एकसय ३७ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । 

परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई  नियन्त्रणमा लिएको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले नौवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा चेकजाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

जेभियर इन्टरनेशनल स्कुल बौद्धबाट ५८, गोल्डेनगेट इन्टरनेशनल कलेज वत्तीसपुतलीबाट सात, भिएस निकेतन तिनकुनेबाट १४, नोबेल एकेडेमी नयाँ बानेश्वरबाट १०, युनिभर्सल कलेज मैतीदेवीबाट १६, टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट १९, एलआरआई स्कुल कलंकीबाट दुई, एनकेसिंह मेमोरियल कलेज नयाँ बानेश्वरबाट आठ र ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लीबजारबाट तीन जनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

पक्राउ परेकामध्ये १२७ पुरुष र १० महिला रहेको प्रवक्ता थापाले  जानकारी दिनुभयो ।