कम्युनिष्ट सरकारको आर्थिक समृद्धिः एकैरातमा ५० लाख रुपैयाँ मदिरा पार्टीमा स्वाहा

 
 
कम्युनिष्ट सरकारको आर्थिक समृद्धिः एकैरातमा ५० लाख रुपैयाँ मदिरा पार्टीमा स्वाहा

२६जेठ २०७५ शनिबार 

धरान । केपी शर्मा ओलीले नेतृत्व गरेको कम्युनिष्ट सरकारले बारम्बार आर्थिक समृद्धिको नारा दिइरहेको बेला नेकपाकै नेतृत्वमा रहेको प्रदेशमा भने एकै रातमा ५० लाख रुपैयाँ मदिरा पार्टी गरेर सिध्याएको पाइएको छ। 

प्रसंग हो प्रदेश नम्बर एकको पर्यटन प्रवर्द्धनका लागि विनियोजित ५० लाख रुपैयाँ बजेट मदिरा पार्टीमा स्वाहा हुनु। नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि धरानमा सुरु तीनदिने ‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि छुट्याइएको ५० लाख बजेट सहभागीहरूलाई मदिरा पिलाएर सिध्याइएको हो । 

‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि नेपाल पर्यटन बोर्डले ४० लाख, धरान उपमहानगरपालिकाले ६ लाख र प्रदेश एक भरीका पर्यटन व्यवसायी तथा संघसस्थाहरुबाट सङ्कलन गरिएको थियो । तर, आयोजक नेपाल पर्यटन बोर्डले प्रदेश एकभरका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको प्रर्वद्धन, प्रचार प्रसार भन्दा सहभागीहरूलाई मदिरा पिलाए बजेट सक्ने काम गरेको हो । बिहीबार प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको इस्ट टुरिजम मार्ट २०१८ को समापन भएलगत्तै मदिरा पार्टी सुरु भएको थियो । 

कार्यक्रमका मुख्य अतिथि राई, प्रदेश एकका सभामुख प्रदीप भण्डारी, प्रदेश एकका पर्यटनमन्त्री जगदीश कुसियत र प्रदेशका मुख्य सचिव, सचिवहरू लगायतका करिब ५ सयको हाराहारीमा  धरान–१५ स्थित इजिराइर्डस होटेल पुगेका थिए । 

अन्नपूर्ण पोस्ट दैनिक लेख्छ– राति ११ बजेसम्म चलेको मदिरा पार्टीका सहभागीहरूलाई वास्टटाइनर बियर, रुसलान भोड्का, रियल टेजर ह्वीस्कीसँग खसी, कुखुरा र बङ्गुरको मासु तथा भोज पकौडा खुवाइएको थियो। 

मदिरा पार्टीमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा र ‘इस्ट टुरिजम आर्ट २०१८’ का अध्यक्ष भविश कुमार श्रेष्ठको नाममा रहेको निमन्त्रण कार्डबाट सहभागीलाई मदिरा पार्टीमा प्रवेश गराइएको थियो । मदिरा पिएर लठ्ठ बनेका धरान उपमहानगरपालिकाका केही कर्मचारी र पर्यटन व्यवसायीहरूलाई आफ्नो सवारी चलाएर घर जान समेत हम्मे परेको थियो । 

धरान उपमहानगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पालिखेले पर्यटन प्रवर्द्धनका लागि छुट्याइएको बजेट मदिरा पार्टीमा खर्च गर्नु भष्ट्राचार भएको बताए । उनले गलतरुपमा पर्यटन प्रवर्द्धनको बजेट मदिरा पार्टीमा खर्च गर्ने कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् ।