प्रदेश १ संसदमा आज प्रधानमन्त्रीको सम्बोधन

२६ जेठ२०७५शनिबार 

, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । अहिले ११ बजेका लागि तय भएको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै प्रदेश १ को सम्भावनाबारे धारणा राख्ने अनुमान गरिएको छ ।

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तर विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् ।

यसअघि प्रधानमन्त्रीले प्रदेश नं ३ र ५ मा सम्बोधन गरिससकेका छन् । अन्य प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने उनको योजना छ ।