जुटमिल सहित बन्द सबै उद्योग सञ्चालन हुन्छनः प्रचण्ड

 

विराटनगर । पूर्वप्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष प्रचण्डले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सरकारले पहल गरिरहेको बताएका छन् ।
उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोहको इतिहास विमोचन र ४६ औं वार्षिक साधारणसभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै अध्यक्ष पचण्डले विराटनगर जुटमिल सहित बन्दै भएका सबै उद्योगहरु सञ्चालन गर्ने गरी पहल भइरहेको बताएका हुन् । साथै कार्यक्रममा अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगहरुलाई प्राथमिकता दिएर अगाडि नबढाएसम्म नेपालमा आर्थिक क्रान्तिको सम्भव नहुने बताएका छन् । नेपालको बिकासको मुख्य सम्बाहक कृषि र त्यसमा आधारित उद्योगहरु नै भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रचण्डले कृषि क्षेत्रमा र कृषिमा आधारित उद्योगहरु स्थापना गरी रोजागारी सिर्जना गरी आयातलाई विस्थापन गरेर निर्यात बढाउने बताए । विराटनगर औद्योगिक नगरीको रुपमा इतिहासमा दर्ज भएको ठाउँ भएको भन्दै उनले विराटनगरको जुटमिल्ससँगै अरु उद्योगहरुलाई पनि पुनः संचालन र नयाँ स्थापनामा सरकारले जोड दिएको बताए । उनले प्रदेश १ को राजधानी विराटनगर राजनीतिक चेतनाका साथै आर्थिक गतिविधिले पनि अग्रणी शहर भएको उल्लेख गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुली, उद्योग वाणिज्य महासंघका पर्वअध्यक्ष बिनोदबहादुर श्रेष्ठ, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा लगायतका उद्योगीहरुले मुलुकको विकासका लागि दलहरु बीच साझा एजेन्डा आवश्यक रहेकामा जोड दिएका थिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायसहित पत्रकार गणेश लम्साल र नविन कर्णलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।
यसअघि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष रहेका प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिले प्राथमिकताको बिषय नभएको बताएका थिए । विराटनगर विमानस्थलमा आईतबार बिहान संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले आउँदो निर्वाचनको बेलामा त्यो विषय बहसमा आउनसक्ने भएको भएपनि अहिलेको एजेण्डा सुशासन, समृद्धि र विकासको भएको उनको भनाइ थियो ।

‘अहिलेको एजेण्डा कार्यकारी राष्ट्रपतिको होइन, सुशासन विकास र समृद्धिको एजेण्डा नै अहिलेको एजेण्डा हो,’ प्रचण्डले भने, ‘भोली चुनाव आउने बेलामा यो विषयमा छलफल हुन पनि सक्छ भनेको हो । ’ अध्यक्ष प्रचण्डले तत्काल संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने सम्भावना पनि नरहेको बताएका छन् । ‘फोरमसँग पार्टी एकताको कुरा भएको छ,’ उनले भने, ‘तर तत्काल पार्टी एकताको सम्भावना छैन ।’

प्रचण्डले राजपालाई पनि सरकारमा ल्याउने विषयमा छलफल भइरहेको बताए । ‘राजपालाई सरकारमा ल्याउने विषयमा बालुवाटारमा सबै बसेर कुरा भएको छ, फेरि कुरा हुनसक्छ,’ प्रचण्डले भने, ‘अहिले नै ठोस कुरा भएको छैन ।’ शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम पुरा गर्न, सत्यनिरुपण मेलमिलाप र बेपत्ता आयोगको काम छिटो हुनुपर्ने बताउँदै प्रचण्डले पुनः म्याद थप गर्ने सम्बन्धमा सरकारसँग कुरा भएको बताए ।

संघीयताको पहिलो पटक प्रयोगमा गएका कारण केही विषय जटिलता देखिएको भएपनि यो प्रणाली असफल पार्ने नियतले कोही नआएको प्रचण्डको भनाइ थियो । कर्मचारी र राजनीतिक नेतृत्वको बिचमा आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीको विषयको बुझाइमा भने केही समस्या देखिएको उनको भनाइ थियो ।

‘नियतबस कुनै पनि ब्यूरोक्रेसी र नेतृत्वमा संघीताको विरुद्धमा जाने कुरा देखिएको छैन,’ उनले भने, ‘तर, संघर्ष र बलिदानको विषयमा कर्मचारी र राजनीतिक नेतृत्वबीचको बुझाइ अलिक नमिलेको देखिएको छ ।’ अध्यक्ष प्रचण्डले २ नम्बर प्रदेशमा पनि सरकार गिराउने र भत्काउने तिर लाग्न नहुने बताए । संघीय समाजवादी र राजपाबीचमा खटपट भएरै समस्या भएमा नयाँ सरकार बन्नसक्ने भएपनि त्यहाँको एजेण्डा पनि विकास र समृद्धि नै हुनुपर्नेमा प्रचण्डले जोड दिए ।