स्थानीयले समात्न खोजेपछि भागेका ठेकेदार प्रहरीको शरणमा

धनगढीस्थित सन्तोष थेगिम कन्सट्रक्सनका प्रमुख सुनिल थापा
२८ जेठ २०७५ साेमबार
महेन्द्रनगरः विकास निर्माणका काम अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको चेतावनीसँगै स्थानीय पनि जागरुक हुन थालेका छन् । विकासका काममा लापरबाही गर्ने ठेकेदारलाई कञ्चनपुरका स्थानीयले समात्न खोजेपछि भागेका छन् ।
सोमबार कञ्चनपुरको बानी–देखतभुली सडकखण्डको काम अलपत्र पार्ने ठेकेदारलाई स्थानीयले सडक निर्माणस्थलमै नियन्त्रणमा लिने प्रयास गरे । स्थानीयले चारैतिरबाट घेरेर नियन्त्रणमा लिने प्रयास गरेपछि ठेकेदार भागेर प्रहरीको शरणमा पुगेका छन् ।
वाणीदेखि देखतभुली जोड्ने सडक निर्माणको सम्झौता भएको तीन वर्ष पुग्दा समेत निर्माण अलपत्र पारेको भन्दै स्थानीयले धनगढीस्थित सन्तोष थेगिम कन्स्ट्रक्सनका प्रमुख सुनिल थापालाई नियन्त्रणमा लिने प्रयास गरेका हुन् ।
‘स्थानीय सबै आक्रोशित भएर नियन्त्रणमा लिने प्रयास भएको हो’ स्थानीय जनकराज जोशीले भने, ‘सर्वसाधारणले घेर्ने अवस्था आएपछि ठेकेदार त्यहाँबाट नजिकै रहेको प्रहरीमा शरण लिन पुगे’ ।
२०७२ फागुन २२ गते सम्झौता गरी एक वर्षमा काम सम्पन्न गर्ने गरी ६ दशमलव ७ किलोमिटर सडक निर्माणको ठेक्का लिए हालसम्म करिब २० प्रतिशत मात्रै काम भएको छ । ‘सडक निर्माणको काम भएको छैन, धुलै धुलोले स्थानीयले सास्ती खेप्नु परेको छ,’ उनले भने, ‘स्थानीय आक्रोशित भएर नियन्त्रणमा लिने प्रयास गरेका हुन्’ ।
निर्माण कम्पनीलाई सडक निर्माण गर्न पटक–पटक जिल्ला प्राविधिक कार्यालयले ताकेता गर्दा अटेर गर्दै आएको थियो । प्रहरीको शरणमा पुगेका ठेकेदार सुनिल थापा तथा निर्माण कम्पनीका कर्मचारी दीपक जोशीलाई प्रहरीले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । स्थानीय प्रशासनले असार मसान्तभित्रमा काम सम्पन्न गर्ने सर्तको कागज गराएर छाडेको छ ।
‘प्रहरीले ल्याएर यहाँ आएको हो, हामीले कागज गराएर छोडेका छौँ,’ प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘असार भित्रमा काम सक्ने र नसके कानुन बमोजिम कारबाही भोग्ने कागज ठेकेदारले गरेका छन् ।’
उनले कागज गरेको मितिसम्म समेत काम नभए कानुन बमोजिम निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याइने बताए । ठेकेदार सुनिल थापाले आवश्यक कारबाही र जरिवाना समेत तिर्ने कागज गरेका हुन् ।
‘ठेकेदारले नै कागज गरेको अवस्था छ’ उनले भने,‘ अटेर गरी काम नभए सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर कारबाही थालिन्छ’ । प्रमुख जिल्ला अधिकारी खड्काले बानी–देखतभुली सडकखण्ड मात्रै नभई उक्त निर्माण कम्पनीले जिम्मा लिएर काम अलपत्र पारेका सबै योजनाको काम गर्ने कागज गराएका छन् ।
ठेकेदारले जिल्ला प्रशासन कार्यालय समक्ष असार मसान्त भित्र काम सम्पन्न गर्ने कागज गरे पनि अहिलेसम्मको उनको काम हेर्दा पत्याउने अवस्था छैन । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरडीपी) अन्तर्गत उक्त सडकको निर्माण भइरहेको हो । धनगढीस्थित सन्तोष थेगिन कन्स्ट्रक्सन निर्माण कम्पनीसँग ३ करोड ९२ लाखमा ठेक्का सम्झौता भएको थियो ।
उक्त कम्पनीले नै ठेक्का पाएको जिल्लाकै दक्षिणी क्षेत्र जोड्ने २८ किलोमिटर लामो कलुवापुर–बेलौरी सडक ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । उक्त सडक कालोपत्रे नहुँदा जिल्लाकै आधा जनसङ्ख्या रहेको दक्षिणी क्षेत्रका बासिन्दाले वर्षौँदेखि सास्ती खेप्दै आएका थिए । २८ किलोमिटर सडकको काम अन्तर्गत पहिलो प्याकेजको १४ किलोमिटर सडक २०७५ जेठ १५ मा निर्माण गरिसक्नुपर्ने थियो ।
उक्त म्याद सकिसकेको छ । त्यहाँ मात्रै १० प्रतिशत काम भएको छ । दोस्रो प्याकेजमा २५ प्रतिशत मात्रै काम भएको छ । उक्त प्याकेजको म्याद असार १५ मा सकिँदैछ । कञ्चनपुर र कैलालीमा सन्तोष थेगिम जेभीले ठेक्का लिएका अधिकांश योजनाका काम अलपत्र छन्।अन्नपूर्ण पाेस्ट ,