कसरी रोपिएला ६ करोड नयाँ बिरुवा..

 

निजगढ विमानस्थल निर्माण क्षेत्र

२६जेठ २०७५शनिबार 

 प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि काट्नुपर्ने २४ लाखभन्दा बढी रूखको सोधभर्नामा ६ करोडभन्दा बढी बिरुवा लगाउन गाह्रो हुने अधिकारीहरूले बताएका छन्।

विमानस्थल निर्माण हुने बारा जिल्लामा त्यति धेरै बिरुवा लगाउन जग्गा नपुग्ने देखिएकोले अरू जिल्लामा पनि रोप्ने योजना रहेको विमानस्थल आयोजनाका अधिकारीहरू बताउँछन्।

तर कतिपयले यसको कार्यान्वयनमा भने शङ्का गरिरहेका छन्।

नियम अनुसार एउटा रूख काटेमा २५ वटा नयाँ रूख रोप्नुपर्ने हुन्छ।

मूल्याङ्कन

प्रस्तावित विमानस्थलको सात हजार हेक्टर जमिनमा फैलिएको २४ लाख भन्दा बढी रूख काटिने हुँदा ६ करोडभन्दा बढी नयाँ बिरुवा रोप्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को प्रतिवेदनमा उल्लेख छ।

इआइएको प्रतिवेदन हालै स्वीकृत भएसँगै रूख काट्ने बाटो खुलेकोले त्योसँगै नयाँ बिरुवा कहाँ कसरी रोप्ने विषयमा छलफल भइरहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालय अन्तर्गतको वन तथा जलाधार महाशाखाका सहायक वन अधिकृत लोकनाथ घिमिरेले भने, “बारामा जग्गा उपलब्ध नभए पनि छिमेकी जिल्लाहरू जहाँ वनक्षेत्र कम छ त्यहाँ बिरुवा रोप्नेछौँ। त्यो प्रदेश नं. २ का अधिकांश स्थान अथवा चुरेक्षेत्र हुन सक्छ।”

नयाँ बिरुवा रोप्न ३८ हजार हेक्टर जमिनको आवश्यकता पर्ने बताइएको छ।bbc .

साथै ती बिरुवालाई ५ वर्षसम्म स्याहार गर्नुपर्ने समेत गरी झण्डै १४ अर्ब रुपैयाँ लाग्ने इआइएको प्रतिवेदनमा उल्लेख छ।

तर सबै काम एकै पटक नहुने भएकोले नयाँ बिरुवा रोप्ने काम पनि क्रमशः गरिँदा समस्या नहुने आयोजनाको जिम्मा पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सम्झौता

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना कार्यालय सिमरा

प्राधिकरणका आयोजना निर्देशक प्रदीप अधिकारीले भने, “अहिले नै हामीले सबै रुख एकैपटक काट्ने होइन। जति काटिन्छ त्यही अनुसार २५ बिरुवा रोप्दै जाने हो।”

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार दुई वर्षअघि नेपाली सेनासँग सम्झौता भइसकेकोले नेपाली सेनाले रूख काट्नेछ।

तर बिरुवा रोप्न कठिनाइ भए नियम अनुसारको क्षतिपूर्ति दिनसक्ने प्रावधान रहेको सहायक वन अधिकृत घिमिरेले बताए।

नेपालमा यति धेरै परिमाणमा रूख काट्ने र रोप्नुपर्ने अवस्था देखिएको यो पहिलो आयोजना भएकोले यो कार्य चुनौतीपूर्ण हुने बताइएको छ।

नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुन मोडलमा बन्ने र कति लागत लाग्ने भन्ने विषयमा भने अझै टुङ्गो लागिसकेको छैन।