प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार 

डडेल्धुरा –  नेपाली काँग्रेस डडेल्धुराभित्र मौलाउदै गएको गुटबन्दीको अन्त्य गर्न पार्टी सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश सांसद तथा पार्टी सभापति मल्लले आग्रह गरेका छन । नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलनको उदघाटन गर्न गृहजिल्ला पुगेका पार्टी सभापति देउवालाई लोकतान्त्रिक पार्टी भएकाले काँग्रेसलाई विधी सम्मत बनाउन कार्यकर्ताहरुले समेत दबाब दिएका थिए । स्थानीय निर्वाचनका क्रममा टिकट वितरण गर्दा पार्टीको विधि पद्धती मिचेर सभापति देउवाले एकलौटी निर्णय गर्दा काँग्रेसको बलियो पकड रहेका स्थानमा समेत पार्टीका उम्मेदवारहरु पराजित भएको भन्दै कार्यकर्ताहरुले रोष ब्यक्त गरेका हुन ।

 

जिल्लास्तरीय सबै नेता कार्यकर्ताहरुले सभापति देउवालाई अभिभावक मान्ने गरेको बताउदै जिल्लाको नवदुर्गा गाँउपालिका–५ का वडाध्यक्ष धनबहादुर साँउदले कुशल अभिभावक बन्न नसक्दा पार्टीमा गुटबन्दी बढदै गएको आरोप लगाए । कार्यक्रममा बोल्दै तरुण दल डडेल्धुराका सभापति शेरबहादुर साँउदले डडेल्धुरामा पार्टीलाई एकढिक्का बनाउन सभापति देउवाले कसैलाई पनि काखापाखा गर्न नहुने सुझाए ।

पार्टीमा अहोरात्र खटेर काम गर्नेहरुको उचित मुल्यांकन हुन नसकेको जिल्लास्तरीय नेता कार्यकर्ताहरुको गुनासो थियो । डडेल्धुरा जिल्लाले ६ पटक सम्म निरन्तर सभापति देउवालाई विजयी गराए पनि जिल्लाको विकासका लागि प्रभावकारी काम हुन नसकेको भन्दै अधिकांस कार्यकर्ताहरुले सभापति देउवाको कार्यशैली परिवर्तन हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै महिला संघ डडेल्धुराकी सभापति कमला बिष्टले पार्टीको हितमा काम गर्नेभन्दा पनि चाकडी र च्याप्लुसी गर्ने ब्यक्तिहरु पार्टीमा हावी भएको भन्दै स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा पार्टीलाई हराउन अन्तरघातमा सकृय रहेकाहरु उल्टै पुरस्कृत भइरहेको बताईन । गन्यापधुरा गाँउपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बर्तमान सरकारले डडेल्धुरा जिल्लाको बजेट कटौती गरेर राजनीतिक छुद्रता प्रर्दशन गरेको बताए ।

सम्मेलनमा जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रबाट सहभागी भएका स्थानीय नेता कार्यकर्ताहरुले पार्टी अनुशासनको उलंघन गर्नेलाई संरक्षण गर्ने प्रवृती पार्टीका लागि घातक भएको बताएका छन । उनीहरुले पार्टी सभापति देउवाले गृहजिल्लामा पार्टी संगठन ध्वस्त भईरहदा पनि मौनता साधेको भन्दै सभापति देउवालाई तत्काल गुटबन्दीको अन्त्य गरेर पार्टीलाई एकढिक्का बनाएर लैजान आग्रह गरे ।

एतिहासिक पार्टी काँग्रेसको नेतृत्वमा डडेल्धुराबासीका नेता पुगेपछि जिल्लाबासीले गौरव गर्नुपर्ने बेलामा काँग्रेस कमजोर हुँदै गएको प्रति जिल्लास्तरीय नेता कार्यकर्ताहरुले दुःख ब्यक्त गरेका छन । कार्यक्रमका विशिष्ट अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले स्थानीय निर्वाचनका बेला विधी पद्धती अनुरुपनै उम्मेदवार छनौट भएको दाबी गरेपछि कार्यकर्ताहरुले हुटिङ गरेका थिए । लामो समय सम्म कार्यकर्ताहरुले हुटिङ गरेपछि नेता लेखकले भाषण छोट्याउनु परेको थियो । हुटिङकै क्रममा नेता लेखकले मिलिजुली सरकार भएकाले बाध्यात्मक अबस्थाका कारण कैलाली जिल्लाको धनगढीलाई अस्थायी राजधानी तोक्नु परेको भन्दै स्पष्टीकरण दिएका थिए ।

सम्मेलनका प्रमुख अतिथी सभापति देउवाले आफुले कार्यकर्ताहरुको भावना अनुरुप विधि र पद्धतीमा टिकेर पार्टी हाक्ने प्रतिवद्धता गरे । उनले निर्वाचनका बेला पार्टीलाई सहयोग नगर्ने कसैलाई पनि कारवाही गरिने बताए । जिल्लास्तरीय नेताहरुलाई गुटबन्दी त्याग्न निर्देशन दिदै सभापति देउवाले डडेल्धुरामा पार्टी एकतावद्ध बनाएर देशभरिका अन्य जिल्लालाई सन्देश दिनुपर्ने जिकिर गरे । जिल्लास्तरीय नेता कार्यकर्ताहरुलाई काखापाखा नगरेको स्पष्टपार्दै सभापति देउवाले पार्टीभित्र गुटबन्दी गर्ने कसैलाई पनि नछाडिने बताए ।

नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।  सम्मेलन समापनका क्रममा नेपाली काँग्रेस डडेल्धुराका सभापति मल्लले पटक पटक सभापति देउवाबाट आफुलाई अन्याय भएपनि आफु पार्टी सभापति देउवालाई नेता मान्दै उँहाकै निर्देशनमा काम गरिरहेको बताए । उनले सभापति देउवालाई आफ्ना कारण अप्ठ्यारो पर्ने भएमा आफु पार्टीको साधारण सदस्य भएर काम गर्न इच्छुक रहेको बताए । ‘मैले कुन ठाँउमा हजुरलाई सहयोग गरेन, झन मलाई पेल्ने’ मल्लले देउवालाई गुनासो पोख्दै भने ‘मेरा कार्याकतालाई सधै पेलीयो’ । उनले सधै देउवाको निर्देशन मानेको तर विभिन्न समयमा उनलाई लाल्छना लगाइएको दुखेसो पोखेका थिए।