‘प्रचण्डहरूको कुरै छाडौं, विप्लवहरू पनि माओवादी होइनन्’ : गजुरेल

 
काठमाडौं, २६ जेठ २०७५शनिबार 

 

नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य एवं सो पार्टीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का अध्यक्ष सीपी गजुरेलले प्रचण्डहरूको कुरै छाडौं, विप्लवहरू समेत माओवादी नरहेको जिकिर गरेका छन् । प्रचण्डले माओवादीलाई एमालेमा बिलय गराएको आरोप लगाउँदै आफूहरू मात्र सच्चा माओवादी रहेको दावी उनले गरेका छन् ।

क्रान्तिकारी माओवादीको आठौँ ललितपुर जिल्ला अधिवेशनको उदघाटन सभामा बोल्दै नेता गजुरेलले भने– ‘हामीले जनतासामु प्रचण्ड माओवादी होइनन् भन्दा पत्याउँदैनथे उनको वास्तविक रुप अहिले बल्ल सबैले थाहा पाए ।’

‘विप्लवहरू होऊन् वा प्रचण्डहरू, सबैले देख्नेगरी आफैं नांगिए कि उनीहरू अब माओवादी होइनन्,’ गजुरेलले अगाडि भने– ‘हाम्रा गाउँ–जिल्ला तहका कार्यकर्ता लाँदै केन्द्रीय सदस्य बनाउँदै गरेर उनीहरूले केही समय त धाँधली गरे तर अब घर न घाट भएका प्रचण्डका चार हजार केन्द्रीय सदस्य भटाभट सच्चा माओवादीमा फर्कन थालेका छन् त्यसैले हामीलाई अब छानी–छानी राख्न सजिलो भएको छ ।’

‘भारतीय हतियारधारी सेनासहितका मोदीको नेपाल भ्रमणका क्रममा दाजु–भाइको भेषमा उभिएका केपीलाई अध्यक्ष मान्दै प्रचण्डले एमालेमा माओवादी बुझाइदिए,’ नेता गजुरेलले भने– ‘भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास गरेर गृहमन्त्री बादल केही अघि बढेका भए पनि दलाल र ठेकेदारहरुको कमिसनमा चुर्लुम्म डुबेका अन्य नेताहरुका कारण उनी असफल हुने निश्चित देखिँदै गएको छ ।’

जिल्ला सेक्रेटरी श्याम केसीको सञ्चालन र जिल्ला इन्चार्ज भरत बुर्जा मगरले अध्यक्षता गरेको कार्यक्रममा हस्तबहादुर केसी, दिनेश शर्मा, हुकुमबहादुर शाही, काठमाडौं जिल्ला इन्चार्ज सरुलगायतको सहभागी थियो । करिव तीन सय कार्यकर्ता सहभागी अधिवेशन ललितपुरको कुपन्डोलमा चलिरहेको छ ।