेक्का लिएका नेपालका यी अब्बल भनिने ठेकेदारहरु सरकारी उच्च ओहदाका नातेदार, सरकारी नेताका आफन्त तथा ठूला चन्दादाता तथा सहयोगीहरु रहेका छन् । बाटो ठेक्का लिएकै वर्षमा नसिध्याउने, थप एकवर्ष भनी माग गर्ने, सोर्सफोर्स प्रयोग गर्ने, सडक विभागका कर्मचारीलाई हप्काउने, स्थानीय जनतालाई पेल्ने, मजदूरहरुलाई पैसा नदिने र दश ठाउँको ठेक्का आफैले लिने गरिरहेका यी ठेकेदारहरुले हाल निम्न गुणस्तरको भए पनि यो वर्ष काम सकाएको देखाएका छन् ।

गृहमन्त्रीको दबाब थेगि नसक्नुको भएको र अन्य ठेक्काका काम पनि बाँकी रहेकाले पुलिसको फन्दामा परेपछि नाकमुख देखाउन गाह्रो हुने यी ठेकेदारहरु बताउँछन् । दिनभर गरिएका कुराकानीको मोबाइल कल हेर्दा यी ठेकेदारहरुको अधिकांश समय सरकारलाई गाली, रक्सीभट्टी र नेताको चाकडीमा खर्च भएको देखिन्छ ।

सिमेन्टको पर्खाल उठाउन स्थानीय जनताको सुझाब

सडक वरपर बसोबास गरेका स्थानीय जनता ठेकेदारहरुको लापरबहीपूर्ण कामकार्य देखेर निकै आत्तिएका छन् । ‘नभत्किए अर्को सालको ठेक्का के लिने, भोकै मर्ने ?’ भनी ठेकेदारहरुले बारम्बार भन्ने गरेको भनाइहरु लिएर स्थानीय जनता निकै त्रस्त छन् । जसको ठेक्का परेको खण्डमा भत्कन्छ, उक्त भत्किएको खण्ड पहिलेकै ठेकेदारले पाउने भएकाले पनि उनीहरु यो कुरालाई बारम्बार दोहर्याउँछन् । स्थानीय जनताको सुझाब छ– राम्रो अनुगमन गरे त यो पैसाले जोखिमपूर्ण क्षेत्रहरुमा सिमेन्टको पर्खाल नै उठाउन सकिन्छ ।