बोक्सीको आरोपमा ८० वर्षीया वृद्धा यातना दिई घरबाट निकालिइन्

शुक्रबार २५ जेठ,२०७५

सिरहा । हरेक आमाबाबुका लागि उनीहरुका सन्तान बुढेसकालका सहारा मानिन्छन् । तर, ८० वर्षीया वृद्धा खजनीदेवी कारकको हकमा त्यस्तो भएन । उनी आफ्नै सन्तानबाट प्रताडित बनेकी छन् ।

सिरहाको कर्जन्हा नगरपालिका-७ कि खजनीदेवी ६ छोराकी आमा हुन् । तर, तिनै छोराले बुहारीहरुसँग मिलेर उनीलाई बोक्सीको आरोप लगाउँदै घरबाट निकालेका छन् । उनी अहिले एउटा सानो झुपडीमा नितान्त एक्लै बस्छिन् । नातिनातिना सम्झिएर कल्पिन्छिन् ।

उनी सकिनसकी आफ्नोलागि खाना पकाउँछिन् । पानीका लागि छोराहरुले झुप्रो नजिकै ट्यूवेल जडान गरिदिएका छन् । आमाको मायाले होइन, पानी लिन आफ्नो आँगनमा नटेकुन् भनेर । उनलाई छोराहरुले आफ्नो आँगन वा आँप बगैंचामा आउनसमेत रोक लगाएका स्थानीय अधिकारकर्मी सुनिल साहले बताए ।

खानलाई चाहिँ प्रत्येक छोराहरुले पालो लगाई चामल र दाल ल्याइदिने गरेका छन् । बुहारीहरु त उनको नजिक जाँदै जाँदैनन् । नाती-नातिनाहरुलाई पनि उनको छेउ पर्न दिइएको छैन ।

केही समयअघि सौतेनीपट्टकिो जेठो छोरा धर्मनाथले गालीगलौज र हातपात गरेपछि खजनीदेवी धनुषाको लोहनास्थित माइतीमा गएर केही दिन बसिन् । तर छोराहरुको मायाले धेरै दिन बस्नै सकिनन् ।

उनी भन्छिन्, ‘छोराहरुले मलाई जस्तो गरे पनि मलाई उनीहरुको माया लाग्छ ।’

यसरी लगाइयो बोक्सीको आरोप

खजनीदेवीको पतिको १० वर्षअघि मृत्यु भएको थियो । पतिको मृत्युपछि छोराहरूले आमालाई पालैपालो आˆनो घरमा राखेर पाल्दै आएका थिए । केही समयपछि उनकी एक बुहारीको कालगतिले मृत्यु भयो ।

उनको सौतापट्टकिा जेठो छोरा धर्मनाथ कारककी श्रीमतीको उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसको केही समयमा खजनीका आˆनै ६० वर्षीय छोरा रामपुकार कारककी श्रीमतीको मृत्यू भयो ।

लगालग तीन जनाको मृत्यू भएपछि यसपछि कारक परिवार धामी झाँक्रीको चक्करमा लाग्न थाले । झाँक्री गुहार्न भारत पनि पुगे ।

यसै क्रममा शिवजी कारककी श्रीमतीलाई बोक्सी लागेको एक झाँक्रीले बताए । बोक्सीका रुपमा उनले उनै खजनीदेवीलाई औंल्याइदिए । त्यसलाई पत्याउँदै छोराबुहारीले उनलाई घरबाट निकाले र गाउँमा छुट्टै झुपडी बनाएर राखे ।

पीडितलाई छोराहरूले आफनो घर, परिवारमा आउन दिँदैनन् भने कसैसँग बोल्न र कतै घुम्न जान पनि रोक लगाएको अधिकारकर्मी साहले बताए ।

‘बृद्धालाई बाँकी जीवन छोरा, बुहारी र नातिनातिनासँगै बाँच्ने इच्छा छ र उनले आफूलाई घरमै स्थापित गराइदिन आग्रह गरेकी छन्,’ साहले भने ।

मानव अधिकार संरक्षण केन्ऽ सञ्जालका अध्यक्ष समेत रहेका साहले घटना अमानवीय भएकाले तुरुन्त पीडितलाई परिवारमा स्थापित नगराए कारबाही प्रकृयामा जाने बताएका छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी दीपक खड्काले घटनाको अनुसन्धान गर्ने प्रतिक्रिया दिए