पार्टी मिल्यो, तर भ्रातृ संस्था मिलाउन नेकपालाइ सकस

 

काठमाडाैँ, २८ जेठ२०७५
 
 

२२ संगठन मिलाउन २२ कार्यदल
२२ भ्रातृ संस्थाहरू मिलाउन नेकपाले २२ वटा कार्यदल बनाएको छ । कार्यदललाई एकीकृत संगठनको विधान मस्यौदा गर्ने र महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरूको नामावली प्रस्ताव गर्न कार्यादेश दिइएको छ । कमिटी बनाउँदा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने म्यान्डेट कार्यदललाई छ ।

कार्यदलले छलफलबाटै केन्द्रीय कमिटी चयन गर्ने भनिएको छ, कार्यदलमा नमिले पार्टी नेतृत्वले मिलाउँछ : बेदुराम भुसाल नेता, नेकपा

माओवादी संगठन ८ गुणासम्म ठूला
तत्कालीन माओवादीको जनसंगठनहरूको केन्द्रीय कमिटीको आकार एमालेको तुलनामा आठ गुणासम्म ठूला छन् । एमालेको पेसागत महासंघको केन्द्रीय कमिटी ८६ सदस्यीय छ भने माओवादी पेसागत संगठनमा ८५० केन्द्रीय सदस्य छन् । अधिकांश अरू संगठनको केन्द्रीय समिति पनि ठूलो छ । एकीकरण गर्दा संख्यात्मक बाँडफाँडमा जटिलता देखिने सम्भावना छ ।

विवाद नमिले पार्टी नेतृत्वले टुंग्याउने 
भ्रातृ संगठनसँग सम्बन्धित सबै कार्यदललाई नाम, नेतृत्व, संख्यालगायत विषय टुंगो लगाउने कार्यादेश दिइएको छ । कार्यदलले विवाद मिलाउन नसके पार्टीको केन्द्रीय सचिवालयले नै अन्तिम निर्णय गर्नेछ । रस्साकस्सी धेरै देखिएकाले जनसंगठनको नेतृत्वको विषय पनि अध्यक्षद्वयले नै अन्तिम टुंगो लगाउनुपर्ने अवस्था आउन सक्ने नेकपाका एक केन्द्रीय सचिवालय सदस्यले बताए । ‘सबै तलै टुंगो लगाउन भनिएको छ, नेतृत्वमा बढी प्रतिस्पर्धा देखिँदा कार्यदलमा सर्वसम्मत हुन सकेन भने अध्यक्षद्वयले नै छलफलबाट अन्तिम टुंगो लगाउनुहुन्छ,’ ती सदस्यले भने ।

२२ संगठनको यसरी हुँदै छ एकीकरण

१. मजदुर

कार्यदल : विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी

तयारी : तत्कालीन एमालेको नेपाल ट्रेड्र युनियन महासंघ (जिफन्ट)को ५१ सदस्यीय र माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)को १६९ सदस्यीय केन्द्रीय कमिटी छ । कार्यदलले एकीकरणको छलफल सुरु गरेको छैन ।

नाम : जिफन्टले श्रममा दर्ता नम्बर १ तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि स्थापित नाम भएकाले आफ्नै नाम राख्दा उपयुक्त हुने प्रस्ताव राख्दै आएको छ ।

जटिलता : जिफन्टभन्दा अन्टुकको संगठन ठूलो भएकाले केन्द्रीय कमिटी मिलाउँदा दुवैको सम्मानजनक हैसियत हुने स्थिति छैन । घटक संगठनहरूको महासंघ भएकाले तल प्रतिष्ठानमा कहाँ कसको कस्तो ‘पोजिसन’ छ, त्यस आधारमा नेतृत्व राख्ने भनिएको छ ।

२.  युवा

कार्यदल : मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र  रामप्रसाद सापकोटा

तयारी : तत्कालीन एमालेको युवा संघ नेपालमा २५१ र माओवादीको वाइसिएल नेपालमा २१३ सदस्यीय केन्द्रीय समिति छ । गत २४ जेठमा पेरिसडाँडास्थित कार्यालयमा बसेको बैठकमा वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले दुई साना संगठनबीच एकीकरण बाँकी रहेकाले संख्या थोरै बढ्न सक्ने बताएका थिए ।

कार्यदल बैठकले केन्द्रीय कमिटी संख्या र संरचना टुंगो लगाउन दुवैतर्फका महासचिवसहितको ५ सदस्यीय छुट्टै समिति बनाएको छ । नाम, झन्डा, नारा, शपथको व्यहोरालगायत विषयमा कार्यदलस्तरमा छलफल सुरु भइसकेको युवा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले बताए ।

नाम : युवा संघ नेपालले आफ्नै नाममा जोड गरिरहेको छ । वाइसिएलले लिग या कम्युनिस्ट शब्द पर्ने गरी कुनै नयाँ नाम राख्नुपर्ने प्रस्ताव गरेको छ ।

जटिलता : दुवैको जम्बो केन्द्रीय कमिटी रहेकाले छरितो कमिटी बनाउनुपर्ने चुनौती छ ।

३. महिला

कार्यदल : राधा ज्ञवाली, उर्मिला अर्याल, गोमा देवकोटा, र अमृता थापामगर

तयारी : गोमा देवकोटा अध्यक्ष रहेको तत्कालीन एमालेको अखिल नेपाल महिला संघको १९६ सदस्यीय केन्द्रीय कमिटी छ भने अमृता थापामगर अध्यक्ष रहेको माओवादीको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ५७५ सदस्यीय छ । दुई संगठन मिलाउन कार्यदलले छलफल नै सुरु गरेको छैन ।

नाम : खासै छलफल नभए पनि अनेमसंघ क्रान्तिकारीले अनेमसंघको पछाडि महासंघ राख्दा राम्रो हुने सुझाब दिएको छ । ‘नामको खासै समस्या छैन, नेतृत्व पनि छलफलबाटै टुंगो लाग्छ,’ कार्यदलकी सदस्य अमृता थापामगरले भनिन् ।

चुनौती : अनेमसंघ (क्रान्तिकारी)को कमिटी एमालेको भन्दा झन्डै तीन गुणा ठूलो छ । यसलाई मिलाउन कार्यदललाई सकस हुनेछ ।

४ .  विद्यार्थी

कार्यदल : रवीन्द्र अधिकारी, हितमान शाक्य, नवीना लामा र रञ्जित तामाङ

तयारी : तत्कालीन एमालेको अनेरास्ववियुमा नवीना लामा अध्यक्ष रहेको दुई सय सदस्यीय केन्द्रीय कमिटी छ । यसमा ४५ जना आयोग सदस्य छन् । माओवादीको अखिल क्रान्तिकारीमा रञ्जित तामाङ अध्यक्ष रहेको २४३ सदस्यीय केन्द्रीय कमिटी छ । संगठन एकीकरणका लागि गठित कार्यदलले अझै औपचारिक छलफल सुरु गरेको छैन ।

नाम : अब एकैपटक विधानमाथिको छलफलसँगै नाम, संख्या, संरचनालगायतका विषयमा सहमति खोजिने अखिलका उपाध्यक्ष रश्मि आचार्यले बताए ।

चुनौती : एउटा संगठनको केन्द्रीय कमिटी ठूलो र अर्कोको सानो आकार रहेकाले कार्यदललाई एकीकृत संगठनमा सदस्य बाँडफाँडको चुनौती छ ।

५. किसान

कार्यदल : वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ

तयारी : तत्कालीन एमालेको अखिल नेपाल किसान महासंघमा वामदेव गौतम अध्यक्ष रहेको १ सय ७५ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीतर्फको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीमा चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको ३ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ । केही दिनअघि गौतमनिवास भैँसेपाटीमा सम्पन्न कार्यदलको बैठकले एकीकरणबाट बढीमा ३ सय ५० जनासम्मको कमिटी बनाउने गरी छलफल गरेको श्रेष्ठले बताए । २९ जेठमा कार्यदलको अर्को बैठक बस्दै छ ।

नाम : दुवैको नाम एउटै रहेकाले पुच्छर हटाउनेबित्तिकै एउटै नाम हुने कार्यदल सदस्य श्रेष्ठले बताए ।

जटिलता : तत्कालीन एमालेको भन्दा माओवादी केन्द्रको संगठन दोब्बर रहेकाले धेरै काँटछाँट गरेर एकीकरण गर्नुपर्नेछ । घटक संगठनहरू पनि मिलाउनुपर्ने भएकाले कहाँ–कसको नेतृत्व अर्को चुनौती छ ।

६. कलाकार

कार्यदल : मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री

तयारी : तत्कालीन एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघमा खगेन्द्र राई अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रीय कमिटी तथा माओवादीको नेपाल जनसांस्कृतिक महासंघ सरल सहयात्री अध्यक्ष रहेको १ सय ६५ सदस्यीय छ । एकीकरणका लागि गत २३ जेठमा पेरिसडाँडामा बसेको पहिलो बैठकले तत्काल विधानको मस्यौदा बनाएर दोस्रो बैठक बस्ने निर्णय गरेको छ ।

नाम : नाम करिब–करिब मिल्दोजुल्दो भएकाले समस्या नभएको कार्यदलका सदस्य खगेन्द्र राईले बताए ।

जटिलता : एउटाको ठूलो र अर्कोको सानो आकारको कमिटी रहेको र घटक संगठन पनि रहेकाले कहाँ कसरी नेतृत्व बाँडफाँड गर्ने चुनौती छ ।

७. जनजाति

कार्यदल : पृथ्वी सुब्बा गुरुङ, देवप्रसाद गुरुङ, सुरेश आलेमगर र गोकुल घर्ती

तयारी : तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अध्यक्ष रहेको १ सय ७ सदस्यीय केन्द्रीय कमिटी र ५९ घटक संगठन छन् । माओवादीको राष्ट्रिय मुक्तिमोर्चामा सुरेश आलेमगर अध्यक्ष रहेको केन्द्रीय कमिटी छ । मुख्यमन्त्री गुरुङ व्यस्त रहेकाले कार्यदलको बैठक बसेको छैन ।

नाम : तत्कालीन माओवादीले जातीय मुक्तिसँग जोडिने नाम राखेका कारण दुवैको नाम भिन्नभिन्न छ । नामबारे औपचारिक छलफल भएको छैन ।

जटिलता : दुवैको जातीय घटकहरूको समेत एकीकरण सम्पन्न गर्नुपर्नेछ ।

८.  मधेसी

कार्यदल : मातृका यादव, रघुवीर महासेठ, जगदीश कुसियत र रामकुमार शर्मा

तयारी : तत्कालीन एमालेको लोकतान्त्रिक मधेसी संगठनमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ अध्यक्ष रहेको ८ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ र माओवादीको मधेसी राष्ट्रिय मुक्तिमोर्चामा रामकुमार शर्मा अध्यक्ष छन् ।

नाम : नाम मिल्दोजुल्दो छैन । कार्यदलमा पनि छलफल भइसकेको छैन ।

९. मुस्लिम

कार्यदल : सराज अहमद फारुखी, हकिकुल्ला खाँ, जुनैद अन्सारी र अतहर हुसेन

तयारी : तत्कालीन एमालेको नेपाल मुस्लिम इत्तेहाद संगठनमा सराज अहमद फारुखी अध्यक्ष रहेको १ सय ३१ सदस्यीय केन्द्रीय कमिटी छ त्यस्तै, माओवादीको मुस्लिम मुक्तिमोर्चा नेपालमा हकिकुल्ला खाँ अध्यक्ष रहेको १ सय ३५ सदस्यीय केन्द्रीय कमिटी छ । कार्यदलको औपचारिक बैठक इदपछि मात्र बस्ने फारुखीले बताए ।

नाम : इत्तेहाद शब्द नहट्ने गरी एकीकृत संगठन बनाउने तयारी छ ।

१०. दलित

कार्यदल : बोमबहादुर विश्वकर्मा, तिलक परियार, जितु गौतम र दलजित श्रीपाइली

तयारी : एमालेको नेपाल उत्पीडित जातीय मुक्ति समाजमा जितु गौतम अध्यक्ष रहेको १ सय २५ सदस्यीय केन्द्रीय कमिटी छ । त्यस्तै माओवादीको दलित मुक्ति मोर्चामा दलजित श्रीपाइली अध्यक्ष रहेको ४ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ । २७ जेठमा बसेको कार्यदल बैठकले जिल्लासम्मको संख्यात्मक तथ्यांक तयार पार्ने तथा विधानका लागि उपसमिति बनाउने निर्णय गरेको छ ।

नाम : दुवैको भावनात्मक सम्बोधन गर्ने गरी नाम छोटो राख्न छलफल चलिरहेको कार्यदल सदस्य तिलक परियारले बताए ।

जटिलता : एउटाको ठूलो र अर्कोको सानो कमिटी रहेकाले मिलाउन समस्या छ ।

११. बुद्धिजीवी

कार्यदल : दीनानाथ शर्मा, टंक कार्की, दिनेशचन्द्र देवकोटा र नरेश भण्डारी

तयारी : तत्कालीन एमालेको नेपाल बुद्धिजीवी परिषद्मा डा. दिनेशचन्द्र देवकोटा अध्यक्ष रहेको ८२ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीनिकट अखिल नेपाल बुद्धिजीवी संगठनमा नरेश भण्डारी अध्यक्ष रहेको ३३३ सदस्यीय कमिटी छ । केही दिनअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले विधानलगायतको काम गर्न ९ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलले लगातार काम गरिरहेको सदस्य दीनानाथ शर्माले बताए ।

नाम : बुद्धिजीवी शब्द नहटाउने गरी सकभर छरितो नाम बनाउने तयारी छ ।

१२. पेसागत

कार्यदल : जनार्दन शर्मा, विश्वनाथ प्याकुरेल, प्रेमल खनाल र दयाराम बस्याल

तयारी : तत्कालीन एमालेको पेसागत महासंघ नेपालमा विश्वनाथ प्याकुरेल अध्यक्ष रहेको ८६ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको नेपाल राष्ट्रिय कर्मचारी महासंघमा दयाराम बस्याल अध्यक्ष रहेको ८ सय ५० सदस्यीय केन्द्रीय कमिटी छ । कार्यदलको बैठक अझै बसेको छैन ।

नाम : पेसागत महासंघ नेपालले पुरानो संगठन भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि स्थापित रहेकाले त्यही नाम राख्नुपर्नेमा जोड दिएको छ ।

१३. भूतपूर्व सेना-प्रहरी

कार्यदल : चक्रपाणि खनाल, धनबहादुर चन्द, हरि राई र जीवनबहादुर बुढा

तयारी : तत्कालीन एमालेको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा धनबहादुर चन्द अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको भूतपूर्व सैनिक संगठन र पूर्वजनमुक्ति सेना संघमा जीवनबहादुर बुढा अध्यक्ष रहेको केन्द्रीय कमिटी छ । कार्यदलको औपचारिक बैठक बसेको छैन ।

नाम : पार्टी नेतृत्वले तत्कालीन माओवादीको पूर्वजनमुक्ति सेना संघलाई समेत मिलाएर एकीकरण गर्न निर्देशन गरेकाले भूतपूर्व सैनिक–प्रहरी शब्द नहट्ने गरी उपयुक्त नाम राख्ने तयारी भइरहेको छ ।

जटिलता : संख्या मिलाउनुपर्ने, तत्कालीन माओवादीका लडाकुलाई समेत समेटेर संगठन बनाउनुपर्नेछ ।

१४. पत्रकार

कार्यदल : योगेश भट्टराई, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल

तयारी : तत्कालीन एमालेको प्रेस चौतारी नेपालमा गणेश बस्नेत अध्यक्ष रहेको ९९ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको प्रेस सेन्टर नेपालमा महेश्वर दाहाल अध्यक्ष रहेको १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ । पेरिसडाँडा कार्यालयमा आइतबार बसेको बैठकले विधान तयारीका लागि चौतारीका महासचिव राजेश राई र सेन्टरका महासचिव विष्णु सापकोटालाई जिम्मा दिएको छ ।

नाम : प्रेस चौतारी नेपालले जिल्ला प्रशासनमा दर्ता रहेको र स्थापना कालदेखिकै एउटै नाम रहेकाले निरन्तरता दिनुपर्ने बताएको छ भने सेन्टरले प्रेस समेट्ने गरी साझा नाम बनाएर जानुपर्नेमा जोड दिएको छ ।

जटिलता : एउटाको ठूलो र अर्कोको सानो आकार रहेकाले मिलाउनुपर्नेछ ।

१५. मानव अधिकार

कार्यदल : विजय सुब्बा, मीनबहादुर शाही, विष्णुपुकार श्रष्ेठ र दीनमणि पाखरेल

तयारी : तत्कालीन एमालेको मानवअधिकार एलाइन्समा मीनबहादुर शाही अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको अखिल नेपाल मानवअधिकार संगठनमा दीनमणि पोखरेल अध्यक्ष छन् । कार्यदलको औपचारिक बैठक बसेको छैन ।

नाम : प्रारम्भिक चरणमै भएकाले खास छलफल नभएको कार्यदल सदस्य शाहीले बताए ।

१६. अपांग

कार्यदल : विजय सुब्बा, दीपेन्द्र पुनमगर, मित्रलाल शर्मा र टेकनाथ न्यौपाने

तयारी : तत्कालीन एमालेको लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपालमा मित्रलाल शर्मा अध्यक्ष छन् भने माओवादी केन्द्रको अखिल नेपाल क्रान्तिकारी अपांग संघमा दीपेन्द्र पुन अध्यक्ष रहेको ५१ सदस्यीय केन्द्रीय कमिटी छ । कार्यदलमा छलफल भएको छैन । जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघलाई पनि मिलाएर एउटै जनसंगठन बनाउन नेतृत्वले निर्देशन दिएको छ ।

१७. खेलकुद

कार्यदल : टोपबहादुर रायमाझी, कर्ण थापा, पुरुषोत्तम पौडेल र शिव कोइराला

तयारी : तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक खेलकुद महासंघमा पुरुषोत्तम पौडेल अध्यक्ष रहेको १ सय ३० सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको अखिल नेपाल खेलकुद महासंघमा शिव कोइराला अध्यक्ष रहेको २ सयमाथिको केन्द्रीय कमिटी छ । कार्यदलको औपचारिक बैठक बसेर विधान तयारीलगायतको काम अघि बढाएको छ ।

नाम : दुवैको महासंघ भएकाले संक्षिप्त नाम राख्ने तयारी छ ।

१८. कानुन

कार्यदल : वर्षमान पुन, रघुजी पन्त, रमण श्रेष्ठ र रुद्र नेपाल

तयारी : तत्कालीन एमालेको प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनमा रुद्र नेपाल अध्यक्ष रहेको ७२ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन नेपालमा रमण श्रेष्ठ अध्यक्ष रहेको सयमाथिको केन्द्रीय कमिटी छ ।

नाम : एमालेको संगठनले संक्षिप्तमा पिपिएलए भन्न सहज हुने भएकाले नामको निरन्तरतामा जोड दिएको छ ।

१९. भुमिहीन

कार्यदल : हरिबोल गजुरेल, रामप्रीत पासवान, शत्रुघ्न महतो र दीपक थापा

तयारी : तत्कालीन एमालेको नेपाल भूमिहीन सुकुम्बासी संगठनमा रामप्रीत पासवान अध्यक्ष रहेको ३३ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीको अखिल नेपाल सुकुम्बासी संगठनमा दीपक थापा अध्यक्ष रहेको सयमाथिको कमिटी छ । कार्यदलको औपचारिक बैठक बसेको छैन ।

नाम : नाममा खासै समस्या नरहेको कार्यदल सदस्य पासवानले बताए ।

२०. उद्योगी

कार्यदल : मुकुन्द न्यौपाने, कुलबहादुर केसी, भरत श्रेष्ठ र श्याम पाठक

तयारी : तत्कालीन नेपाल उद्योग तथा व्यवसायी महासंघ भरत श्रेष्ठ अध्यक्ष र माओवादीको राष्ट्रिय उद्योग व्यापार महासंघमा श्याम पाठक अध्यक्ष रहेको केन्द्रीय कमिटी छ । कार्यदल सदस्य मुुकुन्द न्यौपानेका अनुसार ३१ जेठभित्र विधान तयार गरेर ७ असारभित्र सबै सदस्यको रेकर्ड अपडेट गरी एकीकरणको खाका बनाइनेछ ।

नाम : नामबारे छलफल नभए पनि खासै समस्या नरहेको कार्यदल सदस्य न्यौपानेले बताए ।

२१. इन्जिनियर

कार्यदल : गोकर्ण विष्ट, पम्फा भुसाल, डा. हरिराम पराजुली र शम्भुबहादुर श्रेष्ठ

तयारी : तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपालमा डा. हरिराम पराजुली तथा माओवादीको नेपाल राष्ट्रिय प्रगतिशील इन्जिनियरमा शम्भुबहादुर श्रेष्ठ अध्यक्ष रहेको ३५–३५ सदस्यीय केन्द्रीय कमिटी छ ।

नाम : कार्यदलको बैठक नबसेकाले काम अघि बढेको छैन ।

२२. प्रवासी

कार्यदल : तिल विश्वकर्मा, लोकनाथ भण्डारी, लक्ष्मण पन्त र ईश्वरी भण्डारी

तयारी : तत्कालीन एमालेनिकट प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मञ्चबीच एकता गर्ने भनिए पनि कार्यदलको बैठक बसेर छलफल भएको छैन ।,नयाँ पत्रिका दैनिक बााट,