बजेटमार्फत अर्थतन्त्रको कोर्स करेक्सन थालेको छुः अर्थमन्त्री

 

प्रकाशित मिति २५ जेठ, २०७५

 काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत आफूले नेपाली अर्थतन्त्रको कोर्स करेक्सन थालेको बताएका छन् । बाह्य उत्पादनमा आधारित अर्थतन्त्रलाई परिर्वतन गरेर राष्ट्रिय पुँजी निर्माण प्रक्रिया थालिएको उनले बताए ।

काठमाडौंमा भएको ‘पोष्ट बजेट डिस्कसन’मा अर्थमन्त्री खतिवडाले विगतका बाटोलाई एकैपटक छाड्न नसकिने बताउँदै ‘र्कोस करेक्सन’ गर्दै जाने बाटो लिएको प्रष्ट गरे ।
सरकारले बजेटमार्फत बाह्य उत्पादनमा आधारित अर्थतन्त्र, त्यसको आधारमा टिकेको राजश्व संकलन र वित्त व्यवस्था तथा खर्च प्रणालीको दिशा परिवर्तन गर्न चाहेको उनले बताए । ‘मैले यो बजेटबाट कोर्स करेक्सनको बाटो लिएको हुँ’ उनले भनेका छन् ।

 

नेपालीहरुले आफ्नो स्वविवेकले काम गर्न पाउन् भनेर बजेटमा कृषि या उद्योग भनेर कुनै खासका क्षेत्रका आधारमा राष्ट्रिय पुँजी निर्माण गर्ने नतोकिएको उनले बताए । ‘सानातिना अन्तर्राष्ट्रिय धक्का आउँदा पनि मुलुक धान्न सकिने अवस्थमा पुर्‍याउनुपर्छ’ खतिवडाले भने, ‘त्यो अर्थतन्त्र सबल, स्वाधिन, अन्तर निर्भरतासहित आत्मनिर्भर अर्थतन्त्र बन्नसक्छ भन्ने मान्यतालाई बजेटमार्फत कार्यान्वयन गर्न खोजिएको हो ।’

उनले कृषि र उद्योगका केही आधारभूत उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यतासहित बजेट आएको बताए । त्यसमा ब्यापार क्षेत्रले सहयोग गर्नुपर्ने उनको जोड छ । ‘उपभोक्तावाद मात्रै विकास गर्ने होइन । उत्पादनलाई सघाउ पुर्‍याउने व्यवसायलाई प्रोत्साहित गर्नुपर्छ’ उनले भने, ‘कसरी समग्र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने महत्वपूर्ण छ ।’

राष्ट्रिय पुँजी निर्माणको प्रक्रिया अघि नबढाउँदा सँधै विदेशी सहायता, ऋण वा अनुदान र रेमिट्यान्सको भरमा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन नसकिने उनको धारणा छ ।

अब आन्तरिक बचत बढाउने भन्दै निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र सरकारले आफ्नो बचत बढाउने योजना सुनाए । ‘त्यो भनेको राजस्व संकलन बढाएर आफ्नो उपभोग खर्चभन्दा बढी राजस्व लिएर बचत गर्ने नै हो’ अर्थमनत्री खतिवडाले भने, ‘सरकारी बचत बढाउन सरकारी सार्वजनिक संस्थानमा मुनाफामा लैजाने हो ।’
यस्तो बचतलाई उत्पादनमुलक क्षेत्रमा लगानी होस् भन्ने सरकारले चाहेको उनले बताए ।

अर्थमन्त्री खतिवडाले लगानी गरेर कमाएको नाफा फेरि उद्योगमै लगानी गरे प्रोत्साहन गर्ने सरकारी नीति रहेको सुनाए । यसकै लागि कर छुट दिने, पुँजी बजारलाई विकास गर्ने नीतिहरु बजेटमार्फत ल्याएको उनले बताए । ‘कतिपय पूर्वअर्थमन्त्रीरुहले त व्यक्तिगत आयकरका दरहरु ५० प्रतिशत नै भयो भन्दिनुभयो । तर, त्यस्तो होइन, इफेक्टिभली एक प्रतिशत मात्रै बढेको हो’ खतिवडाले भने, ‘थोरै आम्दानी हुनेलाई थोरै कर लगाउने भनेर १० प्रतिशतकै दरमा पनि लगाइएको हो ।’

राष्ट्रिय पुँजी निर्माणका सिलसिलामा केही कठोर यात्रा गर्नु पर्ने उनको धारणा छ । उनले औद्योगिक संरक्षणको कुरा गर्दा आन्तरिक प्रतिस्पर्धालाई भुल्न नहुने पनि बताए । बजारमा एकाधिकारवादी, ठगी र मूल्यमा मिलेमतो गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्ने बताए ।

‘संरक्षण दिनुको तात्पर्य उपभोक्तालाई मूल्यको भार थोपेर लाभ लिने पटक्कै होइन । आन्तरिक प्रतिस्पर्धा र परादर्शीता हामी खोज्छौं’ उनले भने, ‘एक तहसम्मको संरक्षणको कुरा हामीले गरेका छौं । असीमित संरक्षण दियौं भने त्यो अर्थतन्त्र कुशल हुन सक्दैन भन्ने मैले राम्रोसँग बुझेको छु । त्यसैले संरक्षण पनि जाँची-जाँची दिन्छौं ।’

अर्थमन्त्री डा. खतिवडाले बजेटले समृद्धिको प्रस्थान विन्दुको खोजी गरेको समेत दाबी गरे । न्युनतम आवश्यक्ताहरु गाँस, बास, स्वास्थ्य, शिक्षा, सीप, सूचनाको पहुँचलाई महत्व दिएर अघि बढ्दा मात्रै समृद्धिको यात्रा तय गर्न सकिने उनको भनाइ छ ।

‘गरिबी बाँडेर समृद्धिमा पुगिँदैन । समृद्धि नै बाँड्ने हो । अझ समृद्ध हुन बढी आएको आम्दानी नै बाँड्ने हो’ करको दर हेरफेर गर्ने आफ्नो निर्णयको बचाउ गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘त्यसैले ८ प्रतिशतको आर्थिक वृद्धि भनेका हौं ।’

८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुँदा स्वतः साढे ४ लाख रोजगारी सिर्जना हुने उनको दाबी छ । ‘रोजगारीमा वृद्धि भएपछि हरेक मान्छेलाई भत्ता बाँड्नै पदर्ैैन । काम दिनु पहिलो कुरा हो,’ खतिवडाले भने, ‘काम गर्न सक्नेलाई क्षमताअनुसार काम दिने, त्यसअनुसार सम्मानित ज्याला दिने तथा स्वरोजगार भएर सम्मानित हुने कुरा ठूलो हो ।’

खतिवडाले आर्थिक वृद्धिका लागि आधारभूत आर्थिक नियम र अनुशासनलाई नमिचिको स्पष्ट गरे । ‘हामी जति पनि ऋण लिन सक्थ्यौं । तर, थोरै आन्तरिक लिएका छौं । बाह्य ऋण पनि हामीले प्राथमिकता तोकेका र समझौता गरेका क्षेत्रमा मात्र लिइरहेका छौं’ उनले भने, ‘हाम्रो बजारमा वर्षमा साढे ४ खर्ब निक्षेप थपिन्छ । त्यसमा ८० प्रतिशत लगानी हुँदा साढे ३ खर्ब हुन्छ । त्यसैले सबै कर्जा सरकारले लियो भने निजी क्षेत्रले के पाउँथ्यो ? त्यसैले सरकारले बैंकिङ प्रणालीबाट जान सक्ने ऋणको आधा मात्रै लिएको छ । आधा बजारलाई छोडेका छौं ।’

यति गर्दा पनि बजारलाई पैसा अपुग उनको विश्लेषण छ । त्यसैले अर्थ मन्त्रालयले बैंकहरुलाई अन्तर्राष्ट्रिय स्तरबाट पुँजी परिचालन गर्न आग्रह गरेको खतिवडाले बताए । ‘यसको सुरुवात पनि भएको छ तर, ढिला भयो’ उनले अघि भने, ‘हामीलाई चाहिने पुँजी आज-भोलि हो । भारतीय बैंकबाट लगानी ल्याउनुस् भनेर मैले भनेको छु ।’

पुँजी बढाउन निजी क्षेत्रले विदेशी निजी क्षेत्रसँग ‘ज्वाइन्ट भेञ्चर’मा काम गर्नु पर्ने उनले बताए ।