छाउ बार्न छाउ गोठमा बसेकी पार्वतीको यसरी गएको थियो ज्यान

अछाम, जेठ ३० । महिनावारी भएर छाउ बार्न छाउपडी गोठमा बसेकी तुर्माखाँद गाउँपालिका–४, जुयगाउँकी १८ वर्षीया पार्वती बुढाको शनिबार राति सर्पले डसेर मृत्यु भयो । तर स्थानीयवासी, जनप्रतिनिधि र स्वयंसेविकालगायतले छाउगोठमा मृत्यु भएको कुरा लुकाउनुपर्ने सल्लाह गरे । अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा सँगै सुतेकी उनकी बहिनी राधिकालाई सत्य कुरा नखोल्न सबैले दबाब दिए पनि उनले भनिन्, ‘सर्प दिदीको जिउमा खस्यो र औंलामा डस्यो, म अत्तालिएँ । छाउगोठमै दिदीको मृत्यु भएको हो ।’

अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा
राधिकाका अनुसार शनिबार पार्वती महिनावारी भएको चार दिन भएको थियो । घरबाट करिब डेढ घण्टा तल बेंसीमा रहेको छाउगोठमा उनी महिनावारी बार्न गएकी थिइन् । शनिबार साँझ खाना खाइसकेपछि छाउगोठमै दिदी–बहिनीले अबेरसम्म फिल्म पनि हेरेका थिए । मस्त निन्द्रामा रहेका बेला मध्यराति करिब २ बजेतिर खरले छाएको छानोबाट सर्प खस्यो ।

‘दायाँतर्फ दिदी सुतेकी थिइन्, बायाँतर्फ म । सर्प खसेर दिदीलाई डसेपछि म अत्तालिएँ,’ राधिकाले भनिन्, ‘दिदी रोइरहेकी थिइन् । म राति बाहिर निस्कन सकिनँ । बिहान ४ बजे छाउगोठबाट १५ मिनेट टाढा रहेको गाईबस्तु बाँध्ने छानोमा आमालाई बोलाउन गएँ । फर्किंदा उनको प्राण गइसकेको थियो ।’

छाउगोठमै ज्यान गएको सबैले थाहा पाए । गाउँको बेइज्जत हुन्छ र परिवारका सदस्यलाई प्रहरीले लग्छ भनेर हतारमा पार्वतीको दाहसंस्कार गरिएको राधिकाकी दिदी प्रेमकला बुढाले बताइन् । ‘छिमेकी, जनप्रतिनिधि, स्वयंसेविका सबैले सल्लाह गरेर छिट्टै दाहसंस्कार गर्नुपर्छ भने, हतारमै दाहसंस्कार गरियो,’ उनले भनिन्, ‘मलाई उनीहरूको कुरा मन परेन, सत्य कुरा लुकाउनु हुँदैन भनें तर कसैले सुनेनन् ।’ सँगै सुतेकी बहिनीलाई पनि साँचो कुरा नबोल्न समाजले दबाब दिइरहेको उनले बताइन् ।

अहिलेसम्म पनि गाउँका मान्छे र पार्वतीका परिवार छाउगोठमै मृत्यु भएको हो भन्न सकिरहेका छैनन् । प्रेमकलाका अनुसार गाउँका जान्नेबुझ्ने मान्छेले वास्तविकता नखुलाउन परिवारलाई दबाब दिइरहेका छन् । ‘फुपूहरू टाढा थिए, दाजुभाइ बाहिर थिए । बहिनीको अनुहारसमेत हेर्न दिएनन्, हतारमै दाहसंस्कार गरे,’ प्रेमकलाले भनिन्, ‘गाउँमा कोही सोधपुछ गर्न आए पनि साँचो कुरा नभन्ने सल्लाह भएको छ ।’

अहिले उक्त छाउगोठ भत्काइएको उनले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालयले पनि घटनाबारे अनुसन्धान सुरु गरेको छ । अछाम प्रहरी प्रमुख डीएसपी राकेश तण्डुकारका अनुसार प्रहरी टोली घटनास्थल पुगेको छ । ‘हाम्रो टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ, सत्यतथ्य पत्ता लगाउन हाम्रो प्रयास जारी रहन्छ,’ उनले भने ।

गत पुसमा मात्र सोही गाउँपालिका–३, लकान्द्राकी २२ वर्षीया गौरी बुढाको पनि छाउगोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको थियो । निर्वाचित भएर कार्यभार सम्हालिसकेपछि आफ्नै गाउँपालिकामा छाउगोठमै दुई जनाको मृत्यु भएकाले आफूलाई लज्जित महसुस भएको गाउँपालिकाकी उपाध्यक्ष अमृता बुढा बताउँछन् । ‘अब छाउपडी कुप्रथा अन्त्यका लागि अभियान सुरु गरिनेछ,’ उनले भनिन्, ‘छाउपडी कुप्रथा अन्त्य नै हुने गरी अबको अभियान सुरु हुनेछ ।’आजको कान्तिपुरमा समाचार छ