बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

 

बझाङ, जेठ २६गते । बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तलकोट गाउँपालिका–३, बस्टीकी ४५ वर्षीया मीरा रोकाया र सोही गाउँकी ३२ वर्षीया जुनकिरी चँदारा रहेका छन् । बिहीबार साँझ ६ः३० बजे सो घटना भएको प्रहरीले जनाएको छ ।

जडीबुटी पहँुचमार्ग सडकखण्डअन्तर्गतको बस्टी भन्ने ठाउँमा ग्याबिन जाली भर्ने क्रममा घटना भएको जडीबुटी पहँुचमार्गका साइट इञ्चार्ज मनोज बोहराले जानकारी दिनुभयो ।

ढुंगा लागेर घाइते भएका दुवै महिलालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा मीरा रोकायाको बाटैमा मृत्यु भएको र जुनकिरी चँदाराको जिल्ला अस्पतालमा उपचार नभएपछि अन्यत्र रिफर गर्ने क्रममा एम्बुलेन्समा राख्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

हिजोआज यस्ता सार्वजनिक निर्माणका काम गर्ने ठाउँमा पुरुषभन्दा स्थानीय महिला बढी कामदारका रुपमा काम गरिरहेका हुन्छन् ।