बालाजुका डेरी उद्योगमा कृषि मन्त्रीको छापा, आधुनिक डेरीको स्टोरमा शिल

 

काठमाडौँ, २८ जेठ, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल र राज्यमन्त्री रामकुमारी चौधरीसहितको संयुक्त टोलीले आज बालाजु औद्योगिक क्षेत्रभित्र रहेका तीनवटा डेरीमा छापा मारेको छ । विज्ञ र गुण नियन्त्रण विभागसहितको टोलीले औद्योगिक क्षेत्रमा रहेका आधुनिक डेरी उद्योग, कृषक दुग्ध संकलन केन्द्र र डिडिसीमा छापा मारेको हो ।

दुग्ध पदार्थको उत्पादन तथा प्रशोधनमा गुणस्तर नपाइएपछि अनुगमन गर्नु परेको कृषि मन्त्री खनालले बताए । अधिकांश डेरीले निर्धारित मापदण्ड पुरा नगरेको अनुगमनका क्रममा पाइएको मन्त्री खनालले बताए । सरसफाइमा ध्यान नदिएको, अत्यधिक मात्रामा धुलो दूधको प्रयोग गरेको र धुलो दूधमा उत्पादन, उपयोग र समाप्ति मिति उल्लेख नभएको पाइएकोले आधुनिक डेरीका दुईवटा स्टोर रुपमा मन्त्रालयले शिल गरेको छ ।

सरकारी स्तरको डिडिसी र अन्य निजी डेरीले पनि मापदण्ड पुरा नगरी उत्पादन गरिरहेकोले त्यसलाई तत्काल सुधार गर्न मन्त्री खनालले निर्देशन पनि दिएका छन् । गुणस्तर कायम नगर्ने ती डेरी उद्योगलाई कारबारी गर्ने र आगामी दिनमा पनि नियमित अनुगमन गर्ने उनले बताए । उनले भने, “अब नियमित अनुगमन हुन्छ, जनस्वास्थ्य माथि कुनै पनि उद्योगले खेलवाड गर्न पाउँदैनन् । यस्तो गर्ने उद्योगलाई नियमअनुसार र सो नभएमा नयाँ नियम बनाएर पनि आवश्यक कारबाही हुन्छ ।”