काठमाडौँ, जेठ २८ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन भोलिदेखि काठमाडौँमा हुने भएको छ ।

चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।

वर्तमान उपाध्यक्ष रमा पौडेलले उम्मेदवार दिए पनि दुई समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिएकोे छ । दुवै जनाले आफ्नो समूह घोषणा गरिसक्नुभएको छ ।

दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक) नूर महम्मद रैन हुनुहुन्छ ।

यसैगरी महासचिव सञ्जय मिश्र, उपमहासचिव (खुला) जनार्दन निरौला, काजीमान श्रेष्ठ, उपमहासचिव (महिला) कमला लामिछाने, उपमहासचिव (सेवा) रञ्जन थापा, उपमहासचिव (उत्पादन) धीरेन्द्र सिंह, उपमहासचिव (अनौपचारिक) आत्माराम पौडेल, कोषाध्यक्ष रिसभ घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई हुनुहुन्छ ।

आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की, अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशा सिंह राठौर हुनुहुन्छ ।

यसैगरी महासचिव योगेन्द्रकुमार कुँवर, उपमहासचिव (खुल्ला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (उत्पादन) ईश्वर परियार, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरेले उम्मेदवारी दिँदै हुनुहुन्छ ।

अध्यक्षका उम्मेदवार दाहालले रासससँग कुरा गर्दै ट्रेड युनियन काँग्रेसलाई बलियोे बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको पक्षमा जनमत सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

अध्यक्षका अर्को उम्मेदवार आचार्यले नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरलाई आर्थिकरुपले सबल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

भोलिदेखि योगम्बर पार्टी प्यालेसमा शुरु हुने निर्वाचनमा काँग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।

ट्रेड युनियनको छैटौँ महाधिवेशनमा देशभरका एक हजार ४०० महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन् ।(रासस )